सोमवार, बैशाख ३१ २०८१
नेपाल वाइड
खोटाङ, ३१ बैसाख । खोटाङमा वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव सुरु भएको छ । दिक्तेलबजारमा आगामी जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सव सोमबारदेखि सुरु भएको हो ।
पहिलो दिन हाफ म्याराथन सहितका एथ्लेटिक्स प्रतियोगीता गर्दै महोत्सव उद्घाटन गरिएको छ । हाफ म्याराथन पुर्व धावन बैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए । जिल्लामा ‘स्पोर्ट कल्चर’को विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।

वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव अन्तरगत टेम्के तुवाचुङ प्रतिष्ठान र रावासावा प्राज्ञिक समाजको सहयोगमा जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगीता गर्ने तयारी गरिएको छ ।
खोटाङ कलाकार समाजसँगको सहकार्यमा जेठ ६ गते १८ वर्षमुनिको खुल्ला गायन प्रतियोगीता गरिने छ । जेठ ८ गतेदेखि जेठ १० गतेसम्म राष्ट्रिय कराते प्रतियोगीता गर्ने तालिका निर्धारण गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

नेपाल खेलकुद प्रतिष्ठानले नेपाल कराते महासंघको संयोजन र नेपाल सितोरियो कराते संघको व्यवस्थापनमा महोत्सव आयोजना गरेको हो ।









