बुधवार, श्रावण ९ २०८१
सुर्य तामाङ
खोटाङ, ९ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शान्तिसुरक्षा कायम गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–भोजपुर सडक खण्डमा पर्ने पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरेका छन् ।
अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा छ जनाको टोली खटाइएको छ । निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीयलाई सेवा दिनेगरी अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।
स्थानीय अर्जुन कार्कीको घर वार्षिक ४० हजार भाडामा लिएर अस्थायी प्रहरी चौकी राखिएको छ । अस्थायी प्रहरी चौकी स्थायी स्थायी नभएसम्म घर भाडा तथा अन्य बन्दोबस्तीको व्यवस्था वडा कार्यालयले गर्ने वडाध्यक्ष दिनेशकुमार कठेतले बताए ।
यसैबीच, निर्मलीडाँडामा प्रहरी चौकीको भवन निर्माणका लागि दुई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भाडाको घर प्रयोग गरेर अस्थायीरुपमा सञ्चालन गरिएको प्रहरी चौकीका लागि पक्की भवन निर्माण गर्न केशरमान राई र अर्थमान राईले दुई/दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
जग्गादाता राईद्धयलाई प्रहरी चौकी उद्घाटनको अवसरमा दोसल्ला ओढाएर सम्मान गरिएको छ । निःशुल्क प्राप्त जग्गामा चालु आर्थिक वर्षबाट प्रहरीचौकीको पक्की भवन निर्माणको पहल थालिने वडाध्यक्ष कठेतले बताए ।





