Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पल्लोघरकी आइमाई

    पल्लोघरकी आइमाई


    • सोमवार, आषाढ १७ २०८१

    • भीम राई


    पल्लोघरकी आइमाई
    लेखक

    तीन महिना कुवेतमा बसेर घर फर्कदै गर्दा बेलुकिको समय ८ बज्नै लागेको थियो । त्रिभुवन बिमानस्थलमा ओर्लने बितिक्कै भन्सारका एकजना कर्मचारिले, “खै ! के के मालसमान ल्यायौ ?” भनेर मेरो सुटकेस जाँच गर्दै गर्दा मुखभरिको जबाफ दिन मन लागेको थियो । तर मुजैमुजा परेको उनको अनुहारमा नेपाली ढाका टोपी ढलक्कै ढल्केको देख्दा मैले जब्बरजस्ति मेरो मुख बारें । 

    मध्य आषाढको महिना थियो । बिमानस्थलदेखि बाहिर निस्कने बितिक्कै काठमाण्डौ खाल्डोको आकाशमा कालो बादल मडारि रहेको स्पष्ट देख्न सकिन्थ्यो । अझै समय समयमा हवारह्वार्ति मुशलधारे पानी बर्सिरहेको बिरमाइलो दृश्य देख्दा मन भरङ्गै हुन्थ्यो । जाबो मान्छेको जिन्दगी न हो । आफ्नो दुःखमात्र गन्छ तर सुख गन्दैन भनेझै मपनि मेरो पिर, व्यथा, चोट, पिडा र दर्दनाक घटनाहरु मनभरि खेलाउदै खेलाउदै कदमहरु सुस्तरि अगाडि बढाँइरहेका थिएँ । तर त्यसरि हिडेँको एकछिनपछि बिमानस्थलको छानोदेखि झरेको पानीसँग मेरो जम्काभेट भयो । जे सुकै मरोस है भनेर पानीले निथ्रुक भिजेको शरिर लिएर झन अगाडी बढ्न थालें । 

    “ए दिदी ! कहाँ जानुहुन्छ । यता आउनोस् ?” यात्रृहरुको पतिक्षा गरिरहेको चालकहरुले निकालेको यस्तै आवाजहरु मेरो कानभरि छरपष्टिन थाल्यो । 

    त्यसो त आफ्नो देश छाडेर परदेशमा भोग्नु परेको पिडा मनभरि छँदै थियो । त्यसैले मसँग धेरै बोलिरहने ताकत चाहिँ पटक्कै थिएन । मेरो मगजमा चिन्ता थियो र हृदयमा वेदनाको छाल उर्लीरहेको थियो । त्यसैले गत रात झिमिक्क ननिदाइ रातभरी छटपटाइरहेको थिएँ । यिनीहरुले जेसुकै भनिराखोस् है बरु कसैसँग बोल्दिन भन्ने सोचें । तर आफ्नै आँखा अगाडी खेलेका ति ट्याक्सि चालकहरुको रमाईलो खेल एकछिनसम्म हेरिरहें ।

    एकछिन आँखा झिमिक्कै नगरि उनीहरुको खेल हेरेपछि बलियाहरुमात्र बाँच्छन र निर्धाहरु मर्छन भन्ने भनाइलाई तिलान्जलि दिदै म नजिकै उँभिरहेको तर हेर्दा मरन्च्यासे देखिने एकजना चालकलाई लक्षित गर्दै, -“भाई ! तिमी मसँग जाने हो ?” भनेको मात्र के थिए । 

    मेरो भनाइले उनको मुहार मध्यान्हको सूर्यझैं चमक्कै चम्क्यो । हतारहतार गएर अर्कोले समातिरहेको मेरो सुटकेस उनले थपक्कै खोस्यो र खुरखुरु मेरो अगाडी बढ्यो । म उसको कदममा कदम मिलाउँदै पछिपछी लागें । ट्याक्सिमा पुगेर अगाडीको सिटमा बस्दै गर्दा कमाउन गाको धन्न गर्भवती नभै आइयो । नत्रभने बतासे छोरा लिएर कसरि बाँकी जीवन बिताउथे होला भनेर मनमनै सोचें । 

    एकछिनपछि छ्याके अनुहारमा मिरमिर पलाएको जुङ्गा तर लुइरे चालकले डिकीमा मेरो सुटकेस राखेपछि ट्याक्सि हाक्न सुरु गरिहाल्यो । ट्याक्सि केहिबेर गुडेर अलिक अगाडी मूल सडकमा पुगेपछि, “दाहिने घुम्नु है भाई,” सडकमा धेरै होहल्ला थियो । त्यसैले उनको कान फुट्ने गरि एक वचन भनें ।

    मेरो कुरो सुनेर उसको जुङ्गा हल्लियो । त्यसपछि ट्याक्सि आफ्नै गतिमा चक्रपथमा हुइकिन थाल्यो । एकैछिनमा हामी बागमतीको साघुँमाथि पुग्यौं । तर त्यहाँ पुग्दा मेरो आँखा अचानक आर्यघाटमा पुगेर एकछिन बिश्राम गर्यो । त्यहाँ लहरै जलिरहेको लाशदेखि आकाश छेडौझैं गरेर निस्केको धुँवाको मुश्लो देख्दा मेरो आँखा यसै यसै तिरमिराएको थियो । जाबो मान्छेको जिन्दगी न हो । अन्तिममा जलेर धुवाँ नै हुनु पर्ने रहेछ । के बिनाबिच्चैमा लोभ गर्ने हौ भन्ने मलाई त्यसबेला लाग्यो । 

    बर्षा यामको समय थियो । त्यसैले बागमतीको पानी उर्लेर साघुँमाथि निस्कन सक्छु भनेर आँट गरिरहेको त्यहाँ देख्न सकिन्थ्यो । म तिनै पानीको तरङ्गहरुमा मेरो मनका भावनाहरु एकछिन बगाइरहेको थिएँ । तर सोहिबेला, - “दिदी ! अनि हजुर कहाँसम्म सवारि हुनु हुने हो ? ठेक्कै भनिदिनु भए हुन्थ्यो कि ?” धुजैधुजा भएको धर्के कमेज, रङ्ग गएर बेरङ्गि देखिने पतलुङ, खुट्टामा हातिछाप चप्पल र घेरा फाटेको पाल्पाली ढाका टोपि लगाएका चालकको मुखदेखि त्यस्तो आवाज फुत्क्यो । 

    उनको प्रश्न सुनेर म एकछिन अमुक बसें । त्यसपछि उनको बुढो नहुँदै तीन चाउरि परेको अनुहारलाई एकपटक मज्जाले अध्यान गरें । 

    “भाई ! तिमीलाई जतातिर लान मन छ त्यतैतिर लैजाउँ । आखिर यो जाबो जिन्दगीसँग हार खाइसकेको मान्छे त हुँ ।” 

    मेरो कुरो सुनेर ऊँ निशब्द बन्यो । तैपनि उसले एक रफ्तारमा ट्याक्सि हाकिरह्यो । एकछिनपछि ट्याक्सि गौशालाको गोलघुम्तिमा पुग्यो । दिउसोको समय हुँदो हो त त्यहाँ ट्राफिक प्रहरीले सिट्टी बजाइरहेको दृश्य देख्न सकिन्थ्यो । रात छिप्पिदै गइरहेको थियो । त्यसैले ट्राफिक प्रहरीको त्यहाँ उपस्थिती थिएन । तर त्यतिन्जेलसम्म चालक केहि नबोलेपछि, “भाई ! बसुन्धारा तिर है,” संक्षिप्तमा भनें । मेरो कुरो सुनेपछि यसचोटी चालकले मुन्टो हल्लाएर जबाफ दियो । 

    “दिदी ! राम्रै देश गएर आउनु भएको होला । गाँठ टन्नै कमाउनु भयो होला ? हामी त खाडी मूलुक पनि जान सकिएन । खयर जे सुकै होस । तर हजुरको घर चाहिँ कता हो नि ?” 

    मेरो जन्मघर माङ्सेबुङ, इलाम हो । म एक्लि भएर पनि अभागि नेम्बाङको छोरी । मेरो आमा र बुबा दुवैजनाको अल्पआयुमा मृत्यु भएको थियो । त्यसैले म काकाको घरमा हुर्के । मलाई काकाले हुर्काउन त भयो तर आफ्नै छोरी जतिको माया चाहिँ दिन सक्नु भएन । किनभने काकाको एकजना पुलपुले छोरो पनि थियो । 

    सानैमा परिवार बिहिन भएपछि मैले राम्रो लेखपढ गर्ने अवसर पाइनँ । हुनत यसमा मेरो पनि दोष थियो । किनभने पढ्न मलाई एकदम अल्छि लाग्थ्यो । कलेजमा पढ्नभन्दा केटाहरुसँग हिड्न बढि मन लाग्थ्यो । सायद कुरकुरे वैशले छोएकोले होला ? कलेजमा हुँदा दुईजना केटाहरु पनि साथि बनाए र पछि भेटेको साथिसँग त पाँच बर्ष अगाडी ट्यामकुली नै बजाई दिएँ । 

    अनि भाई ! मेरो उनै नायकको घर फुङ्लिङ–ताप्लेजुङ । अझै भनौ ऊँ चाम्लिङ-राई । हाम्रो बिहेको कुटनीको भूमिका मुहार पुस्तिकाले नै निभाएको थियो । हाम्रो बिहे भएपछि बुढो खाडीतिर हानिएर गयो । म उनको पछिपछि यो नाथे काठमाण्डौमा के के न पाइन्छ कि भनेर छिरें । यहाँ आएपछि पहिले मैतिदेवीमा डेरा गरेर बसें । त्यहाँ एउटा कोठा थियो र मसगँ केवल एउटा सिङ्गो जीवनमात्र थियो । केहि कामसाम थिएन । बेरोजगार थिए त्यसैले मसाज पार्लरमा छ महिना जति काम गरें । मसाज पार्लरको कामले मलाई फापेन । किनभने त्यहाँ अरु कुरो केहि हुदैनथ्यो केवल मेरो जवानीको मात्र कुरो हुन्थ्यो । त्यसैले मैले त्यो पनि छाडिदिएँ । 

    काकाको छोरा जापान जानु भाको थियो । जापानमा उनले निक्कै पैसा कमाउनु भयो । पछि उनले बसुन्धारामा एकतले घर किन्नु भयो । माङ्सेबुङदेखि काकाकाकी तिनै घरमा सरे । मैले काम छाडेपछि म पनि उहाँहरुसँग बस्न थालें । त्यहिँदेखि मैले एकचोटी कतार र अर्कोचोटी दुबाईमा मेरो आँशु, पसिना र रगत बगाइ सकेको छु । यसचोटी कुवेतबाट धन्न बाँचेर फर्कन सकें । यति भन्दै गर्दा मेरो स्वर थरर कापिरहेको थियो । 

    बसुन्धारामा फिरेपछि मेरो समय त्यतिक्कै बित्न थाल्यो । ऋणमा थिए, त्यसैले मनभरि पिरको भारी थियो । घरबाट बाहिर जान कतै मन लाग्दैन थियो । हरेक बिहान र बेलुकि दिनमा दुईचोटी बुढासँग फोनमा बोल्थे । त्यहाँदेखि उब्रेको समय छतमा बसेर बित्थ्यो । मनमनै पैसा कमाउने अनेकौ उपायहरु सोच्थे तर मसँग अध्यान, अनुभव, सिप वा तालिम केहि थिएन । यो २८ बर्षे जवानी मात्र छ भनेर सोच्ने गर्थे । अब यसलाई कसरि प्रयोग गर्ने भनेर गृहकार्य गर्न थालें । काम केहि थिएन र समय प्रशस्त हुन्थ्यो । मोबाइल खेलाउने क्रममा टिकटकमा लत बस्यो । टिकटकमा कस्को परिवार कस्तो छ । कुन कुन बुढो मान्छेहरुसँग पैसा छ । उनीहरु कहाँ कहाँ गएका छन् र के के खाएका छन् भनेर हेर्न थालें । र, उनीहरुसङ् च्याट गरेर सुढ्ढोहरुको सिकार गर्न दिनचार्य हुन थाल्यो । 

    हाम्रो घरको दाहिनेतिर छिमेकिको तीनतले घर थियो । त्यो घरको मुनि एउटा कोठामा भर्खर भर्खरै बिहे गरेका एकजोडी परिवार बस्थ्यो । आक्कलझुक्कल आँखा जुध्दा केटो निक्कै भलादमी देखिन्थ्यो । तर ऊँ ज्यामी काम गर्थ्यो होला ! किनभने उनको पहिरन त्यस्तो देखिन्थ्यो । तर उनको बुढिको फेसन हेर्दा अलिक नक्कली जस्तो लाग्थ्यो ।

    एकदिन तीनै टप्परटुँइया बैनीसँग मेरो परिचय भयो । उनको नाम नेहा रहेछ । तर हाम्रो परिचय भएको अर्को दिन नेहा हाम्रो घरमा आइन् । घरमा आउने बितिक्कै, - “दिदी ! कति घरमा बस्नु हुन्छ है ? ल आउनोस्, एकछिन बाहिर तिर घुम्न जाउ । घरमा बस्दा बस्दा वाकदिक लाग्यो,” उनले भनिन् । यसै त म मानसिक रुपमा कमजोरी थिएँ । कतै एकछिन भएपनि शान्त्वना मिलिहाल्छ कि भनेर बैनीको वचन काटनै सकिनँ । त्यसपछि, “हुन्छ है,” भनेर शरिरमा एउटा फिलफिले जामा उनें र हामी दुईजना घरदेखि बाहिर निस्क्यौ । 

    घरदेखि निस्केर बायाँ लाग्यौ । अनि निक्कै बेर हिडेपछि “फुल मस्ती खाजा घर” लेखिएको एउटा खाजाघरको अगाडि पुग्यौ । त्यहाँ पुगेपछि, - “दिदी ल यहाँ एकछिन बसौ है,” उनैले भनिन् । 

    “होइनौ बैनी ! नाम त खतरा पो छ त, यो के हो ?” 

    “नाम खतरा भएपनि काम खतरा छैन नि । के डराउनु हुन्छ, हजुर ? यो मेरी गाउँले दिदीको खाजा घर हो क्या ।” 

    नेहाको गाउँले दिदीको खाजा घरभित्र पस्दा मलाई थोरै अफ्ठ्यारो महसुस भयो । धुले बाटोको बायाँ किनारमा रहेको उक्त्त खाजा घर कर्कटपाताको छानोमात्र नभएर त्यसैको पर्खालले बनेको थियो । मूख्य द्वारमा पातलो तर रातो जालीको पर्दा झुन्डयाएको थियो । यसो हेर्दा अस्थायी शौचालय जस्तो देखिने खाजाघर एकदम सानो र एउटा कोठामा मात्र सिमित थियो । हुनत ७-८ जना जति मान्छेहरु खाँदिएर बस्न मिल्ने त्यो खाजा घरमा हामी पुग्दा बिलकुल खालि थियो र त्यहाँ काम गर्ने एकजना भाइँमात्र थियो । तर हामी त्यहाँभित्र छिर्ने बितिक्कै, - “ए फुच्चे ! दुइटा तुङ्बा ले ?” नेहाले ठूलो स्वरमा हुकुम बर्षाइन् । 

    “पहिले कुर्सिमा बस्नु न हौ ।” कट्टु तान्दै फुच्चे बोल्यो । 

    “कति कट्टु तान्छस है । बरु कट्टुको इँजार अलिक बन्धिलो कस है ?” 

    “के खुस्केको देख्नु भा छ र ?” 

    “खुस्क्यो भने त देखि हाल्छ नि !” 

    “अहिले पुरै खोलेर देखाइ दिन्छु र पो अनि खानु हुन्छ झुप्पा ?” 

    “त ! अलिक बढि नहोइ है । तेरो गाला साला पडकाइ दिउला र !” 

    त्यति प्रश्नोत्तर पछि फुच्चे हामीदेखि बिलय भयो । नेहा र फुच्चेको वार्तालापले मलाई थोरै असहज उत्पन्न भयो । पहिलो चोटी बैनीसँग हिडेँको थिएँ त्यसैले केहि बोल्न सक्तै सकिन । तर मलाई के थाहा भो भने यिनी यहाँको नायिका नै रहेछिन् त्यसैले त फुच्चेसँग त्यसरि बोलिन् भन्ने मेरो मनमा लाग्यो । 

    नेहाले फेरि कुरो गर्न सुरु गरिन्, - “दिदी ! सुन्नु न । मेरो जीवन कहानि पनि अचम्मैको छ । पोहोर साल एउटा लफङ्गासँग बिहे गरें । बिहे गरेपछि बुढालाई बिदेश पठाउने भनेको उहाँ पटक्कै मान्नु हुन्न । एकदम धेरै देशभक्त्ति पल्टनु हुन्छ । के जान्थे बिदेश ! बरु आफ्नै देशमा पशिना बगाएर गरि खान्छु भन्नुहुन्छ । जाबो बागमतीको बालुवा र अरुको घर बनाउने इटा बोकेर घरभाडा तिर्न नसक्नेले के देशभक्त्तिको कुरो गर्नु होइन र ! अनि खालि पेट बसेर के राष्ट्रभक्त्तिको कुरो गर्नु हगि ? देशभक्त्ति र राष्ट्रभक्त्ति भन्ने कुरो त पेट टन्न हुँदा गरिने कुरो हो । म त त्यसै भन्छु ।” त्यसपछि उनी एकछिन रोकिइन् । “बैनी ! हुन त हो । तर बिदेशमा पनि कहाँ त्यति सजिलो हुन्छ र ?” सानो स्वरमा मैले मुख खोलें । 

    “आ....जतिसुकै अफ्ठ्यारो नै किन नहोस् । म त बिदेश नै जान्छु । एक जान्छु, दुई जान्छु र तीन जान्छु । चाहे बिदेशमा अर्काको बिस्तारा नै हुन परे पनि म पछि पर्दै पर्दिन । के पर्थे ? मैले त्यहिँ अठोट लिएको छु । जुनैसुकै मूल्यमा पनि जान्छु, जान्छु । चाहे त्यो बङ्गाली होस् वा पाकिस्थानी अथवा इन्डियन होस् कि अरेबिक । मलाई पैसासँग मात्र मतलव छ । पैसाले मात्र यहाँ शिक्षा र स्वस्थ पनि किन्न सकिने रहेछ । त्यो भन्दा ठूलो यहाँ के छ र ? पैसाको आडले अमेरिकाले संसार हल्लाइ रहेको छ । कि तपाइँलाई कतै त्यस्तो लाग्दैन र ?” त्यति बोलि सकेर उनी सिधै माथिको कर्कटपाताको छानो एकाध हेरी रहिन ।

    “बैनी ! खै कोनि त हौ ? म त कुवेतबाट मुसल्टे मालिकको छोरासँग सुत्न नमानेर फिरेको हो । अहिलेसम्म पनि त्यो महम्मद हुसेनको झुसे अनुहार सम्झदा आङ जिरिङ्गै हुन्छ । हुनत कतिपय कुरोहरु भावनामा बग्न सकिन्छ तर व्यवहारमा उतार्न सकिदैन ।” एउटा आँखाले उनको आँधा खोलिएको बक्षस्थलतर्फ हेरेर जबाफ फर्काइ दिएँ । 

    म त्यति बोलि सकेपछि हातमा दुइटा तोङ्बा ल्याएर फुच्चे हाम्रो अगाडी सुरिलो पोजिसनमा खडा भयो । त्यसपछि तोङ्बालाई ठ्याक ठ्याक टेबलमा राखि दियो । उनले तोङ्बाको नजिकै एक थरमस तातोपानी पनि ल्याइदियो । मैले उनलाई धन्यबाद भनें । तर बिचरा भाइँले प्रति उत्तरमा एक्कै शब्द बोल्दै बोलेन । उनको रुन्चे अनुहारलाई निक्कैबेर सम्झिरहें । भाइँ तिम्रो जिन्दगी पनि मेरोभन्दा झन गएगुज्रेको रहेछ मनमनै भनें । 

    तोङ्बाको सेवा प्रदान गरेपछि भाइँ हामीभन्दा थोरै टाढा उँभियो । ठीक त्यहिँबेला, “खै ! सेकुवा ?” कर्के आँखा तर्दै नेहा दोश्रोचोटी बोलिन् । 

    “हेर ! एक सर्को तुङबा तानेको छैन् । सेकुवा चाहि हाल्यो,” रुखो जबाफ दिएर उनले नेहाको मुख बन्द गर्न खोज्यो । 

    “धेरै हल्ला नगर है फुच्चे । यहाँ नाना भएकी भए तेरो नलिखुट्टा टङ्लङ्गै भाँचि दिन्थिन्,” उनी कड्किन् । 

    “भाच्यो भाच्यो, खुलित्त पारेर । कसैले नभएर नानाले,” हात बनाएर देखाउँदै मुख छाड्यो । 

    “यिनीहरुसँग बोलेर के सकिन्थ्यो हौ बैनी ! ल भयो छाडि दिउँ ।” मसिनो स्वरमा बैनीलाई भनें । 

    “होइनँ दिदी यस्को बानि नै यस्तो हो । नानाले यसलाई अलिक छाडा बनाएकी छिन् । म यस्को मालिक्नि भए जानेको थिएँ ।” तुङ्बामा मुख गाड्दै त्यतिसम्म भनिन् । 

    ऊँ त्यहाँदेखि गएपछि कोठा एकछिन शान्त भयो । त्यसपछि हामी चुपचाप तुङ्बा पिएर बस्न थाल्यौ । केहिबेरपछि फुच्चेले दुई प्लेट सेकुवा लिएर फेरि हाम्रो सामु आयो । तर काकतालि के पर्यो भने सेकुवा सँगसँगै दुईजना ग्राहकहरु पनि खाजाघरभित्र छिरेको देखियो । उनीहरु मध्ये एउटाको जिउँ सुकेको चिलाउनेको दाउरा जस्तो थियो । अनि अर्को चाहिँ त्यस्को ठीक बिपरित बाम पुड्के देखिन्थ्यो । अझै दाउरा जस्तो उनको जिउँमा पतलुङ खुस्केर झनझनै घुँडासम्म झरेको जस्तो देखियो । त्यो मान्छे, - “हामीलाई पनि तुङ्वा किनिदिनु हौ डियर,” भन्दै नेहाको ठीख सामु कुर्सीमा आएर थपक्कै बस्यो ।

    “एइ बाङ्गे ! हिजो किनि देको बिर्सिस् । म ज्यामीको श्रीमती हुँ । तिमीहरुलाई दिनैपछि तोङ्बा किनिदिने के म लाहुरेनी सम्झेको छस् ?” नेहाले आखिभौ उचालेर उनलाई थर्काइन् । 

    “हुनत हिजो निक्कै मातिएछ । त्यसैले आज नखाए पनि हुन्थ्यो । तर बानि परेको यो मन नखाइ के मान्थ्यो र ?” बाङ्गेले त्यति भन्यो र गोजिबाट एउटा चुरोट निकाल्यो । अब उनको एउटा हातमा चुरोट थियो र अर्को हातले नेहाको प्लेटमा भएको एक चोक्टा सेकुवा टिपेर खप्लक्कै खायो । म त्यसबेलासम्म उनको त्यो गतिबिधि नजिकदेखि नियालि रहेको थिएँ । कसैलाई सोध्दै नसोधि उनले सेकुवा खाएको देखेर मैले नेहाको नाङ्गो फिलामा एकचोटी मज्जाले चिमोटे । 

    “आ छाडिदिनुस् दिदी । यो जाबो गजेडेहरु हुन् । अलि अलि खान्छन् । आखिर केहि गर्न सक्तैनन् ।” जबाफ फर्यो । 

    नेहाको कुरो सुनेर मैले एकचोटी लामो सास तानें । तर यिनीहरुसँग उनको सम्बन्ध राम्रै रहेछ भन्ने मलाई त्यसबेला ज्ञान भयो । तैपनि उनीहरुलाई देख्दा आखिर मान्छे किन मान्छे हुन सक्त्तैन् । अनि बल्ल बल्ल पाएको एकपटकको जिन्दगी किन व्यार्थै खेर फालेको होला भन्ने मेरो दिमागमा खटपटाइ रह्यो । 

    माङ्सेबुङ छाडेदेखि मैले पहिलोचोटी तुङ्बा पिएको थिए । त्यसैले मलाई हल्का मातेको आभास हुन थाल्यो । फेरि त्यो केटाहरुले पिएको चुरोटको धुँवाले मलाई झन धेरै मात्न सहयोग गरेको थियो । चुरोटको धुँवाले मेरो आखाँ तिरमिराइ रहेको थियो । तर बाङ्गेलाई अचानक खै के भएर जोस चल्यो हो कुन्नि, - “माई डियर ! तिमी कति सुन्दरी छौ, ब्युटी ?” भन्दै पहिले नेहाको गाला मुसार्यो । त्यसपछि थपक्कै उनको काखमा बस्न खोज्यो । 

    “म जति सुन्दरी भएपनि त मुलालाई के भयो र ? आखिर तेरै अगाडी सर्वाङग नाङ्गो हुँदा पनि तैले के गर्न सक्छस् र ? तलाइँ नचिनेको बिष्ट होइन । तेरो एकपैसाको हुति छैन् । जा बरु परै बस् । अरुबेला जस्तो होइन । आज मेरी छिमेकी दिदी साथमा छिन् । अलिक अनुशासित हुन सिक है !” नेहाले त्यति भनिन् र उनलाई दुईहातले हुत्याइ पठाइन् । 

    बाङ्गे हुरिएर केहि पर पुग्यो । तर फेरि आएर उनको गालामा चुम्मा गर्‍यो । त्यसपछि उनीहरु एक अर्कामा एकछिन जोडिने र एकछिन छुट्टिने खेल खेलिरहे । आफ्नै आँखा अगाडी चलचित्रको जस्तो दृश्य देखेपछि मेरी छिमेकी बैनी अर्ध बेश्या जस्तै रहेछिन भन्ने मलाई भान भयो । अझै बैनीले भाडाको कोठामा सोझो बुढालाई एक्लै छाडिराखेर फुल मस्ति खाजाघरमा मस्ति गरेको देख्दा मलाई त्यति निको लागेन । 

    झन मलाई के लाग्यो भने यो बैनी पनि चौतारीको मादल जस्तै सजिलो रहेछीन् जस्ले बजाए पनि भयो भन्ने मैले त्यसबेला महसुस गरें । वास्तवमा केटाहरुलाई आकर्षण गर्नको लागि केटी मानिसमा नै भर पर्ने रहेछ भन्ने मैले त्यसबेला राम्ररी बुझें । नत्रभने एक जना केटाले एकजना केटीलाई मरिगए बलत्कार गर्न सक्दैन रहेछ भन्ने निचोडमा पुगें । अन्तमा आमाले दुध ख्वाउनको लागि आफ्नो बच्चालाई काखमा राखेझै बाङ्गेलाई काखमा राखेर नेहाले, - “ए ! फुच्चे फेरि तुङ्बा ले ?” बेस्सरि कराएर भनिन् । उनको कुरो सुन्ने बितिक्कै फुच्चेले हुरुरु गएर अर्को चक्कर तुङबा ल्यायो । 

    तुङ्बा टेबलमा आउने बितिक्कै, “बैनी ! म त पिउदिन है । यतिले नै माति सक्यो ।” भन्दै मेरो सामुन्नेको तुङ्बा अलिक परतिर सारि दिएँ । 

    “तुङ्बा पिएर को मरेको छ र दिदी ? यति त पिउनु पर्छ नि,” मेरो तोलाको वचन खोलामा गयो ।

    बेलुकिको समय त्यस्तै १० बजेको थियो । “बैनी ! अब घर जानु पर्छ,” सुस्तरि भनें । गजेडेहरुलाई त्यहिँ छाडेर हामी खाजाघरबाट हल्लिदै हल्लिदै बाहिर निस्क्यौ । बाहिर धुले बाटोमा एकछिन हिँड्ने बितिक्कै, - “बैनी ! मलाई अलिक रिङ्गटा लाग्ला जस्तो भयो । तपाइँको गोजिमा मेरो मोबाइल पनि राखि दिनोस् है । किनभने मैलै जामामात्र लगाएकी छु । यी हेर्नु होस् त ! यस्मा गोजि नै छैन् । हातमा बोकेर हिड्दा कतै बाटोमा खस्यो भने त मेरो जुलुम हुन्छ । यति नयाँ मोबाइल अस्तिको हप्ता मात्र बुढाले बिदेशदेखि किनेर पठाइ दिनु भएको हो । यदी हरायो भने त मेरो पारपाचुके नै हुने खतरा हुन्छ ।” त्यति भनें र मोबाइल सुरक्षित गर्नको लागि उनलाई जिम्मा दिएँ । 

    रातको समयमा बाटो पूर्णतय खाली थियो । त्यसैले हामी जम्मै बाटो हाम्रो हो है भनेर बाटोको बिच भागमा लख्खर लख्खर हिडिँरहेका थियौ । बाटोको किनारमा बत्तिहरु थिएनन् तर दायाँबायाँको घरहरुदेखि आएको बत्तिको प्रकाशले हल्का उज्यालो दिएको थियो । केहि अगाडि बढ्दै जाँदा दुईजना आइमाईहरु काठका मसिनो टुक्राहरु जम्मा गरेर कराहीमा सानो आगो ताप्दै ताप्दै चुरोट पिइरहेका देखिन्थे । उनीहरुको नजिक पुग्ने बितिक्कै बैनीले, - “यो को हो हँ ? हामी हिँड्ने बाटोको बिचमा गाँजा खाने ? हाम्रो नाखै भाँच्यो । नकचरिहरु,” भन्दै एउटीलाई पछाडीदेखि एक लात्ति हिर्काई हालिन् । 

     

    मैले, “आहा ! बैनी,” भन्न पाउँदा नपाउदै ती केटीहरु जाराकजुरुक उठे । र, एकजनाले बैनीलाई ड्याङ ड्याङ दुई तीन मुक्का प्रहार गरि हालिन् । उनीसँग बसिरहेकी अर्कीले, “मा सालालाई ठोक,” भन्दै बैनीलाई लात्तैलात्तीले हानिन् । त्यसपछि दुईजनाले पहिले बैनीको केस ताने । अनि होत्र्याएर बाटोदेखि डिलमुनी झारि दियो । 

    डिलमुनी सिस्नु घारी थियो । उनीहरु त्यहिँ झरेर जुध्न थाले । उनीहरु एक अर्कामा लछार पछार गरेको एकछिन रमिता हेरें । तर मलाई अफ्ठ्यारो लाग्यो । अनि म पनि उफ्रेर डिलमुनि झरें । त्यसपछि, “यो के गरेको हौ ?” भनेर म उनीहरुलाई छुट्टाउन थालें । तर उल्टै एउटी आइमाईले ढुङ्गा प्रहार गरेर मेरो टाउको फुटाइ दिइन् । 

    टाउको छामे अलिअलि रगत आएको देखें । त्यसपछि मलाई बेस्सरी रिस उठ्यो । मैले पनि तिनीहरुलाई बेस्सरि कुट्न थालें । झगडा मज्जाले नै भयो । गाली बेइज्जत र होहल्लाले उग्र रुप लियो । एक्कैछिनमा वरिपरि घरका मान्छेहरु त्यहाँ भेला भए र रमिता हेर्न थाले । तर उनीहरु मध्ये कसैले प्रहरीलाई खबर गरेछन् । एक्कैछिनमा प्रहरीको गाडि आयो । र, हामी सबैजनालाई प्रहरी चौकीमा लगियो । 

    रातको १२ बजेसम्म प्रहरीहरुले अनुसन्धन गरे । त्यसपछि निशर्त घर जान दिइयो । तर त्यहाँ पुगेपछि हामीलाई के थाहा भयो कि उनीहरु झन असलि गजेडे रहेछन् । अझै गत हप्तामात्र प्रहरीको खोरदेखि निस्केको उनीहरु पटके परेछन् । त्यसैले त्यसरात उनीहरुलाई प्रहरी चौकिमा नै राखे । 

    बर्खायामको मौसम थियो । मुशलधारे पानी परिरहेको थियो । नत्रभने भने कोलाहलमय मध्यरातको समयमा वातावरण सुनसान थियो । यसो समय-समयमा गल्लिका भुस्याहा कुकुरहरु भुकिरहेको सुनिन्थ्यो । प्रहरी चौकीदेखि निस्केर निक्कैबेर हिडेँपछि घरको अगाडि पुग्दा हामी भिजेर लुथ्रुक्कै भएका थियौ । त्यहाँ पुगेर बैनीलाई, -“खै ! मेरो फोन दिनुहोस् त । म घरको गेट खोल्नको लागि काकालाई फोन गर्छु,” सुस्तरी भनें । 

    “ला ! दिदी, अघि केटीहरुसँग जुध्दा दुइटै फोन हरायो छ,” एकचोटी गोजी छामिन र अतालिदै उनी बोलिन् । त्यसै त पानीले भिजेर मुसा भइरहेको थिएँ । तर उनको त्यस्तो उत्तर आएपछि म रिसले अगुल्ठा भएँ । “तिमीले गर्नैगर्यौ नि,” त्यति बोलेपछि मलाई उनको अनुहार प्रति घृणा जाग्यो । रिसको पारो ह्वात्तै बढेर आयो । त्यहाँदेखि उनलाई एकसेकेण्ड पनि हेर्न मन लागेन । 

    “ल । तिमी खुरुक्कै आफ्नो डेरा जाउँ । अरु त यस्तै उस्तै हो । तिमीले मेरो जिन्दगी बरबाद गर्यौ ?” त्यति भनेर म खुट्टा पड्काउदै टुइटुइ हिँडेर घरको मूलगेटतिर लागें  । 

    बिहानीको समय त्यस्तै १ बजेको थियो । पानी झनझन बेस्सरि परिरह्यो । मेरो नजरदेखि उनको छाँया अध्यारोमा जतिजति बिलिन हुँदै गएता पनि उनको कुरुप शरिर मेरो आँखामा नाँचिरह्यो । अब मसँग गेटदेखि भित्र पस्ने अन्य कुनै उपाय थिएन । त्यसैले गेटमा चढ्छु भन्ने मनमनै निधो गरे र सुस्तरी गेटमाथि चढ्न थालें । तर गेटको टुप्पामा पुगेर त्यहाँबाट झर्ने क्रममा फलामे भालामा मेरो जामा अड्कियो । जब्बरजस्ति म जमिनमा झरेता पनि आँधा जामा गेटमाथि नै च्यातिएर अड्क्यो र आँधा मभन्दा अगाडी जमिनमा खस्यो । 

    जामा च्यतिएर दुई टुक्रा भएपछि म अर्ध नग्न अवस्थामा पुगेको थिएँ । त्यसबेला दुखि त म यस्सै थिएँ तर गेटभित्र छिरेकोले सुरक्षित छु भन्ने महसुस गरिरहेकी थिएँ । थाकेर लखतरण परेको मेरो जिउँलाई सुस्तरी अगाडी बढाएर मूलढोकाको अगाडी पुर्याएको थिएँ । त्यहाँ पुगेपछि हातमा पानीफोको आइन्जेलसम्म ढोका ढकढक गरें । तर रातभरी कतै नभएको बिजुली चम्कि रह्यो । मेघ गर्जि रह्यो । भुस्याहा कुकुरहरु कराइ रह्यो । कतै नभएको मुशलधारे पानी परि रह्यो । काका र काकी मस्त निन्द्रामा परिरहनु भयो । 

    मसँग अन्य केहि उपाय भएन । घरको मूलढोका नजिकै अलिअलि थोत्रो कपडाहरु थियो । अब तिनै कपडाहरु जम्मा गरेर त्यसैले लाज ढाक्ने प्रयत्न गरें । अब केहिबेर पछि जमिनमा उज्यालो खस्छ, त्यतिबेलासम्म यहिँ ढोकाको छेउमा आराम गर्छु भनेर घुप्लुक्क लडेंको थिएँ । 

    समय यस्तै बिहानको ६ बजेको थियो । बिहानी पख भुसुक्कै सुति गएको थिएँ । काकीले घन्द्रङ्गै मूलढोका खोल्नु भयो । त्यसबेला म झसङ्गै भएँ । ढोका खोलेर काकीले मलाई देख्ने बितिक्कै, - “जानु ! हन हिजो राती तिमी कता गएको थियौं ? किन फोन नगरेको ? आम्मामा ! अनि तिम्रो यो के हालत हो ? मान्छेहरुले छोरी खाडी राष्ट्र गयो भने बिग्रिन्छ भन्थ्यो । लु हो कि के हो ? रातभरी कुकुरको मुत घिचेर कहाँ कहाँ बस्यौ । कुन-कुन केटाहरुसँग छिल्लियौ ? क-कस्लाई खुट्टा खोलिदियौ । को कोसँग सिगाँरी खेल्यौ । खै तिम्रो कपडा के भयो ? अनि टाउकोमा के भो ? चोटै चोट देख्छु त ? मेरी बाबै ! बिहे गरेको मान्छेको व्यावहार हेर । अब तिमी हामीसँग नबस है । तिमीले त हाम्रो पुर्खाको इज्जत नै फाल्ने भयौ ।” बर्षौ अगाडीदेखिको रिस पोखिन् । 

    “काकी ! तपाइँले जे सोच्नु भएको छ । यथार्तमा म त्यस्तो छैन । यदी त्यस्तो हुने भए त कुवेतमा मालिकको छोरासँग मज्जाले सुतेर पैसा कुम्लोमा बोकेर ल्याइँहाल्थे नी । मलाई पनि राम्ररी थाहा छ । कुन समयमा खुट्टा खोल्नु पर्छ वा कुन समयमा खोल्नु हुन्न भनेर । हिजो मेरो फोन हरायो । त्यसैले अहिले तनावमा छु । अनि एउटा कुरो याद गर्नु होला ! खाडीमा गएको सबै नेपाली नारी बिग्रन्छ भन्ने हुँदैन । एकदुई जनाले नराम्रो काम गर्‍यो भन्दै सबैजना त्यस्तो हुँदैनन् । म पनि एकजना बिबाहित महिला हुँ । नारीको इज्जत सियोको टुप्पामा हुन्छ र त्यसलाई बचाँउन पर्छ भन्ने मलाई पनि राम्रोसँग थाहा छ ।” 

    जिन्दगीमा पहिलो चोटी काकीसँग मुख लागें । त्यति भनि सकेपछि म सरासर आफ्नो कोठामा पुगें । अब कुनै पनि हालतमा एउटा फोन चाहिन्छ । किनभने केहिबेरमा बुढाले फोन गर्छ । फेरि फोन उठाउन असमर्थ भए भने उहाँले के के सोच्नु हुन्छ होला भनेर मनमा पिर परिरहेको थियो । कोठामा पुगेर हतार हतार नुहाइ धुवाँइ गरे । त्यसपछि बस पार्कतिर लागें । बस पार्कमा पुगेर चक्रपथ घुम्ने एउटा बस पक्रे र चाबहिलतर्फ हानिएँ । चाबहिल चौकमा इलाम बजारको एकजना नेवार दाजूले मोबाइल फोनको दोकान खोल्नु भएको थियो । 

    बिहानीको समय १० बज्नै लागेको थियो । दाजूको दोकान अगाडी पुग्दा भर्खर भर्खरै दोकानको सटर खोलिएको थियो । मनभरि सयकडौ पिर र व्यथाहरु भएपनि मोबाइल पशलमा चिनेको दाजूलाई देख्ने बितिक्कै मेरो मुहारमा खुसिका लहरहरु सरर फैलिएर आयो । उनलाई देखेपछि सबैभन्दा पहिले, - “दाजू ! नमस्ते । सन्चै हुनुहुन्छ होला ?” शिर झुकाएर दर्शन गरें । 

    “जानु ! सन्चै छु । यति बिहानै कसो गर्दा आयौ हँ ?” कुचोले दोकान बढार्दै बढार्दै प्रति उत्तरमा त्यति भन्नु भयो । 

    “हिजो मेरो मोबाइल फोन हरायो । आज शनिबारको दिन बैकहरु पनि खोल्दैनन् । त्यसैले मसँग साथमा एकपैसा पनि छैन् । मेरो बिहेमा श्रीमानले लगाइ दिनु भएको बिहेको चिनो यो एक तोलाको एउटा बेरुवा औठी छ । अब यसलाई बन्दकी राखेर भएपनि एउटा मोबाइल लिनुपर्‍यो । हजुर बाहेक यस ठाउँमा अरु कसैलाई चिनेको छैन् । त्यहिँ भएर हजुरलाई सम्झेर त्यति टाढादेखि आएकी हुँ,” बिन्ति बिसाए । 

    मेरो कुरो सुन्ने बितिक्कै, “तिमीलाई थाहै छ । अहिले बोहनी पनि भाको छैन । अनि अर्को कुरो म सुन राखेर मोबाइल पनि दिन्न ! लु त्यस्तो कुरो लिएर मेरोमा नआउ है । फेरि तिम्रो बुढाले चाल पाएपछि हामी एक अर्कामा नराम्रो पनि भइँन्छ ।” 

    “दाजू । कृपया एकचोटी मेरो इज्जत बचाँइ दिनु होला । एकछिनमा उहाँले फोन पनि गर्नु हुन्छ । म जस्तोसुकै मूल्यमा पनि उहाँसँग बोल्नु पर्छ । उहाँसँग बोल्दा एक हप्ताभित्र पैसा पनि पठाइ माग्छु र सुन उकासि हाल्छु नि ?” 

    “तिमीले जे सुकै भनेता पनि म तिमीलाई फोन दिन सक्तैसक्तिन । भर्खरै दोकान खोलेको हो । त्यसैले धेरै ल्याङल्याङ पनि नगर । जुन बाटोबाट आएकी थियौ, खुरुक्कै त्यहिँ बाटोबाट जाउ । त्यसैमा तिम्रो भलाई छ ।” 

    शाहुजीको त्यति नमिठो बोली सुनेपछि, “पैसाले मात्र मानिसलाई आफ्नो मानिस बनाउन सकिने रहेछ,” भन्ने लाग्यो । जति जति उनलाई सम्झ्यो । उति उति मेरो बायाँ छाती बेस्सरी ‍पोलेको आभास भयो । अनकन्टर जङ्लमा एक्लै हिँडिरहेको बेला कसैले मलाई यिनै छातीमा बाण प्रहार गरे जस्तो अनिभूति भयो । मोबाइल दोकानदेखि अध्याँरो मुद्रामा बाहिर निस्कदै गर्दा नेहा तिमीले मलाई यो हालतमा पुर्यायौ भनेर पल्लोघरकी आइमाईलाई मनमनै बेस्सरी गालि गरें । 

    उनै आइमाईले गर्दा मेरो विचार छरपष्ट भयो । “दैव पनि कति पापी रहेछ,” भनेर पशुपत्तिनाथ मन्दिरको अगाडि एकचोटी हेरेर भनें । तर म जस्तो दुखीलाई भगवानले अन्याय गरेको सम्झदा मेरो आँखादेखि अचानक बरर आँसु आयो । कुर्ताको फेरले एकझमट आँसु पुछें । तैपनि छातीभरि पिरको ज्वाला बोकेर चाबहिल मूल सडकको किनारै किनार हिँडिरहेको थिएँ । तर जति जति हिँड्दै अगाडी जान्थे । उति उति मेरा पाइलाहरुले मलाई धोका दिइरहेका हुन्थे । 

    सडक किनारमा त्यसरि निरन्तर अगाडी बढिरहँदा मेरा पाइलाहरुले मलाई धोका दिएपनि, “मृत्युले मात्र मानिसलाई धोका दिदैन,” भन्ने लाग्यो । किनभने सोहिबेला मेरो आँखा अगाडी माडवारी सेवा समाजको शव बहानले पशुपत्तिमा जलाउनको लागि एउटा शब ल्याइरहेको दृश्य देखें । नेपालमा सतीप्रथा त उन्मुलन भइसकेको नै थियो । तैपनि मलाई जिन्दगी भरि कहिलै सुख नहुँदा सारा संसार भुलेर परिचय हुँदै नभएको एउटा शव सँगसँगै आर्यघाटमा सती जाउँकि भन्ने लागिरहेको थियो । 

                                                                                   -अक्सफोर्ड । जून ३०, २०२४ 

    सम्बन्धित समाचार