Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मलेपको टोली आउँदा ‘थररर’ नकाँपौंः प्रदेश सांसद राई

    मलेपको टोली आउँदा ‘थररर’ नकाँपौंः प्रदेश सांसद राई


    • बिहिवार, भाद्र ६ २०८१

    • नेपाल वाइड


    मलेपको टोली आउँदा ‘थररर’ नकाँपौंः प्रदेश सांसद राई

    खोटाङ, ६ भदौ । खोटाङबाट निर्वाचित प्रदेश सांसद भूपेन्द्र राईले महालेखापरीक्षकको टोलीले ‘सुटुक्क’ आएर स्थानीय तहको लेखा परीक्षण सुरु गरेको भन्दै बिरोध जनाएका छन् । स्थानीय तहका सरोकारवाला, सर्वसाधारण लगायतलाई थाहै नदिइ लेखापरीक्षण सुरु गरिएको भन्दै प्रदेश सांसद राईले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।

    प्रदेश सांसद राईले महालेखापरीक्षकको टोली आउँदा ‘थरथर काँप्नु’भन्दा सार्वजनिक सुचना जारी गरेर ‘पव्लिक’लाई जानकारी दिन स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिएका छन् । नागरिकले थाहा पाउने गरी, सुन्ने र देख्ने गरी लेखापरीक्षण गर्नुपर्ने सांसद राईको धारणा छ ।

    लेखापरीक्षण बारे नागरिकलाई देख्ने, सुन्ने, हेर्ने र थाहा पाउने अधिकारवाट बन्चित गर्न नहुने सांसद राईले बताएका छन् । ‘सरोकारवाला वा सम्बन्धित पालिकाका नागरिकलाई कुनै जानकारी छैन ।

    साटाकसुटुक काम फत्ते गर्ने पहिलाको आनीबानी दोहोरिन खोजेको झल्को देखिदैछ, यो पटक्कै राम्रो होईन । यो तरिकाले हामी जनप्रतिनिधि नागरिकको दृष्टिकोणमा भ्रष्ट देखिन्छौं,’ प्रदेश सांसद राईले लेखेका छन्, ‘त्यसैले हामीले गरेका कामहरु नागरिकले थाहा पाउने गरी, सुन्ने र देख्ने गरी सार्वजनिक गरौं । नागरिकलाई देख्ने, सुन्ने, हेर्ने र थाहा पाउने अधिकारबाट बञ्चित नगरौं । लेखापरीक्षणको टोली आएको नागरिकले थाहा पाउलान् कि भनेर थरथर काँप्नु भन्दा सार्वजनिक सुचना जारी गरौं ।’

    भूपेन्द्र राई तिनै हुन् जसले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्ष हुँदा आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण गाउँपालिकामै हुनुपर्ने अडान लिए ।

    यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा महालेखा परिक्षकको टोली आएपछि लेखा परिक्षण अधिकारी समक्ष गुनासो वा सिकायत राख्न सार्वजनिक सूचना जारी गरेर आव्हान गरेका थिए ।

    विगतमा महालेखाको टोली कुनै मुकाममा बसेर स्थानीय तहका कर्मचारीलाई कागजातको ‘पोकोपन्तुरो’ बोकेर लेखापरीक्षण गर्न दिक्तेलमा बोलाउँथे । स्थानीय तहका कर्मचारी ट्याक्टरमा कागजात बोकेर मुकाम पुगेर लेखापरीक्षण गरेर फर्कन्थे ।

    गाउँपालिका अध्यक्ष भएकोबेला राईले भने महालेखाको टोली सम्वन्धित स्थानीय तहमा पुगेर लेखापरीक्षण गर्नुपर्ने अडान लिए । काठमाडौंसम्मै पुगेर आवाज उठाएपछि खोटाङमा महालेखापरीक्षकको टोली सम्वन्धित स्थानीय तहमै पुगेर लेखापरीक्षण सुरु गरेको थियो ।

    १० स्थानीय तह रहेको जिल्लामा महालेखापरीक्षकका निर्देशक तिलकप्रसाद सापकोटा र अगमबाबु पुरीको टोलीले लेखापरीक्षण सुरु गरेको छ । सापकोटाको टोलीले खोटेहाङ गाउँपालिकाको लेखा परीक्षण सकेर जन्तेढुंगा गाउँपालिकाको लेखापरीक्षण सुरु गरेको छ । सापकोटाको टोलीले जन्तेढुंगापछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिकाको लेखा परीक्षण गर्नेछन् ।

    यस्तै, पुरीको टोलीले हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका र साकेला गाउँपालिकाको लेखा परीक्षण गर्नेछन् । सो टोलीले हलेसी तुवाचुङ नगरपालिकापछि रावाबेँसीको लेखा परीक्षण सुरु गरेको छ । ‘लेखा परिक्षण लुकेर वा लुकाएर गर्ने विषय होईन । न त यो केबल बिल भर्पाइको चेकजाँच मात्र हो । लेखा परिक्षण त स्थानीय नागरिकको गुनासो र योजनाहरुको स्थलगत अनुगमन वा निरीक्षण पनि हो,’ सांसद राईले भने, ‘बिलमा भएका कुराहरु स्टोरमा छ कि छैन ? योजना स्थलमा छ कि छैन ? कार्यलयमा छ कि छैन ? लेखा परिक्षणबाट त्यो हेर्न आवस्यक छ । लेखा परिक्षण गोप्य रुपमा गरिने अनुसन्धान होईन ।’ 

    सम्बन्धित समाचार