शनिवार, जेठ ५ २०८१
नेपाल वाइड
खोटाङ, ५ जेठ । खोटाङको दिक्तेलमा फोटोग्राफी तथा भिडियोग्राफी आधारभुत तालिम सुरु भएको छ । एभरेष्ट फिल्म एकेडेमीको प्राविधिक एवं घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा हिमालयन आइटी इन्स्टीच्युट, दिक्तेलको आयोजनामा १० दिने तालिम सुरु भएको हो । हिमालयन आइटी इन्स्टीच्युटको दिक्तेलस्थित कार्यालयमा आयोजना गरिएको तालिम शनिबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन गरेका छन् ।
तालिममा फोटोसँग सम्वन्धित व्यवसायी, पत्रकार तथा डिजिटल प्लेटफर्ममा चासो राख्ने युवा सहभागी छन् । युवालाई सीप सिकाएर स्वरोजगार बनाउँदै विदेश जानबाट रोक्ने उद्धेश्यसहित तालिम आयोजना गरिएको हिमालयन आइटी इन्स्टीच्युटका सञ्चालक अजय बस्नेतले बताए । तालिमका लागि घरेलु तथा साना उद्योग कार्यालयले डेढ लाख रकम सहयोग गरेको छ ।
तालिम उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, एभरेष्ट फिल्म एकेडेमीका सञ्चालक एबं चर्चित कलाकार सुनिल थापा लगायतको उपस्थिति रहेको थियो । तालिमकै दौरान कलाकार थापा दिक्तेल आइपुगेका हुन् ।