शुक्रवार, भाद्र २१ २०८१
नेपाल वाइड
खोटाङ, २१ भदौ । हिन्दू नारीहरुले धुमधामकासाथ तिज मनाएका छन् । महादेवको पूजा आराधना एबं नाचगान गर्दै मनाइने तीज खोटाङमा पनि हर्षोल्लासका साथ मनाइएको छ । रातो साडी चोला लगाएर भेला भएका महिलाले नाचगान गर्दै रमाईलो गरेका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहले तिज विशेष कार्यक्रम नै गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले संगीनी नृत्य प्रतियोगीता गर्दै तीज मनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा वडा कार्यालयले संगीनी तथा अन्य नृत्य प्रतियोगीता लगायतका कार्यक्रम गरेको छ । दिक्तेल आसपासका महिलाले हेलीप्याडमा सामुहिक रुपमा नाचगान गरेका छन् ।
भदौ शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज हिन्दू नारीहरूको महत्वपूर्ण चाड हो । तीजमा विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने प्रचलन छ । अघिल्लो दिन दर खाएपछि सुरु हुने तीज ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तीजलाई परम्परागत रुपमा महिलाको दुःख र पीडा साट्ने दिनका रूपमा पनि लिइन्छ तर पछिल्लो समय तीजलाई स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा लिनेगरिएको छ । पछिल्लो समय भित्रिएको उच्छृङ्खलता र तडकभडकले तीजको मौलिकता हराउने खतरा पनि बढिरहेको छ । तीज हिन्दु नारीले मात्र नभएर गैर–हिन्दु नारीले समेत मनाउन थालेका छन् ।
सत्य युगमा भदौ शुक्ल तृतीयाका दिन निराहार व्रत बस्दा पार्वतीले महादेव स्वामी पाएको कथा छ । त्यसैले भदौ शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर शिवपार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास छ । असल वर–बधु प्राप्तिका लागि पनि तीजमा व्रत बस्ने चलन छ । तीजका कारण जिल्लाका धार्मिकस्थल तथा मन्दीरहरुमा दर्शन गर्ने महिलाको भीड लागेको थियो ।