शुक्रवार, श्रावण २५ २०८१
नेपाल वाइड
खोटाङ, २५ साउन । खोटाङका उत्कृष्ट सामुदायीक र कबुलियती वन समुहलाई पुरस्कृत गरिएको छ । सामुदायीक वन दिवसको अवसर पारेर डिभिजन वन कार्यालयले शुक्रबार सामुदायीक तथा कबुलियतीतर्फका उत्कृष्ट वन समुहलाई पुरस्कृत गरेको हो ।
सामुदायीकतर्फ प्रथम स्थान प्राप्त गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङको धर्मशाला सामुदायीक वनलाई नगद २५ हजार, दोश्रो स्थान प्राप्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको डाँडाखर्क खिसापत्रे सामुदायीक वनलाई २० हजार र केपिलासगढी गाउँपालिका–१ फेदीको पौडीपाखा सामुदायीक वन समुहलाई १५ हजार प्रदान गरिएको छ ।
यस्तै, कबुलियतीतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित गैरीखर्क कबुलियती वन समुहलाई १२ हजार ५००, रावाबेँसी गाउँपालिका–६ हौंचुरको रिट्ठाबोटे कबुलियती वन समुहलाई १० हजार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चप्लेटी कबुलियती वन समुहलाई ७ हजार प्रदान गरिएको छ । समुहको वार्षिक क्रियाकलापको आधारमा प्रथम, दोश्रो र तेश्रो छुट्याएर पुरस्कृत गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
नुनथलाको महुरेगढीमा गुराँसको बृक्षारोपणको अवसरमा उत्कृष्ट सामुदायीक र कबुलियती वनलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उत्कृष्ट सामुदायीक र कबुलियती वन समुहलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेँसी गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, डिभिजन वन कार्यालयका प्रमुख पशुपती दाहाल लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ, खोटाङका तीन पुर्वअध्यक्षलाई सम्मान गरिएको छ । पुर्वअध्यक्ष स्वर्गीय अम्बरबहादुर राई, पुर्वअध्यक्ष सिताराम कट्वाल, सुर्यबहादुर राई र राजेन्द्र राईलाई सम्मान गरिएको हो ।
महुरेगढीमा गुराँसपार्क बनाउने योजना
सामुदायीक वन दिवसको अवसरमा महुरेगढीमा गुराँसका करिब ६०० बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय र सामुदायीक वन उपभोक्ता महासंघको संयुक्त व्यवस्थापनमा बृक्षारोपण गरिएको हो । ऐतिहासिक महुरेगढीमा गुराँसपार्क बनाउने योजना सहित महुरे प्राकृतिक सामुदायीक वन र सिंहबाहिनी सामुदायीक वनमा बृक्षारोपण गरिएको छ ।

मध्यपहाडी लोकमार्ग लगायतका सडक आसपासमा बृक्षारोपण गरेर हराभरा बनाउन र सौन्दर्यकरणका लागि अभियान चलाउने सामुदायीक वन उपभोक्ता महासंघले जनाएको छ । सडकको सौन्दर्यकरणका लागि तीन वटै सरकारको समान दायीत्व रहेको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईले बताए ।