Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा फेरि पनि छिर्न सक्छ भल

    दिक्तेलमा फेरि पनि छिर्न सक्छ भल


    • शनिवार, भाद्र २२ २०८१

    • नेपाल वाइड


    दिक्तेलमा फेरि पनि छिर्न सक्छ भल

    खोटाङ, २२ भदौ । खोटाङको दिक्तेलबजारमा भदौ २० गते बिहान परेको अबिरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको नाली थुनिँदा भल सिधै वस्तीतर्फ छिर्‍यो ।

    दिक्तेल र बाम्राङको सिमानामा रहेको खहरे खोलाको नाली थुनिएर बाढी आउँदा दिक्तेलको किरातचोक आसपासका घर तथा पसलमा क्षती पुग्यो । होटल तथा पसलभित्रै लेदोसहितको भल छिरेको थियो । ढुंगामाटो राखेर भल छेक्ने प्रयास पनि भए तर प्रयास असफल भए । किरातचोकको गेटबाट छिरेको भल बजारको सडक जलमग्न बनाउँदै झरेको थियो । 

    जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीका अनुसार नाली थुनिएर खोल्सीको बाढी वस्तीमा छिर्दा रुसा स्टोरको खाद्यान्न तथा किराना सामान भिजेर अनुमानित ७ लाखको क्षती भएको छ । सँगै रहेको चोलुङ होटल एण्ड लजको खाद्यान्न तथा लत्ताकपडा भिज्दा १ लाख बराबरको क्षती भए । चोलुङ होटल एण्ड लजको ग्राहक राख्ने ६ वटा कोठामा हिलोमाटो छिरेको थियो । लाहुरे हार्डवेयरको प्लाई र सिमेन्ट भिज्दा ४० हजार, न्यू काभ्रे स्टोरको गोदामको १० बोरा चामल भिज्दा २० हजार, एलिना होटलको खाद्यान्न तथा किराना सामान भिज्दा १० हजार र रुद्रकुमार श्रेष्ठको निर्माणाधिन घरमा राखेको सिमेन्ट भिज्दा ८ हजारको क्षती भएको प्रहरीले जनाएको छ । 

    flood at diktel (i).jpg

    सडकको थुनिएको नाली सोही दिन साँझ स्काभेटर प्रयोग गरेर खोलिएको थियो । थुनिएको नाली खोल्ने क्रममा पोका पारेर फालिएको थोत्रो कपडाको पोकाहरु, बोराहरु र फोहोरमैला अड्किएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई बताउँछन् ।

    flood at diktel (iii).jpg

    स्थानीयका अनुसार बोरामा पोका पारेर खोल्सामा फालिएको फोहोरमैला बग्दै झर्दा नाली थुनिएको हो । यस्तै, आसपासका स्थानीयले सागसव्जीमा हाल्न र गाईवस्तुलाई खुवाउने प्रयोजनकालागि नालीभित्रबाट दर्जनौं पाईप छिराएर खोल्सीको पानी लगेका छन् । नालीभित्र छिराएर टाँगेको त्यही पाईप गुजुल्टो परेका कारण पनि नाली थुनिन सहयोगी बनेको हो । खोल्सीमा आवश्यकताभन्दा सानो नाली राखेका कारण भलबाढी सहजै थुनिएको नजिकै समृद्धि आरन तथा ग्रिल सेन्टर सञ्चालन गरिरहेका गंगा बिश्वकर्मा बताउँन् । ‘भदौ २० गतेको जस्तो वर्षा भयो भने फेरी पनि नाली थुनिने सम्भावना छ,’ बिश्वकर्माले भने, ‘नालीको प्वाल नै सानो छ । त्यो ठाउँमा दश मिटर जतिको पुल नबनाए समस्या दोहोरिरहने छ ।’

    सम्बन्धित समाचार