Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कविताका शिखर पुरुष जसराज किरातीलाई अभिनन्दन

    कविताका शिखर पुरुष जसराज किरातीलाई अभिनन्दन


    • बिहिवार, जेठ ३ २०८१

    • नेपाल वाइड


    कविताका शिखर पुरुष जसराज किरातीलाई अभिनन्दन
    तस्बीरः चिसाङ शेर्पा

    खोटाङ, ३ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कविताका शिखर पुरुष जसराज किरातीलाई अभिनन्दन गरेको छ । ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’ अन्तरगत जेठ ३ गते हलेसीमा आयोजना गरिएको राष्ट्रिय कविता प्रतियोगीताको अवसर पारेर कवि किरातीलाई नगद ११ हजार १११ रुपैयाँ सहित अभिनन्दन गरिएको हो । ‘मोफसलका कवि’को छवि बनाएका किरातीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले दोसल्ला ओढाएर अभिनन्दन–पत्र प्रदान गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा निवासी कवि किरातीलाई जीवनका उर्वर समय गाउँमै बसेर नेपाली साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

    साहित्य सिर्जनादेखि गाउँको शिक्षा, विकास तथा सामाजिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको कदर गर्दै किरातीलाई सम्मान गर्ने निर्णय गरिएको थियो । किरातीको कविता संग्रह ‘उज्यालो खोज्ने आँखाहरु (२०३७), जसराज किरातीका कविता (२०५७) र जसराज किरातीका प्रतिनिधि कविताहरु (२०६५) प्रकाशित छन् ।

    कवि किरातीले खोटाङमै उकाली ओराली गर्दै र दुःखसुख साट्दै कविता लेखे । गाउँमै बसेर साहित्य सिर्जना फुलाउन सकिन्छ भनेर देखाए । बुबा धनहर्क राई र आमा धर्मलक्ष्मी राईको एक्लो छोराको रुपमा किरातीको २००१ साल साउन १७ गते जन्म भएको थियो । उनले हस्तलिखित गोरेटो द्धैमासिकदेखि आक्रोश, हलेसीकुञ्ज जस्ता साहित्यीक पत्रिका सम्पादन गरेका थिए ।

    दिक्तेलमा बैसाख ३१ गतेदेखि जेठ १० गतेसम्म हुने महोत्सव अन्तरगत टेम्के तुवाचुङ प्रतिष्ठान र रावासावा प्राज्ञिक समाजको सह–आयोजनामा राष्ट्रिय कविता प्रतियोगीता गरिएको हो । प्रतियोगीताका लागि १६ श्रष्टाको कविता छनौट भएको टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए । 

    सम्बन्धित समाचार