बिहिवार, भाद्र ६ २०८१
नेपाल वाइड
खोटाङ, ६ भदौ । शुभशेर राई स्मृति प्रतिष्ठान खोटाङले शिक्षक छत्रकुमार राईलाई उत्कष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभशेर राईको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षक राईलाई ५५ हजार ५५५ रुपैयाँ राशीको शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८१ प्रदान गरेको हो ।
बार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई छनौट गरेर प्रदान गरिने पुरस्कार यस वर्ष केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माबिमा कार्यरत शिक्षक राईलाई प्रदान गरिएको हो । स्वर्गीय शिक्षक राईको तेश्रो वार्षिक पुण्यतिथि तथा दोश्रो साधारणसभाको अवसरमा बुधबार बुईपामा आयोजित कार्यक्रममा कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रमुख अतिथिका रुपमा शिक्षक राईलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतिष्ठानले यस वर्ष शंखेश्वरी माबि बराहपोखरीका प्रधानाध्यपक तोर्णबहादुर कार्कीलाई शुभसेर राई उत्कृष्ट प्रधानाध्यपक सम्मान, जनजागृति माबि सोल्माका व्यवस्थापन समिति अध्यक्ष सुर्य राईलाई शुभसेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान, याङसोला माबि छोरम्बुका शिक्षक सहरमान राईलाई शुभसेर राई दीर्घ शिक्षक सेवा सम्मान, भगवती दिनानाथ माबि खोटाङबजारका प्रअ कुमार पराजुली र सरस्वती माबि दिक्तेलका प्रअ शिवहरी ढकाललाई शुभसेर राई उत्कृष्ट शिक्षक नेतृत्व सम्मान प्रदान गरिएको छ ।
उनीहरुलाई मन्त्री राई सहित प्रदेशका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की र आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरेका छन् ।
यस्तै, चम्पावती माबि, बुईपाका विद्यार्थी जीवन रम्तेललाई नगद ७ हजार ७७७ रुपैयाँसहित शुभसेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार प्रदान गरिएको स्वर्गीय शिक्षक राईको जेठो छोरा एबं प्रतिष्ठानका अध्यक्ष देवबिक्रम राईले बताए । स्वर्गीय शिक्षक राईको सम्मान तथा सम्झनामा परिवारका १९ सदस्यले स्थापना गरेको ११ लाख ११ हजार १११ राशीको अक्षयकोषबाट उत्कृष्ट शिक्षक, प्रअ, व्यवस्थापन समिति लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा प्रदेशका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न शिक्षक सङ्घ÷सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्वर्गीय शिक्षक राईको जेठो छोरा एबं प्रतिष्ठानका अध्यक्ष देवबिक्रम राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
विक्रम संवत २००६ साल साउन २६ गते जन्मिएका शुभशेरको २०७८ साल भदौ ५ गते निधन भएको थियो । राईको स्मृतिमा बनाइएको प्रतिष्ठान २०७९ साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।
को हुन् शुभसेर ?
स्वर्गीय शिक्षक राईले सहयोगी प्रावि बुईपा छिप्ती, बिणा माबि लिकुवापोखरी र चम्पावती मावि बुईपामा ४१ वर्ष ७ महिना शिक्षण पेशामा विताएका थिए ।
उनलाई जिल्लामै सबैभन्दा लामो अवधिसम्म शिक्षण गर्ने शिक्षकका रुपमा चिन्ने गरिन्छ । शुभसेरले नेपाल राष्ट्रिय शिक्षक संगठनको तीन कार्यकाल जिल्ला अध्यक्ष र एक कार्यकाल कार्यबाहक अध्यक्षको भूमीका निर्वाह गरेका थिए ।
२०३७ सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला अधिबेसनबाट उपाध्यक्ष चुनिएका राई लगत्तै कार्यबाहक अध्यक्ष बनाइएका थिए । उनी २०४० सालदेखि २०४३ साल, २०४७ सालदेखि २०५० साल र २०५६ सालदेखि २०६२ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेका थिए ।