सोमवार, आषाढ १० २०८१
नेपाल वाइड
खोटाङ, १० असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नागरिकको स्वास्थ्यलाई हानी गर्ने जंकफुड र अन्य बोतलमा भरिएको पेय पदार्थ (कोल्ड ड्रिंक्स) लाई निरुत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
सोमबार सम्पन्न ११ औं नगरसभामा मेयर तीर्थराज भट्टराईले पर्यावरणलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा आउने पेय पदार्थ आयात गर्ने व्यक्ति वा पसललाई खाली सिसाको व्यवस्थापन स्वयं व्यक्ति वा पसलले नै गर्नुपर्ने गरी नीति तथा कार्यक्रम ल्याएको जानकारी दिएका छन् । बोतल व्यवस्थापन नगर्ने व्यक्ति वा पसललाई दण्डित र प्रतिबन्धित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरसभाले नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्दै यस अघि खनिएका स्थानीय सडकहरुको स्तरोन्नती गरी नगर यातायात संचालन गर्न आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रम पास गरेको छ ।
नसर्ने रोग सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य संस्थाबाट उच्च रक्तचाप, मधुमेह, दम पाठेघरको मुख तथा स्तन क्यान्सर र मिर्गौलाको लागि निःशुल्क स्कृनिङ कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने, बेसहारा व्यक्तिको पहिचान गरी उनीहरुको निःशुल्क औषधि उपचारको लागि समन्वय गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै, लफ्याङमा जिल्लाकै पहिलो क्रिकेट खेलमैदान निर्माण सुरु गर्ने, दिक्तेल बजारको माटिकोरेस्थित रंगशालालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक व्यवस्था मिलाउने लगायतका योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
९८ करोड ९४ लाख बजेट सार्वजनिक
नगरसभामा उपमेयर बिसन राईले आर्थिक वर्ष २०८१/०८२ का लागि ९८ करोड ९४ लाख ४२ हजार ९९५ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्षकालागि नगरपालिकाले केरा खेती प्रवद्र्धनका लागि १५ लाख, कफी खेती प्रवद्र्धनका लागि ४५ लाख, वन्यजन्तुको आक्रमणलाई न्यूनीकरण गर्न अध्ययन गरी उपयुक्त विधि अवलम्बन गर्न बाली संरक्षण कार्यक्रमका लागि ७५ लाख विनियोजन गरिएको छ ।
दुधमा आत्मनिर्भर हुनका लागि गाई तथा भैंसी पकेट तथा स्रोत केन्द्र संचालनका लागि ३० लाख, पशुपालन मार्फत स्वरोजगार प्रवद्र्धन र आय आर्जन वृद्धिको लागि पाडापाडीमा अनुदानमा ४२ लाख विनियोजन गरेको उपमेर राईले जानकारी दिए ।
यस्तै, कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत ३ करोड ४३ लाख, कालिका भगवती तथा मझुवागढी सौन्दर्यकरण निरन्तरताको लागि १ करोड ५३ लाख ८४ हजार, प्रदेश सरकारसँगको सहकार्यमा बुईपामा निर्माणाधिन यलम्बरको मुर्ती निर्माणका लागि २ करोड, प्रदेश सरकारसँगको समन्वयमा दिक्तेल बजार सडक स्तरोन्नतिको लागि १ करोड ३० लाख बजेट बिनियोजन गरिएको छ ।
दिक्तेल–पाथेका–केपिलासगढी सडक स्तरोन्नतिको लागि संघ र नगरपालिकाको लागत साझेदारीमा १ करोड, कर कार्यालयको गेटदेखि खाल्ले जाने सडक स्तरोन्नतीको लागि ४० लाख, दिक्तेल हस्पिटल चोक–दोर्पा दुम्ली सडक स्तरोन्नतिको लागि ५० लाख लगाउयतका बजेट विनियोजन गरेको उपमेयर राईले जानकारी दिए ।