बिहिवार, जेठ १७ २०८१
नेपाल वाइड
खोटाङ, १७ जेठ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा २०७४ सालदेखि सञ्चालन हुँदैआएको कृषि कार्यक्रम ‘फेजआउट’ भएको छ । जी–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले सञ्चालन गरिरहेको कृषि कार्यक्रम जेठ १७ गतेदेखि ‘फेजआउट’ भएको हो ।
पोषणमा सुधार, प्रांगारिक खेतीको स्थापना तथा आय–आर्जन बृद्धिलाई लक्षित गरी सञ्चालन गरिएको कृषि कार्यक्रम ‘फेजआउट’को घोषणा सँगै स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । वडा कार्यालय जलेश्वरीमा कार्यक्रम गर्दै सात वर्षे कृषि कार्यक्रम ‘फेजआउट’ गर्दै स्थानीय सरकारलाई हस्तान्तरण गरिएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिए ।
प्रयास नेपालले जलेश्वरीमा १९ वटा कृषक समुह गठन गर्दै समुहमा आवद्ध ४४६ कृषकलाई लक्षित गरी विभिन्न कृषि क्रियाकलाप सञ्चालन गर्दैआएको थियो । वडाका १९ वटै कृषक समुहको प्रोफाइल, मायाँको चिनोको साथमा कदर–पत्र प्रदान गर्दै कार्यक्रम ‘फेजआउट’ गरी वडा र गाउँपालिकालाई समुह हस्तान्तरण गरिएको छ । जी–फाउण्डेशन र प्रयास नेपालले दिएको ज्ञान र सिपलाई प्रयोग गरेर किसानले हाल बा¥है महिना हरियो तरकारी उत्पादन तथा उपभोग गर्न थालेपछि पोषण सुधार भएको दावी गरिएको छ ।
प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईको अध्यक्षता एवं गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, जिल्ला समन्वय समिति सदस्य चमेली बिक, वडाध्यक्ष भक्तबहादुर तामाङ, गाउँकार्यपालिका सदस्य जैबहादुर विक, पुर्ववडा अध्यक्ष नैनकुमार राई, जी–फाउण्डेशनका जिविको पार्जन प्रमुख सतानन्द उपाध्याय लगायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाँच जना उत्कृष्ट उद्यमी कृषक, तीन जना उत्कृष्ट कृषक, तीन वटा उत्कृष्ट कृषक समुहलाई विभिन्न कृषि सामग्री र प्रमाण–पत्रले पुरस्कृत गरिएको छ ।

प्रयास नेपालले १९ कृषक समुहलाई लक्षित गर्दै विभिन्न कृषि क्रियाकलाप सँगै आधुनिक प्रविधिको प्रांगारिक खेतीका लागि आवश्यक बिउविजन, फलफुलको विरुवा, कोदालो, टनेल, ड्रम, स्प्रिङकल, हाते आरी, सिकेचर, झम्पल, गार्डन पाइप, प्लास्टिक क्यारेट, डिजिटल तराजु, मकै छोडाउने हाते मेसिन, मकै रोप्ने हाते मेसिन लगायत प्राविधिक ज्ञान प्रदान गर्दै आएको थियो ।