मंगलवार, भाद्र ११ २०८१
नेपाल वाइड
खोटाङ, ११ भदौ । देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट सिकिस्त भएकी ६ वर्षीय एन्जिला परियारको उपचारका लागि खर्च जुटाउन अभियान थालिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एन्जिलाको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको हो ।
मष्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल बिराटनगरमा आइसियूमा राखेर उपचार गराइरहेकी एन्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौंको पहलमा सहयोग संकलन सुरु गरिएको हो । विपन्न परिवारका एन्जिलाको उपचारका लागि अझै छ/सात लाख लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एन्जिला परियार बचाऔं अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताए ।
एन्जिलालाई उदयपुरको गाईघाट हुँदै बिराटनगर पुर्याएपछि मष्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पूष्टि भएको थियो । एन्जिलाको साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । अझै दुई हप्ता आइसियुमा राखेर उपचार गर्नुपर्ने एन्जिलाको बुवा मनोज परियारले बताए । घरकी माईली छोरी एन्जिलालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधिउपचार गरेपछि ठीक भएको थियो । पुःन तीन/चार दिनपछि कडा ज्वरो आएपछि उनको देब्रे हात खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको हो ।
एन्जिलालाई सहयोग गर्नका लागि बराहापोखरी सेवा समाजको खातामा जम्मा हुनेगरि क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ । एन्जिलाको सहयोगार्थ स्वदेसदेखि विदेशसम्म अभियान्ता तोकिएको संयोजक लिमेलले बताए । परिवारको आर्थिक अवस्था दयनीय भएको भन्दै वडा कार्यालय बराहपोखरीले पनि आर्थिक सहयोग गर्नका लागि भदौ २ गते सिफारिस दिएको थियो ।