मंगलवार, जेठ १५ २०८१
नेपाल वाइड
खोटाङ, १५ जेठ । प्रिन्सीपल अफ एसोसिएसन नेपाल (पान) खोटाङको अध्यक्षमा नवीन चाम्लीङ चयन भएका छन् । एसोसिएसनको प्रथम जिल्ला अधिबेसनबाट हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती मावि, अर्खौलेका प्रअ चाम्लिङ अध्यक्षमा चयन भएका हुन् ।
एसोसिएसनको उपाध्यक्षमा सरस्वती मावि (साकेला गाउँपालिका)का सितल राई, सचिवमा राम्चे निकेतन मावि (दिप्रुङ चुईचुम्मा गाउँपालिका)का ईश्वर लम्साल र कोषाध्यक्षमा वशन्त आधारभुत विद्यालय, खाल्ले (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका)का सञ्जित राई सर्वसम्मत चयन भएका छन् । अधिबेसनले प्रिन्सीपल अफ एसोसिएसनको २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
प्रिन्सीपल अफ एसोसिएसनको जेठ १५ गते जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रथम बैठकले जिल्लाका विद्यालयतर्फ सरस्वती माबि, दिक्तेल, प्रअतर्फ चिसापानी माविका प्रअ रामबहादुर राउत, विव्यासतर्फ त्रिभुवन मावि, ऐसेलुखर्कका विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारी र जनप्रतिनिधितर्फ हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईलाई पुरस्कारका लागि उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
जिल्लाबाट सिफारिस भएका उम्मेदवारमध्येबाट पुःन प्रदेश समितिले केन्द्रमा चार वटै विद्यामा एक–एकलाई पुरस्कारका लागि सिफारिस गर्ने प्रिन्सीपल अफ एसोसिएसनका अध्यक्ष चाम्लिङले बताए । उत्कृष्ट ठहरिएका विद्यालय, प्रअ, विव्यास अध्यक्ष र जनप्रतिनिधिलाई आगामी जेठ २६ गतेदेखि जेठ २८ गतेसम्म काठ्माडौंमा हुने प्रिन्सीपल अफ एसोसिएसनको पहिलो केन्द्रिय सम्मेलनमा पुरस्कृत गर्ने कार्यक्रम छ ।
कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, पानका प्रदेश समितिका सदस्य सचिव लक्ष्मीप्रसाद खनाल र शिक्षक महासंघ खोटाङका अध्यक्ष मीनकुमार दाहालको बिशेष आतिथ्यतामा भएको हो ।