शुक्रवार, श्रावण ४ २०८१
नेपाल वाइड
काठमाडौं, ४ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रश्न उठाउने मात्र नभै समाधनका विकल्पसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगतमा आइपरेको बताएका छन् ।
त्यसरी गरिने पत्रकारिता सृजनात्मक, रचनात्मक र समाधानमुखी हुने अध्यक्ष बस्नेतको धारणा छ । ‘प्रश्न उठाउने र समस्या राख्नेमा मात्र अबको पत्रकारिता केन्द्रित छैन । समाधानका सम्भावित उपाय, विकल्पहरु सहित प्रश्न उठाउने दायित्व मिडिया जगतमा छ,’ अध्यक्ष बस्नेतले शुक्रबार सामाजिक सञ्जालमा धारणा राखेकाछन्, ‘समाधन के हुन सक्छ ? अहिले किन भइरहेको छैन ? असल सुरुवात के भइरहेका छन् ? त्यसमा बाधा के, कसरी भइरहेको छ ? जस्ता जिज्ञासा सहितलाई मिडिया जगतले प्रस्तुत गर्दा सृजनात्मक, रचनात्मक र समाधानमुखी पत्रकारिता गरेको ठहर्छ ।’
नेपाली मिडिया जगतको नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् ।
समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुस सरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । ‘युट्युव र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन खालका नकरात्मक सामाग्री पोखिएका छन् । त्यसलाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रुपमा आएका युट्यव र अन्य युट्युव भनी छुट्याउन र चिन्नुपर्छ,’ अध्यक्ष बस्नेतको धारणा छ । उनले सबै युट्युवरलाई पत्रकार भन्न नमिल्ने जानकारी दिएका छन् । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युवर हुन सक्छन्,’ बस्नेतको भनाई छ ।
सबै माध्यममा रचनात्मक र समाधानमुखी सामाग्री पस्किन सके अहिलेका कतिपय गलत प्रवृत्ति आफै अन्त हुने उनको बुझाई छ । पछिल्लो समय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कन्टेन्टलाई कडाई गर्दै आएको छ ।