मंगलवार, आषाढ १८ २०८१
नेपाल वाइड
खोटाङ, १८ असार । खोटाङमा प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीताको तयारी गरिएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना एबं जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा असार २० गतेदेखि प्रतियोगीताको तयारी गरिएको हो । प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित यलम्बर रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिले मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी वारे जानकारी दिएको हो । प्रतियोगीतामा प्रदेशभरीका जिल्लाका खेलाडीले प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राईले बताए । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले प्रथमले २ लाख र दोश्रोले १ लाखका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।
यस्तै, बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर र बेष्ट फरवार्डलाई जनही तीन हजार, बेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाइस्कोररलाई जनही ५ हजारका साथमा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही ३ हजारका साथमा ट्रफी तथा प्रत्येक खेलको मेन अफ द म्याचलाई २ हजारका साथमा मेडल प्रदान गरिने छ । कुल ४२ लाख खर्च हुने प्रतियोगीताका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले २० लाख प्रदान गरेको छ ।
प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई नेपाल सरकारले तोके बमोजिम सार्वजनिक बस भाडा र प्रतियोगीता अवधिभर खाने बस्ने व्यवस्था मिलाइएको अध्यक्ष राईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई, जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसी लगायतको उपस्थिति रहेको थियो ।