शुक्रवार, श्रावण ३२ २०८१
नेपाल वाइड
सोलुखुम्बु, ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आएको भिषण बाढीबाट प्रभावित १३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
थामे खोलामा आएको बाढीबाट प्रभावित थामे गाउँका ९३ स्थानीयलाई सोही ठाउँमा रहेको नेपाली सेनाको पोष्ट पछाडि रहेको छिमेकीको घरमा तथा विद्यालयको होस्टलमा बस्ने ८ शिक्षक, २ कर्मचारी र ३२ विद्यार्थी गरी ४२ जनालाई सामुदायीक भवन दुम्जेथामेमा सारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्धारिकाप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार दिउँसो आएको बाढीमा एक जना हराएको छ । बाढी दिउँसो आएकाले मानवीय क्षती हुन नपाएको हो ।
बाढीका कारण माप्यदुधकोसी गाउँपालिका–१ अँधेरीस्थित खुम्बुक्षेत्र जोड्ने दुधकोसी खोलाको पक्की पुलको एकतर्फको भाग भासिएको छ । यस्तै, सोताङ गाउँपालिका–१ दिप्लीघाटको बेलिब्रिजको स्टोर गरेर राखिएको सामान बगाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–३ जोरसल्लेमा कटानका कारण फाक्दिनदेखि नाम्चे जाने पैदल मार्गको दुई स्थानमा बगाएको डिएसपी घिमिरेले बताए ।
भिषण बाढीले पर्यटकीय क्षेत्र थामेको सात वटा घर, पाँच वटा होटल, एक विद्यालय र एक क्लिनिकमा पूर्णरुपमा क्षती पुगेको छ । बाढीले थामेकै सात घर जोखिममा पारेको छ । वस्ती खण्डहर बनाएको छ । बाढीको कटानका कारण जोखिममा परेको माप्य दुधकोसी गाउँपालिका–६ बोदेबहर बलेखाका पाँच परिवारलाई पनि प्रहरीले सुरक्षित स्थानमा सारेको छ । हिम ताल फुटेर वा हिम पहिरोको कारणले बाढी आएको भन्ने यकिन भएको छैन ।
घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएका छन् । अन्य प्रहरी युनिटबाट पनि प्रहरीको टोली खटाइएको डिएसपी घिमिरेले बताए । थामे खोलाको बाढी क्रमशः भोटेकोसी हुँदै दुधकोसीतर्फ झरेको थियो । तल्लो क्षेत्रमा भने बाढीले क्षती नपुर्याएको स्थानीयले बताएका छन् ।