शनिवार, आषाढ १ २०८१
तीर्थ कार्की
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरीले कत्तिलाई हात्तिछाप चप्पलबाट बुट टेक्ने बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरीले त्यी सानालाई ठूला अनि तिमिलाई नै साना देख्ने बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरीले कतिलाई माथि पुर्याई तिम्रै शिरमा टेक्ने बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरीले पैदल हिडिरहेकालाई करोडौंको कारमा गुड्ने बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरिले हिजो कसैले नचिन्नेलाई आज साराले चिन्ने बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरीले एकछाक तरकारी किन्न नसक्नेलाई आज दुई चार जना मान्छे किन्ने बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ।
तिम्रै मजदुरिले हिजो सिध्राझै ज्यान सुकेकालाई आज परिआए जुध्ने बनायौ।।
हे ! मजुदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरिले बनेका भुडेहरुलाई त्यही भुँडी घटाउन मर्निङ वाकमा कुढ्ने बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरीले हिजो सानो तस्बिर कैद गर्न नखोज्नेको लागि आज तस्बिर खिच्न चाहाने सिन बनायौ ।
हे ! मजदुर तिमी कति महान छौ ।
तिम्रै मजदुरीले यि सारा बनाएकाहरुलाई तर खै यिनै मजदुरको मर्का नबुझ्ने किन बनायौ ?
-बाहुनीडाँडा, खोटाङ