सोमवार, जेठ ७ २०८१
नेपाल वाइड
खोटाङ, ७ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम तयार पार्नका लागि ६ वटा क्लष्टरमा कार्यशाला सुरु गरेको छ ।
२०७८ सालमा प्रकाशनमा ल्याइएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समेटिएको स्थानीय पाठ्यक्रम तयार पार्नका लागि गत बैसाखमा सहजकर्ता उत्पादन कार्यशाला गरेको नगरपालिकाले पुःन विभिन्न क्लष्टरमा कार्यशाला सुरु गरेको हो । स्थानीय पाठ्यक्रम परिमार्जन एवं निर्माणका लागि एकैसाथ जेठ ७ गते नगरका विभिन्न स्थानमा कार्याशाला सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
कार्यशाला दुई दिन सञ्चालन हुनेछन् । कार्यशालाको माध्यमबाट आवश्यक विषयवस्तु तथा सुझाव संकलन गरेर जेठ १५ गतेसम्ममा स्थानीय पाठ्यक्रमको खाका तयार पारिने नगरद्धारा गठित शिक्षा सुधार कार्यदलका संयोजक सुर्य राईले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, २ र ६ का लागि शुभम फाउण्डेसनमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ र ५ का लागि श्रीमाबि बाँसबोटेमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ र १३ का लागि नुनथलामा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, ८ र ९ का लागि अन्नपूर्ण मावि बुवालुङमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, ११ र १२ का लागि कालिका माबि खार्मी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ र १५ का लागि बुईपामा कार्यक्रम आयोजना गरिएको छ ।
शुभम फाउण्डेसनमा सञ्चालित कार्यशालामा शिवहरी ढकाल, श्रीमाबि बाँसबोटेमा लक्ष्मीप्रसाद खनाल, नुनथलामा बमबहादुर राई, अन्नपूर्ण माबिमा भवकृष्ण ढकाल, कालिका माबिमा प्रतिमान राई र बुईपामा ललितकुमार राईले सहजीकरण गरिरहेको नगरपालिकाले जनाएको छ ।कार्यशालामा हरेक विद्यालयका प्रअ, विव्यास अध्यक्ष, स्थानीय विषय पढाउने शिक्षक, जनप्रतिनिधिलाई सहभागी गराइएको छ ।
यसअघि तयार पारिएको स्थानीय पाठ्यक्रम अन्तरगत कक्षा १ देखि कक्षा ५ सम्मको ‘दिरुम ज्ञानमाला’को सट्टामा अव हरेक वडाको आ–आफ्नै विशिष्टतामा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउनेगरी पाठ्यक्रम परिमार्जनको कार्य अघि बढाइएको हो ।
शैक्षिक अभियान्ता राईको संयोजकत्वमा गठन गरिएको शिक्षा सुधार कार्यदलको सहयोगमा बैसाख १४ र १५ गते आयोजना गरिएको कार्यशालामार्फत नगरका १५ वटै वडामा तीन÷तीन जना पाठ्यक्रम निर्माण सहजकर्ता तयार गरिएको थियो ।