शनिवार, जेठ ५ २०८१
नेपाल वाइड
खोटाङ, ५ जेठ । विदेशमा उत्पादित विभिन्न ब्राण्डका रक्सी खुलेआम विक्री गर्न छुट छ । तर घरेलु मदिराको ओसार–पसार र विक्रीवितरण गर्न कानुनी रुपमा बन्देज छ । पछिल्लो समय घरेलु मदिरालाई ‘व्याण्ड होईन ब्राण्ड’ बनाइनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । एमाले नेतृ एबं संविधानसभा सदस्य उषाकला राईले लोकल रक्सीको विषयमा ‘व्यान्ड भर्सेस ब्राण्ड’को अभियान नै छेडेकी छन् ।
लोकल रक्सीमाथिको प्रतिवन्ध हटाउँदै ब्राण्ड बनाएर उद्योगको रुपमा विकास गर्नका लागि आवाज बुलन्द हुन थालेको बेला सरकारले ‘घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्राण्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने’ निती तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घरेलु मदिराको उत्पादन, ब्राण्डिङ तथा निर्यात गर्ने विषय समेटिएपछि एमाले नेतृ राईले सरकारलाई ‘धन्यवाद’ दिएकी छन् । ‘उत्पादन घर–घरमा नै गर्ने र त्यसको गुणस्तर मापन गरेर संकलन गरि बोटलिङ गरि राष्ट्रिय ब्राण्ड बनाउने हो,’ राईले भनिन्, ‘दूध संकलन गरेजस्तै संकलन केन्द्रमा संकलन गर्ने हो । गुणस्तर मापन गर्ने हो । बोटलिङ र ब्राण्डिङ सेन्टरमा लगेर प्याकिङ्ग गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने हो । अनि मात्रै गरिव जनताले कमाउन पाउनेछन् ।’
२०७६ चैत ६ गते प्रशासनको अगुवाईमा दिक्तेलबजारमा ९ हजार मूल्या बराबरको करिब ६० लिटर रक्सी जफत गरेर नष्ट गर्दा नेतृ राईले तत्कालिन प्रदेश सांसदको हैसियतमा पहिलोपल्ट सार्वजनिक रुपमा विरोध जनाएकी थिईन् ।
२०७७ असार १५ गते प्रदेश संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिईन् । उनले सुरु गरेको ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियानको थालनीसँगै स्थानीय स्तरमा पनि लोकल मदिराको औधोगीकरणका विषयमा खुलेर बहस हुन थालेको हो ।
घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि नेतृ राईकै पहलमा कोसी प्रदेशमा ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारिएको थियो । यद्यपी, त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।