Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    छड्के तिलहरि

    छड्के तिलहरि


    • आइतवार, जेठ २७ २०८१

    • लालकुमारी राई (नाना लुम्दे)


    छड्के तिलहरि

    खोटाङ, २७ जेठ । अञ्जान र अज्ञानता मै उसँग वैवाहिक जीवनमा गाँसिन पुगकी थिएँ । परिपक्वता पनि पटक्कै थिएन तर यति चाहिँ थियो वास्तविकतामा अडिएर काम गर्ने, अगाडि बढ्ने र देखावटी जीवन मन नपराउने । र नै मैले उसको ‘के के गहना लाउने मन छ’ भन्ने प्रश्नको जवाफमा सहज रुपमै भनेकी थिएँ, ‘छ भने लाइदिनु, छैन भने ऋण काढेर त एक लाल पनि नलाइदिनु’। उ नाजवाफ बनेको थियो।

    जीवनको धेरै मोडहरु पार गर्ने क्रम भइरहेकै छ । आज वैवाहित जीवनको २२ औ वर्षको उत्तरार्धतिर जीवन बढिरहेको छ । अरुले देखेको दुःखलाई पनि सुखको अनुभूति गर्दै निरन्तर निरन्तर बामे सरे झै, ताते गरे झै । मलाई पटक्कै दौडन मन छैन, कसैलाई उछिन्न पनि र चुपचाप लागेर निदाउन पनि । जतिसक्दो हिडिरहने मन चाहिँ छ । कहिले अल्प विराम, अर्ध विरामको साथ जबसम्म जिन्दगीमा प्राणको पूर्ण विराम लाग्दैन ।

    जीवन अनुभूत गर्ने क्रममा सुखदुःख, हाँसो, रोदन, सङ्घर्ष, सफलता, असफलता सबैको नै केही अंश अनुभव छ । आफूले आफूलाई नै अध्ययन गर्दा म आफूलाई पूर्णता त ठान्दै ठान्दिन र शुन्यता पनि । जब विवाह बन्धनमा बाँधियो, थाहा थिएन सम्बन्ध कसरी मजबुद बनाउनु पर्छ भन्ने कुरा । दिनहरु व्यतीत गर्ने क्रम अञ्जान अञ्जान मै चलिरहेथ्यो ।

    पेटमा एउटा सन्तानको भ्रुण हुर्किरहेको थियो । थाहा भएन उसलाई किन काठमाडौ जानुपर्ने थियो । उसले मलाई ‘दुई हप्ता माइतीमा बस अब झन झन जानू सक्दैनौं’ भनेपछि म सरक्क खुसी मान्दै खुट्टाले भारी जीउ हिडाउँदै उसैसँग गएँ । उ फर्कियो, म बसेँ । दुई हप्ता बित्यो, तीन हप्ता बित्यो र चार हप्तामा वा ‘उ बिरामी पो भो भन्दै म घर जाने सोच बनाएँ र गएँ’ पनि । पञ्चरदोबाटो बजार शुक्रबारेमा थाहा भयो उ त काठमाडौं पो गएको रहेछ । 

    माइती पक्षबाट फर्किउँ भन्दा भन्दै पनि होइन सासु ससुराले के भन्नू होला भनेर म घरतिरै पाइला बढाएँ । घरमा सासु ससुरा मात्रै हुनुहुन्थ्यो । म पुगेपछि उहाँहरू अत्यन्तै खुसी हुनुभो र भन्नू भो छोरो काठमाडौँ गाको छ आएर तिमीलाई लिनजाने भन्थ्यो । मैले ठिकै छ म आइहाले नी भनेँ । म घरमा घरायसी कामहरुमा व्यस्त रहन थालेँ ।

    त्यो बेला कुनै फोन सोन गर्ने अवस्था थिएन । हुलाकबाट चिठी पठाउनु पनि कहाँ पठाउने ? मनमा खुलदुली भने लागिरहन्थ्यो ‘किन गएको होला’ मलाई ढाटेर भन्नेमा । यस्तो लाग्दा लाग्दै त्रिसुली  दिमा बस दुर्घटनाको अपुष्ट खबर आयो । कोहि भन्ने के, कोहि भन्ने के । आफन्तकोतिर सोध्न मान्छे पठाइयो खबर अपुष्ट नै आउने । दिक्तेल र अर्खौले फोन गर्न मान्छे पठाउँदा पनि उसँग कुराकानी नभएको खबर आयो । अन्तरेको छोरा मर्‍यो रे, कान्छाको छोरा हस्पिटलमा छ रे भन्ने मात्र । म एकदम चिन्तित बनेँ । 

    म आफैँ फोन गर्नु दिक्तेल जाने भनी हिडेँ । वैसाखको दिन छ । पेटमा बच्चा छ, मनमा पीर छ । कसरी हिँडियो खै त्यो बाटोहरु ! खाम्तेलबाट नुन्थला खाम्ला माइतीघर पुगेँ । पुगेको भोलिपल्ट बिहानै दिक्तेल जाने तयारी गर्दै थिएँ । एकजना दाइ झरिपुग्नु भयो उसले लेखेको चिठी लिएर । खोलेर हेरेँ । चैत्रको २९ गते नै गाडी दुर्घटनामा परेँ हस्पिटलमा नै छु । हस्पिटलले डिस्चार्ज दिन साथ आएर म तिमीलाई लिन आउँछु भन्ने व्यहोरा रहेछ त्यहाँ जुन २०६१ बैसाख २१ गते थियो त्यो दिन ।

    मनमा अनेकौ कुराहरु खेल्न थाल्यो । म दिक्तेल पनि जानू परेन । मान्छे जिउँदो रहेछ तर यो पागल हुन सक्छ, कुनबेला सम्झेर लेखेको हुनुपर्छ भन्ने कुरा मनमा लाग्न थाल्यो किनभने अरु फोनमा जानेहरुले कानमाथि ‘टाउकोमा आठ टाँका सिलाइ परेको छ रे’ भन्ने खबर ल्याउथ्यो । ‘जे होस मान्छे रहेछ एकदिन आउला, नआए बच्चा जन्मिएपछि आफै जाउँला । मलाई चिन्ला, नचिन्ला ! मलाई नचिने पनि म उसलाई हेरेरै चित्त बुझाउँला’ भन्दै कुरा खेलाउँदै त्यो दिन बिताएँ ।

    भोलिपल्ट घर जाने कुरा गरेँ । भाउजुले ‘बस ! यस्तो छौ, बेला आइसके जस्तो छ, बाटोमा समस्या पर्‍यो के गर्छौ’ भन्नू भो । मैले भने ‘अब यो खबर घरमा पनि त लानुपर्‍यो नी सासू ससुरालाई पनि त चिन्ता छ । एक्लो छोरा अनि यस्तो अवस्थाको बुहारी पनि म यतै बसेँ भने उहाँहरुलाई कति पीडा होला म घरै जान्छु’ भनेपछि उहाँले पनि बिदा दिनु भो अनि म घरतिर लागेँ । घर पुगेर चिठी पढेर नै उहाँहरूलाई सुनाएँ । छोरो रहेछ भन्दै हर्षको आँसु बगाउनु भो । मैले पनि चुपचाप सघाएँ । अरु विकल्प थिएन पनि । 

    दिनहरु वित्दै गए । उ कहिले आउँला कस्तो अवस्थामा आउँला भन्ने सोचमा । उसलाई भेट्न जाने अवस्था पनि थिएन । बस चढ्नलाई गाइघाट पुग्नु पर्थ्यो । बेला-बेला रुँदै ‘उ रहेछ एक दिन आउँला ’ भन्ने पर्खाइमा बसियो । उ आएपछि २०६१ जेठ १८ गते गर्भमा रहेको छोरी जन्मियो तर उ सुत्केरी बुढीको हेरचाह गर्न सक्ने अवस्थामा थिएन । उ आफू एकदमै शारीरिक र मानसिक रुपमा कमजोर थियो र नै उ बढि निदाउने अनि ननिदाउदा पनि ‘अब म कमजोर भएँ केही गर्न सक्दिन । तिमीलाई सुख दिन सक्दिन, तिमी लाहुरेको चेली मलाई छोडेर जान्छौ होला’ भन्दै रोइरहने । म सम्झाउथेँ ‘म त्यस्तो खालको केटी होइन म आफू केही गर्नुपर्छ र आफ्नो लागि त आफै गर्नुपर्छ भन्ने सोच ममा छ’ भनेर मैले वचनले र कामले पनि गरिरहेँ ।

    सन्तानको योजना गर्ने क्रममा पनि मैले नै चाँडो चाडो जन्माऔं । त्यसपछि सके दुई जनाले नै केही गर्नुपर्छ, नसके मैले परिवारको लागि केही गर्नु छ भनेँ र त्यसै गरियो । सरासर ३ जना बच्चा जन्माइयो र उ पनि संस्थामा काम गर्न थाल्यो र म पनि २० महिनाको कान्छो छोरा हुँदादेखि नै संस्था मै काम गर्न सुरु गरेँ । हामी दुवैको पढाइ १० पास मात्र थियो । हामीले पढाइ पनि सुरु गर्‍योैं । फलस्वरूप उ लेवल २ पास गरेर वनसेवामा लोकसेवा पास गरि २०७२ बाट नेपाल सरकारको स्थायी कर्मचारी बन्यो र म शिक्षक लाइसेन्स पास गरि शिक्षक सेवा आयोगको परीक्षा पास गरी २०७६ बाट प्राथमिक तहको शिक्षक बन्न पुगेँ ।

    मलाई सुन लगाउने खासै इच्छा हुदैनथ्यो र नै म ९ कक्षामा पढ्दैगर्दा आपाले सक्दाको गहना नसक्दाको खजना लगाइराख भनेर दिएको एक तोला सुन आफैले हामी ३ दिदीबहिनीलाई बाँडेकी पनि थिएँ । पछि पारिवारिक समस्याको कारण पनि र इच्छा नभएको कारण खासै सुन लाइएन तर केही गहना त थियो । एकदिन ठूलो छोरो ‘अरुको आमाहरु गहना लाएर राम्री भएर हिड्छ तपाईं भने केही पनि नलाएर नराम्री भएर हिड्ने’ भन्दै रोएपछि उसको बाल मस्तिष्कमा असर नपरोस भन्ने सोचले त्यो फुकालेर राखेको गहना उसको खुसीको लागि लाएको थिएँ। 

    सुनकै कुरा जोड्न मन लाग्यो, जागिरको केही वर्ष पश्चात् मलाई उसले छड्के तिलहरी किनीदिने प्रस्ताव राख्यो । अनि मलाई त्यो छड्के तिलहरि खासै मन पनि नपर्ने अनि मैले ‘बरु हातमा बाला किनिदिनु त्यो म लाउदिनँ’ भने र उसले मलाई बाला नै किनिदियो । अर्को साल भयो तर उसले भन्यो ‘त्यो तिम्रो ठुलो शरीरमा त्यो छड्के तिलहरी लाएको खुब हेर्न मन छ, फेरि तिमीले उबेला मेरो त्यस्तो अबस्थामा आफ्नो कति इच्छा बन्द गरेर साथ दिएर हाम्रो परिवार यतिको बनाउन मद्दत गरेकी छौ । मैले तिम्रो लागि केही सोचेको पनि थिइँन र गरेको पनि छैन ।’

    मेरो एउटा सोच आयो, यसलाई पूरा गरिदेउ भनेपछि मैले सोचेँ उसले पोहोरदेखिको सोचेको कुरा किन म यति दृढ बनुँ ? जीवन आफ्नो लागि मात्र बाचेको पनि त छैन र आफ्नै लागि मात्र सोचेर पनि त हुुदैन । अलिकति उसको लागि, अलिकति परिवारको, अलिकती समाजको लागि नै त बाचिरहेकिछु भनेर उसको मायाँको छड्के तिलहरि स्वीकार गरेँ । (लेखिका शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।) 

    सम्बन्धित समाचार