Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    श्रीमाविका विद्यार्थीले केस काटे, अन्नपुर्णमा दुना टपरी गाँसिए

    श्रीमाविका विद्यार्थीले केस काटे, अन्नपुर्णमा दुना टपरी गाँसिए


    • बिहिवार, जेठ ३ २०८१

    • नेपाल वाइड


    श्रीमाविका विद्यार्थीले केस काटे, अन्नपुर्णमा दुना टपरी गाँसिए

    खोटाङ, ३ जेठ । मंगलबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपुर्ण माविका छात्रछात्रा दुना–टपरी, अम्लिसोको कुचो, बाँसको टोकरी बनाउन व्यस्त भए ।

    नगरपालिकाले सुरु गरेको ‘हरेक मंगलबार जीवनोपयोगी शिक्षा अभियान’ अन्तरगत अन्नपूर्ण माविका विद्यार्थी दिनभरी शिक्षक सहित दुना–टपरी, अम्लिसोको कुचो, बाँसको टोकरी बनाउने सीप सिक्न व्यस्त भएका हुन् । अरु दिनभन्दा फरक सिकाई क्रियाकलापमा सहभागी बन्न पाउँदा विद्यार्थी उत्साहित देखिएका थिए ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमावि बाँसबोटेले विद्यार्थीलाई केस काट्ने सीप सिकाएको छ ।दिक्तेलमा सैलुन व्यवसाय सञ्चालन गरिरहेका सन्तोष ठाकुरलाई विद्यालयमा गरेर छात्र/छात्रालाई केस काट्ने सीप सिकाइएको हो । श्रीमावि बाँसबोटेले हलेसी तुवाचुङ नगरपालिकाका पुर्वमेयर इवन राई, विशेषज्ञ सहेन्द्र राईलाई लगेर केस काट्ने सीप सिकाएको जनाएको छ ।

    दिक्तेलको पञ्च माबिले कक्षा ९ देखि कक्षा १२ का विद्यार्थीलाई प्लाष्टिक टनेल वितरण गरेको छ । सोही दिन प्रअ र शिक्षकबीचमा कार्य सम्पादन पत्रमा हस्ताक्षर गरिएको छ ।

    यस्तै, शिक्षकलाई लिखित रुपमा विभागीय जिम्मेवारी प्रदान गरिएको प्रअ लक्ष्मीप्रसाद खनालले बताए । मंगलबारकै दिन अभिभावकसँग जीवनोवयोगी शिक्षाको बारेमा अन्तरक्रीया एवं अनुशिक्षण कार्यक्रम गरिएको छ । 

    tuesday programme (IV).jpeg

    सितला माबि खाल्लेका शिक्षक विद्यार्थीले विद्यालयको खाली जग्गामा लिची र केरा रोप्नका लागि झाडी फँडानी गरेको छ । अर्को मंगलबार बिरुवा रोप्न फाउण्डेसन बनाउने योजना गरेको शिक्षक मिनकुमार दाहालले बताए ।

    सरस्वती मावि, दिक्तेलले कक्षा १ देखि कक्षा ५ का विद्यार्थीलाई सहभागी गराएर माटोसँग विद्यार्थी (कृषि कार्य), कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराएर १० वटा विषयगत समिति गठन गरेर बैठक कार्यविधि, निर्णय लेख्ने विधि बारे छलफल गराइएको छ । कक्षा ८ का विद्यार्थीले विद्यालय परिषर सरसफाई गरेका छन् । निरौली आवि नेर्पाले विद्यार्थीलाई कागजको सामान बनाउने अभ्यास गराएको जनाएको छ ।

    हरेक मंगलबारका दिन नगरपालिकाका सामुदायीक विद्यालयका विद्यार्थीलाई कक्षा बाहिर निकालेर व्यवहारिक शिक्षाको अभ्यास गर्ने/गराउने प्रयास स्वरुप ‘हरेक मंगलबार जीवनोपयोगी शिक्षा अभियान’ अभ्यास गराइएको हो । हालसम्म पाठ्यपुस्तकमा मात्र निर्भर शिक्षण सिकाईलाई उत्पादनमुखि, वजारमुखि र सेवामुखि बनाउनका लागि नगरका सामुदायीक विद्यालयमा मौलिक अभियान विकास गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    नगरपालिकाले शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावको आधारमा हरेक सामुदायीक विद्यालयमा ‘शिक्षा र श्रमलाई जोड्ने’ प्रयास थालिएको हो । सरस्वती मावि दिक्तेलबाट बैसाख २५ गतेदेखि औपचारिक रुपमा अभियान सुरु गरिए पनि श्रीमाबि बाँसबोटेले बैसाख १८ गतेदेखि ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको थियो ।

    सामुदायीक विद्यालयको गुणस्तर उकास्नका लागि सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मंगलबार विद्यार्थीलाई पाठ्यपुस्तकबाट अलग गरेर परियोजना कार्य गराउनेगरी ‘मंगलबारिया’ कार्यक्रम गर्ने निर्णय पारित गरेको थियो ।

    पाठ्यपुस्तकलाई हेरेर कक्षा शिक्षण गर्ने परिपार्टीलाई कम गर्दै परियोजना कार्यमा विद्यार्थीलाई बढी क्रियासिल गराउने गरी ‘हरेक मंगलबार जीवनोयोपयोगी शिक्षा अभियान’ अघि सारिएको कार्यदलका संयोजक राई बताउँछन् । अभियान अन्तरगत नगरपालिकाले हरेक महिनाको मंगलबार विद्यालयको परियोजना कार्यको उपलव्धी प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ ।

    नगरपालिकाले बैसाख १९ गते नगरका ९३ विद्यालयका प्रअ तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो ।

    सम्बन्धित समाचार