शनिवार, भाद्र २२ २०८१
भीम राई
अक्सफोर्डसायर । २२ भदौ । कैयन बिजुलीका खम्बाहरु, बडेबडेमाका रुखका झ्याङहरु, हरिया फाटहरुमा चरिरहेका तर आफ्नो जिउभरि उन बोक्न नसक्ने लाम्काने भेडाका बथानहरु अनि तिनै भेडाका हुल सँगसँगै चरिरहेका ह्यारफोर्डसायर गाईहरु र दमसाइलो जमिनमा पहेँलपुर पाकिरहेका गहुँका खेतिपातिहरु छिचोल्दै छिचोल्दै बेलायती रेलवे कम्पनी क्रस कन्ट्रिको एउटा रेल म्यानचेस्टर पिकाडेलीदेखि एकसुरमा ओरालै ओरालो लागेर अङ्ग्रेजी दक्षिणी सहर बर्नमाउथ जाँदै गरेकोछ ।
रेलभित्र असङ्ख्य यात्रीहरु छन् र सोहि रेलमा हामी पनि छौं । अझै खाट्टी कुरो गर्ने हो भने म र मेरी अर्धाङ्गिनी तारासँग छौं । अनि तिनै बिजुलीबाट चल्ने रेललाई हामीले बानबरी टाउनदेखि ग्रिनविच समय ९ बजेर ५९ मिनेट जाँदा पक्रेर अक्सफोर्ड, रेडिङ, बेडजिङस्टोक, विनचेस्टर सहरहरु पार गर्दै-गर्दै साउथाम्पटन केन्द्र अड्डा (सेन्ट्रल स्टेसन) आइपुगेका छौं ।
रेल यहाँ आएपछि पहिले चुइइ गर्दै आवाज निकाल्छ अनि घरर गर्दै रोकिन्छ । रेल रोकिएपछि हामी सहयात्रीहरुलाई होहल्ला हुन्छ भनेर आसन गरिरहेको स्थानदेखि बिरालो चालमा लुसुक्कै उठछौं । अह ! एक आपसमा चुइक्कैबोल्दै बोल्दैनौं । तर बसिरहेको ढाउँदेखि उठिसकेपछि सुस्तरि अगाडी बढेरढोकाको छेउमा पुग्छौं । ढोकाको नजिकै बायाँ कुनामा सुटकेसहरु राख्ने स-साना कोठाहरु छुट्याइएर राखिएको छ । हो, तिनै बायाँतिरको कोठामाचाहिँ हाम्रो सुटकेसहरु अरुको सुटकेसहरुसँग मिसिएर मज्जाले आराम गरिरहेका देख्न सकिन्छ । म त्यहाँ पुगेपछि सबैभन्दा पहिले ताराको सुटकेस तानेर रेलभित्र मानिसहरु हिँड्ने सानो बाटोमा उचालेर थपक्कै राख्छु अनि मेरो सुटकेस निकालेर तान्दैतान्दै ढोका छेउमा पुग्छु ।
ढोकाको छेउमा पुगेर एकचोटी मुन्टो पछाडी फर्काउँछु र तारा आएकी छन् वा छैनन् भनेर निश्चित गर्छु । तर सोहि बेला, “जानु भो कि छुट्टी ?” अनायसै ताराको मुख खोलिन्छ ।
“किन र ?” भन्छु ।
“यसरि घरिघरि सुटकेस तानि हिँड्नु पर्छ नि त,” फेरि दोश्रोचोटि बोल्छिन् ।
उनको कुरो सुनेपछि मलाई एक शब्द बोल्न मन लाग्दैन । तर सोहि समयमा मभन्दा अलिकति अगाडि उभिरहेकी एक जना अङ्ग्रेजी महिलाले टक्क स्विच दबाएर रेलको ढोका खोल्छिन् । ढोका खोलिएपछि उनी मेरो अगाडि अगाडि रेलदेखि निस्किन्छन् र म उनकी पछिपछि बाहिर जमिनमा निस्कँन्छु ।
बाहिर जमिनमा निस्केपछि हामी आ-आफ्ना सुटकेसहरु गुडाउँदै गुडाउँदै केहि अगाडी बढ्छौं । तर दुई चार कदम हिँडेपछि, “खै खै ! कति बजे छ ?” भनेर मलाई जान्ने उत्सुकता लागेर हुन्छ । त्यसपछि हातमा बाँधिरहेको घडीको मुहारलाई एक पटक राम्ररि हेर्छु । आक्कलझुक्कल लगाउने मेरो त्यो घडी बिलकुलै नयाँ हो भन्दा खास्सै फरक पर्दैन । हुन त जापानमा किनेको भएता पनि स्वीटजरल्याण्डमा बनेको उक्त्त घडी ठेक्कै कुन मितिमा बनेको हो । मलाई यकिन त भएन । तर त्यसको आधिकारिक रजिष्टर चाहिँ ठीक चार महिना अगाडी जापानमा गरिएको थियो भन्ने प्रमाणपत्र मसँग साक्षी छ । तिनै घडीलाई एक महिना अगाडीमात्र छोराले, “तपाइँको जन्मदिनको उपहारहो र जिन्दगीभरि बाँधि रहनु है,” भनेर टोकियोदेखि मायाको चिनो ल्याइदिएको थियो ।
मेरो बायाँ नाडीमा बाधिएको तिनै रोलेक्स (सवमरिनर) ले बिहानीको समय ठीक ११ बजेर ४५ मिनेट गएको देखाइ रहेको छ । मैले घडीमा समय हेरिसकेपछि यो बेलायती रेलको समयलाई पनि मान्नै पर्छ जस्तो लाग्छ । किनभने रेलले एक मिनेट पनि तलमाथि नगरि हामीलाई यहाँ ल्याइ पुर्याएको रहेछ ।
त्यहाँदेखि क्रमशः अगाडी बढ्दै जाँदा म ताराभन्दा थोरै अगाडी अगाडी हुँदै जान्छु र हाम्रो बिचमा दुरि बढ्दै जान्छ । हुनत हामी यसरि हिँड्ने क्रममा फरक फरक दुरिमा हिँड्ने चलन निक्कै पुरानो नै हो । जहिले पनि ऊ मभन्दा पाँच दश गज पछाडी परि हाल्छिन् । उनीसँग यसरि छुट्टिएर थोरै टाढा पुगेपछि म यसो दायाँ बायाँ नजर मार्दै हिँड्छु । यतिबेला आ-आफ्ना गन्तब्य पथमा क्रमशः लम्किरहेका अनगिन्ति अङ्ग्रेजी मानिसहरुको गरगर्ति हुललाई मज्जाले देख्न सकिन्छ । तर कुनै समय मभन्दा अगि र कुनै समय मभन्दा पछि हिँड्ने अङग्रेजी स्वास्नीमान्छेहरुको ताँती देख्दा झन मलाई रमाइलो लाग्छ ।
६ जुलाई २०२४ को दिन छ । अझै बेलायती जुलाई महिना भनेपछि मौसम एकदम सफा र सुन्दर हुन्छ । निलो आकाश हरियो जमिन । अझ यसो भनौ त्यतिबेला साउथाम्पटन सहरको छाँतीभरी मध्यान्हको घाम निस्फिक्रिसँग खुलेरै लागिरहेको छ । यति राम्रो मौसम भएको समयमा उमेर पाकेर केस सेताम्मे भइँसकेको मान्छे भएपनि अङ्ग्रेजी युवतीहरुको अर्धनग्न वस्त्रलाई देख्दा कस्तो कस्तो अनुभूति हुन्छ । हुन त मेरो पूर्णतय वैंश ढलिसकेको हुनाले इन्द्रियाहरु थाकेर लखतरण परिसकेका छन् तैपनि कुनै कुनै समय बीस बाइसे ठिटाहरुका रहर जस्तै शरिरभित्रदेखि नै उखरमौलो हुँदै रहर पलाएर आउने गर्छ ।
यति धेरै अङ्ग्रेजी युवतीहरुको रमाईलो दृश्य देखेपछि चाउरी परेको मेरो गाला झन धेरै चाउरी पार्छु र एकझमट पछाडी फर्केर तारालाई हेर्छु । बिचरी तारा एक हातमा हाते झोला र अर्को हातले मरिमरि आफ्नो सुटकेस तानेर फत्रक्कै गलेकी जस्ति देखिन्छिन् । तैपनि उनी छुट्टी मनाउन बिदेश हिँडेकी हुनाले मनभरिदेखि नै एक मुरी खुसी छिन् ।
हुनत उनको खुसी तौलिने मापन अहिलेसम्म केहि बनेको छ जस्तो लाग्दैन । तैपनि म कुनै बेला मुरी र कुनै बेला मनले मापन गरिदिन्छु । तर छुट्टी मनाउन जाँदा खुसि नभएर पनि के गरोस् र बिचरी ? नत्रभने बेलायतमा बसिन्जेलसम्म चेन होटल प्रिमियर इनको शौचालयहरुले उनलाई कहिले छाड्ने होइनन् । आखिर जिन्दगीको परिभाषा भनेको पनि उहिँ कुहिरेले शौचालयमा दिसा पिसाव गरेर पानी नतानेको तातातो मानव मलमुत्रको दृश्य मात्र हेर्ने पनि त होइन भन्ने लाग्छ ।
अ....उनलाई एकाध हेर्न छाडेपछि मेरो पापी आँखाहरु तिनै अर्धनग्न बेलायती षोड्शीहरुको शरिरहरुमा पुगेर ठोकिन्छन् । अनि उनीहरुलाई दोश्रो चोटी त्यसरि हेरेपछि म कल्पनाको सागरमा चुर्लुम्मै डुब्छु र ती आइमाईहरुले किन त्यस्तो लुगा नलावस् त आफैले आफूलाई प्रश्न गर्छु । तर मेरो अर्को मनले भन्छ– यहाँ सधैभरि जाडोसिबाय अरु केहि हुँदैन । अनि त्यस्तो लुगा पहिरन गर्न उनीहरुले बर्षौ बर्षौ कुर्नु पर्छ । त्यसैले अवसर मिलेको बेला देखाई हाल्छन् नि भन्छु । तर यतिबेला त्यति लामो समयसम्म मेरो ध्यान उनीहरुसँग मात्र केन्द्रित गर्न सक्तैन/सक्तिन विचैमा भङ्ग गर्छु र पतलुङ्को दाहिने गोजिदेखिहत्तपत्त मोबाइल निकाल्छु अनि यादुलाई फोन गर्छु, -“यादु ! हामी रेल अड्डादेखि ठीक बाहिर निस्कने स्थान (एक्जिट पोइन्ट) मा तिमीहरुलाई पर्खेर बसेको हुन्छौ है,” सानो स्वरमा त्यति भन्छु । प्रति उत्तरमा उनले, “हुन्छ, हुन्छ,” भन्छ ।
यादु मेरो अति परम मित्र हो । हाम्रो प्रथम भेट सन् १९८४ मा हङकङमा भएको थियो । हुन पनि लगभग पैतिस चालिस बर्ष अगाडीको कुरो हो । त्यसबेला दुवैजना अल्लारे ठिट्टाहरु थियौं । हरेक सप्ताहन्तमा हङकङको सर्वाधिक लोकपृय घर चुङकिङ मेन्सन नजिकै रहेको बेलायती भट्टि पशल बहुला कुकुर (म्याड डग) को एका कुनामा बसेर धित मरिन्जेल बियर पिउथ्यौं । बियरले रमरम भएपछि सरर पानीमा ओठिएको चामलको तिर्सना लाग्थ्यो । त्यसैले त्यहाँदेखि खुत्रुक्क निस्केर खुट्टा बाङ्गो टिङ्गो बनाउँदै बनाउँदै खानाको खोजिमा नाथन रोडको पेटी पेटी हिडेर टेम्पल स्ट्रिटभित्र छिर्थ्यौ ।
काउलुनमा अवस्थित उक्त्त टेम्पल स्ट्रिट एउटा विचित्रको रात्रीकालिन बजार थियो । त्यहाँ कसैकसैले लुगाफाटा त कसैले जुत्ता चप्पल अनि कसैले बिजुलीको सरसमान र गरगहना बेचिरहेको दृश्यवलोकन गर्न मिल्थ्यो । त्यो बजारमा मलाई सबैभन्दा अचम्म त आँधावैसे चिनिया आइमाई मान्छेहरु दुई फिटे मूढामा आरामले बसेर क्वाङकी क्वाङकी भन्दै आफ्नो शरिरको ब्यापार गरिरहेको दृश्य देख्दा अचम्म लाग्थ्यो । हुनत हामीलाई कसैको शरिर खपत गर्नु सर्नु थिएन । बरु तिनै सडक पेटीमा प्लास्टिकको टुक्रुके कुर्सीमा बसेर भुलभुल उम्लिरहेको गाईगोरुको आन्द्राभूँडी र मज्जाले पिसिएको लसुनको झोल मिसिएको गार्लिक चोइसाम सब्जीसँग सिन्काले घोच्दै घोच्दै भात (सिफान) खान्थ्यौ । समयले कोल्टे फेरेर जब मध्यरात हुन्थ्यो तब स्टारफेरीको एउटा थोत्रो पानी जहाज (फेरी) चढेर लोखार्ट रोडको सेभेन इलेभेनमा पुगेर दोश्रो चरण बिसाउँने गर्थ्यौ ।
तिनै हङकङ टापुमा जब जब रात ढल्कदै जान्थ्यो तब तब हुलका हुल वैसालु फिलिपिनो युवतीहरुको उदय हुन्थ्यो । भैरे - यस्तो अवसर घरिघरि आउँदैन भन्थ्यौं र हाम्रो नजिक नजिक देखा परेका तरुनीहरुसँग भाँचिएको अङ्ग्रेजीमा परिचय सुरु गर्थ्यौं । त्यसपछि एकअर्कामा थोरै आत्मा साटिएपछि अङ्गालो मार्दै मार्दै पुसिक्याट डिस्कोथेकमा छिर्थ्यौ र अन्धो गायक स्टेभी ओन्डरको (पार्ट टाइम लभर) गितमा कोमल छातीहरु र ओष्ठहरु जोडेर नाँचेपछि मात्र दिल खुसी हुन्थ्यो ।
त्यसरि रातभरि डिस्को नाँचेर लखतरण भएको शरिर लिएर डिस्कोथेक बाहिर निस्कँदा बिहानी पखको मिरमिरे उज्यालो हङकङ हारबरमा खस्दै गरेको सुन्दर दृश्य देखिन्थ्यो । तर हामी चाहिँ लानक्वाइ फोङ्को ओरालो गल्लीमा रातभरिको अनिदो, भोक, प्यास र जाडको धङधङ्गिसँग आफ्नो हरेक पाइतालाहरुले बनाएका डोबहरु गनिरहेका हुन्थ्यौं । लाग्छ – स्वर्णिम समय थियो र जिन्दगी पनि स्वर्णिम । तर अहिले त्यो समयलाई स्मरण गर्दा कताकता सपनाहो कि वा बिपना हो जस्तो मात्र लाग्छ ।
खयर बितेको समय भनेको बितेको नै हो । केवल त्यसबाट पाठ मात्र सिक्न सकिन्छ । यादुसँग चिनजान भएको पनि धेरै भइँसकेको छ । अझै हामी दुईजना बर्षौ बर्ष एउटै पल्टनमा काम गरेको इतिहासहरु पनि जिउँदै छन् । जस्ले गर्दा दुःखमा वा सुखमा भातृत्वको प्रेम भयो । एकदम मिल्ने साथि भइयो । त्यसपछि हाम्रो समय नदीको पानीझै अविरल बहदै गयो । तर जिन्दगी भरि जतासुकै जे गरेको भएता पनि उनको लगनगाँठो मेरी कान्छी सालीसँग बाँधिएपछि हाम्रो त्यो सम्बन्ध झन प्रगाढ बनेर गयो ।
वास्तवमा भन्ने हो भने मेरो घर खोटाङर उनको इलाम हो । भौगलिक दुरी टाढा भएकोले खोटाङ र इलामको मानिसहरुका जीवन पद्दति अलिक फरक फरक प्रकारका छन् । खोटाङको पानीले अलिक बढि नै गायक वा गायिकाहरुको जन्म दिन्छ भने उता इलाममा मेहनति हातहरुको जन्म दिन्छ । लाग्छ - इलाम छ र पो चिया छ । नत्रभने हरेक बिहान उठ्ने बितिक्कै बुईपा खोटाङबाट सगरमाथाको दृश्य हेर्दै हेर्दै कन्यामको तीनपाते चिया पिउन के पाइन्थ्यो होला र ? तर कसो कसो इलामभन्दा झापा झन सुबिधाजनक लागेर अहिले उनीहरुको सपरिवार झापा बसाइँ सरेका छन् । उनीहरु झापा झरेपछि म उनको नयाँ घर बिर्तामोड, झापा एकपटक पुगेको छु ।
तर अहिलेको कुरा गर्दा चाहिँ उनीहरु लगभग अठार बिस बर्ष यता दक्षिणी वेल्सको एउटा सानो गाउँ क्लेनेथ्लीमा बस्दै आएका छन् । अनि तिनै गाउँ क्लेनेथ्लीदेखि आज बिहान सबेरै एउटा रेल समातेर उनीहरु रेडिङ सहर आएका थिए । त्यसपछि उनीहरु पनि हामीले यात्रा गरिरहेका रेलमा नै चढेका थिए । तर रेलमा निक्कै धेरै डिब्बाहरु भएको हुनाले र फरक फरक डिब्बामा बसेका हुनाले हामी एक आपसमा भेट हुन सकेका थिएनौ ।
केहिबेर अगाडीदेखि रेल अड्डाको ठीक बाहिर निस्कने मूख्य ढोका (एक्जिट)मा तारा र म उभिरहेका छौं । नभन्दै एकछिनपछि यादु र उनकी जीवनसँगिनी ढलक्क ढलक्क ढल्किदै हाम्रो सामु आइपुग्छन् । मधुर मुस्कान सहित उपस्थित भएकी उनको जीवन सङ्गिनी अथवा मेरी कान्छी सालीको नाम चाहिँ दया हो । साच्चै साच्चै भन्ने हो भने ती जोडीको नाम पनि सार्है मज्जाले मिलेका छन् – यादु अनि दया । यदि नेपालमा हुँदो हो त उनीहरुको नाम सुनेर भगवानले मिलाइ दिएको होला है भनेर मानिसहरु भन्थे होला ? तर अहिले हामी नेपालभन्दा ठीक बाहिर छौं । त्यसैले यहाँ कसैले केहि भनेका छैनन् । खयर जे सुकै होस् । उनीहरु हाम्रो सामु आएपछि हाम्रो दिल खोलेर नै भलाकुसारी हुन्छ । किनभने हामी निक्कै लामो समयपछि यसरि स-शरिर भेटघाट गरेका थियौं ।
भलाकुसारि भएको एकछिनपछि, “अब ! जाउँ है,” सबैले सुन्ने गरि भन्छु ।
मेरो कुरो सुनेर उनीहरु आ-आफना सुटकेस गुडाउँन थाल्छन् र मेरो पछिपछि आउँछन् । त्यहाँदेखि थोरै अगाडी बढ्छौ र रेलदेखि बाहिर निस्कने ढोका पार गरेर बाहिर निस्कन्छौं । त्यहाँदेखि बाहिर निस्केपछि एक-दुई अखेटा तल ओर्लेर जमिनको सतहमा झर्छौं । जहाँ मानिसहरुले पालैपालो ट्याक्सि समात्दै आफ्नो गन्तब्यतर्फ लागिरहेको दृश्य देख्न सकिन्छ । अलिक अगाडी हिँडेपछि मध्यान्हको सूर्यको प्रकाशले साउथाम्पटन सहर टलक्कै टल्कदा हृदयदेखि नै स्फुर्ति जागेर आइरहेको महसुस हुन्छ । यतिबेला यस्तो लाग्छ । यो प्रकृतीको नियमलाई पनि जानेर वा नजानेर मान्नै पर्छ । हेर ! यस्तो टण्टलापुर घामको सट्टा अध्यारो हुँदै हावाहुरिको साथमा कोदे पानी परेको भए कति बिरमाईलो दिन हुन्थ्यो होला भनेर म मनमनै कल्पना गर्छु ।
हुन त प्रकृतीले जतिसुकै साथ दिएपनि वा नदिएपनि मानव जीवन कहिलै सन्तुष्टी हुँदै हुँदैनन् । किनभने स्वभावैले मानिस लोभि, पापी र इर्ष्यालु हुन्छ । जस्तै यतिबेला सूर्यको प्रकाशले धर्तीलाई ओथारो बसेको कुखुरीले झै मज्जाले कोरली रहँदा मेरो आँखा तिरिमिरी तिरिमिरी भएको आभाष हुन्छ । त्यसै त भेरिफोकल चश्मा लगाउने मान्छे, म । कुनै पनि चिजलाई हेर्दा बिस्तारै हेर्नु पर्छ नत्रभने स्पष्ट देख्न सक्तैन/सक्तिन । अहिले पनि टण्टलापुर घामको प्रकाशले मेरो आँखाको थिर राम्रोसँग जान सकिरहेको छैन् । त्यसैले आँखामा सिउरीरहेको चश्मा एकचोटी निकाल्छु र रुमालले सर्लक्कै पुच्छु ।
चश्मा अलिकति सफा भएको महसुस भएपछि ट्याक्सिहरुको पङ्त्तिलाई राम्ररि नियाल्न थाल्छु । तर पङ्त्तिदेखि थोरै टाढा एक्लै पार्क गरेर राखिरहेको एउटा ठूलो ट्याक्सिमा पुगेर मेरो नजर रोकिन्छ । त्यसलाई देखेपछि सबैले सुन्नेगरि, “एकछिन है,” भन्छु र मेरो सुटकेसलाई त्यहिँ छाडेर त्यो ट्याक्सिको नजिक जान्छु । त्यहाँ पुगेर चालकलाई, -“हामी जम्मा चारजना छौं र हामीसँग चारवटा सुटकेसहरु पनि छन् । त्यसैले जुन पायो त्यो ट्याक्सिमा हाम्रो समानहरु अटाउदै अटाउदैनन् । अझै हेर्नोस न सबैभन्दा अगाडी लागिरहेको ट्याक्सि अलिक सानो पनि रहेछ । के तपाइँ हामीसँग जान मिल्छ होला ?” उनलाई बिनम्रता पूर्वक सोध्छु ।
प्रति उत्तरमा, “कहाँ मिल्छ र ? त्यस्तो मिल्दै मिल्दैन । सबैभन्दा अगाडीको चालकलाई गएर भन्नोस । यदि उनको ट्याक्सिमा समान अटेन भनेमात्र म लगिदिन्छु । नत्रभने त्यो नै चलाउनु पर्छ,” साउथाम्पटन हारबरदेखि आएको मन्दमन्द हावाले पाकिस्तानी चालकको कुर्ता सलवार मात्र होइन । यतिबेला जम्मै दार्हि हल्लिन्छ, जुङ्गा चल्छ र त्यस्तो जबाफ फर्किन्छ ।
उनको जबाफ सुनेर, “ल ल ! ठीक्छ । भै हाल्यो,” भन्छु । खासमा खास भन्ने हो भने अलिक महङ्गो हुन्छ भनेर मलाई दुईवटा फरक फरक ट्याक्सिहरु लिएर बन्दरगाह जान पटक्कै मन परिरहेको थिएन। एउटा ट्याक्सिमा खाँदखुँद गरेर गइयो भने दश पाउण्ड जति बचत हुन्थ्यो भन्ने मेरो विचार थियो । त्यसैले उनको कुरो सुनेपछि एकछिन भएपनि मेरो मन खिन्न भएर आउँछ ।
त्यहाँदेखि सरासर फर्केर ताराको नजिकै पुग्छु । तर त्यहाँ पुग्ने बितिक्कै, - ‘के भो ! महाराज ? अनुहार त तीन चाउरी पार्दै आउँनु भो त ? तपाइँले भनेको ट्याक्सिले मानेन कि कसो ?” टाढैबाट मेरो बिग्रेको अनुहार देखेर उनले मलाई खिसिटिउँरी गर्छिन् ।

नभन्दै हाम्रो बिहे गरेकै सैतिस बर्ष भइसकेको छ । त्यसैले मलाई उनको आनीबानी सबै कण्ठस्त छन् । तैपनि यादु र उसको धर्म पत्नी साथैमा थियो जस्ले गर्दा थोरै सर्मिन्दासहित, “जाबो ! पठानले मान्दै मानेन हौ,” संक्षिप्तमा तर अलिक रुखो जबाफ फर्काउँछु । त्यति भनिसकेपछि हामी सबैजना सुस्तरि हिड्दै हिड्दै सबैभन्दा अगाडीको ट्याक्सिमा पुग्छौं । त्यहाँ पुगेर ट्याक्सिभित्र बसिरहेको चालकलाई, “अरे हौ जिउँ । यतिका धेरै सुटकेसहरु तपाइँको गाडीमा अटाउन सक्छ के होला ?” मेरो कुरो सुनेर चालकट्याक्सिदेखि फुत्त बाहिर निस्कँन्छ । बाहिर निस्केर सरर एक झलक हाम्रो समानहरु हेर्छ । अनि मेरो आँखामा आँखा जुधाउँदै, “किन नअटनु मान्छे ! सजिलै अटाउँछ,” भन्छ । यसो हेर्दा मान्छे एकदम अग्लो रहेछ तर भकभक भकभक गरेर बोल्ने भएकोले थुक उछिट्याएर मेरो गालासम्म ल्याउँछ ।
मैले भगभके चालक कर्दिस रहेछ भनेर हेक्का काटें । किनभने जिन्दगीमा निक्कै धेरै कर्दिसहरुसँग हेलमेल गरेको हुनाले “यो पनि कर्दिस चालक रहेछ,” भनेर उसको गन्धदेखि नै चाल पाउँछु । त्यसपछि उनले सबै सुटकेसहरु गाडीको डिकीमा थपकथपक मिलाएर राख्छ । तर मलाई यहाँ चालकको इति बृतान्त कुरो गर्नुभन्दा पनि एउटै ट्याक्सिमा सबै समान अटाएपछि अलिकति भएपनि पैसा बच्यो भनेर प्रफुल्ल मुद्रामा हुन्छु ।
उनले गाडीमा सामान राखिसकेपछि म दायाँ हातले ढोकाको ह्यान्डल तानेर ट्याक्सिको ढोका खोल्छु । तर अचानक घाँटीमा खकार अट्किरहेको आभाष हुन्छ । एकचोटी कस्सेर ख्वाक्क खोक्छु र खकारलाई श्रीमतीदेखि पाँच गज टाढा पुग्नेगरि फालिदिन्छु । हुनत बिदेशमा बसिसकेपछि यसरि असभ्य तरिकाले खोक्न त नहुने हो, तर के गर्नेर ? लगभग ४१ बर्षसम्म बिदेशमा बसेर सभ्यता सिकेको मान्छे अहिलेसम्म दिखुवा खोलामा माछा मार्न जाँदा खाकखुक गर्ने नेपाली बानि परेको चट्ट छाड्न सकिरहेको छैन् । अबत झन के सकिन्थ्यो होला र ? तैपनि यस्तो नराम्रो बानिले मलाई जिन्दगीभर घरिघरि सर्मिन्दा बनाइरहेको छ ।
तर यतिबेला सबै पुरानो कुरा भुलेर अगाडीको सिटमा मज्जाले आसन गर्छु । त्यसपछि, - ‘कृपया ! ओसन टर्मिनलमा लानोस है,” चालकलाई बिनम्रता पूर्वक अनुरोध गर्छु । कर्दिस चालकले मेरो कुरो मज्जाले नै बुझ्छ त्यसैले टाउको हल्लाएर जबाफ फर्काउँछ ।
ट्याक्सि चालकले मेरो कुरो सुन्ने बितिक्कै साउथाम्पटन रेलअड्डादेखि ओसन टर्मिनलको लागि यात्रा आरम्भ गरिहाल्छ र त्यहाँदेखि पहिले दाहिनेतिर घुम्छ । मूख्य सडकमा पुगेपछि उसले एक्सिलेटर सरर थिच्दै क्रमशः गियर बढाउँदै लान्छ । यसरि ट्याक्सिको गति बढ्दै जाँदा मेरो ठीक पछाडी सिटमा मज्जाले आराम गरिरहेकी मेरी कान्छी सालीले मसिनो स्वरमा, “भेना,” भनेको सुनिन्छ ।
उनको बोलि सुनेपछि, “के हो ? मान्छे पनि अलिक सानी नै छौं । झन बोली पनि सानो न सानो कोईलीको जस्तै छ त कान्छी ?” जबाफ फर्काउँछु ।
“अरु त के हुनु नि ? अब छुट्टी सुरु भयो । एकदम धेरै मनोरन्जन गर्नु पर्छ । जेनकिन्स रोटी (बेकरी) कारखाना वेल्समा भाँडाकुँडा माझ्दा माझ्दा हातका रेखाहरु लोप भइँसकेका छन् । अब यसलाई चैत वैशाख महिनामा रुखहरुको पातले पाहुलो फेरे झै फेर्न लगाउन पर्छ होला ?” यसचोटी स्वर अलिक बढेर आउँछ ।
“हो हो, कान्छी ! छुट्टी हो छुट्टी । एकदम धेरै मनोरन्जन गर्नु पर्छ । अनि अर्को कुरो तिमीलाई थाहा छ के ? नर्वेको सबैभन्दा सुन्दर स्थानहरु जस्तैः- पुलपिट ढुङ्गा र सात जना दिदी बहिनी झरना पुगेको बेला टिकटक वा फेसबुक लाईभमा गएर संसार भरिका नेपालीहरुलाई देखाउनु पर्छ,” हास्दै हास्दै त्यसो भन्छु ।
“हो नि हौ भेना ! एकदम सहि हो । लाइभ दिनु पर्छ । अनि सुन्नोस न । हाम्रो त पानी जहाज यात्रा पनि बल्ल बल्ल दोश्रो चोटी त हुँदैछ । तपाइँहरुको त सोर्ह सोर्ह चोटी भइँसक्यो, होइन र ?”
“हो नि, भइसक्यो है भइसक्यो । यो पानीजहाजहरुमा धेरै लगानि भइसक्यो । तर कोहि कोहि बेला त यात्रा गर्दा गर्दा यस्तो लाग्छ । जाबो यो संसार पनि खास्सै ठूलो त छैन रहेछ । किनभने यात्राको क्रममा यो संसारलाई कति चक्कर लगाइयो – लगाइयो । कहाँ कहाँ पुगियो ? के के देखियो ? के के देखिएन ? अँ साच्चि ! तिमीलाई एउटा कुरो थाहा छ कि छैन् कुन्नि ? ‘मानिसले ठूल्ठूलो विचार पैदा गर्नको लागि नयाँ नयाँ स्थान पुग्नै पर्ने रहेछ,’ त्यसैले मलाई त अझै मङ्गल ग्रह पार गरेर अस्टोरोइड पेटी हुँदै हुँदै ब्रम्हाण्डको पल्लो छेउँ कुइपर पेटीसम्म जान रहर लाग्छ । तर के गर्नु - सकिए पो ? तैपनि मानव द्वारा निर्मित भोयजर एक र भोयजर दुई जति टाढा पुगेका छन्, मानव जीवन आफै पनि त्यहाँसम्म पुगेको भए झन कति ज्ञान धेरैपाउन सकिन्थ्यो होला ?”
“हुन त हो । तर यता सुन्नोस् न - भेना ? अनि हामी त्यति सार्है धेरै घुम्न जान पनि नहुने रहेछ । नेपालीहरुले त कस्तो कस्तो कुरो काट्ने रहेछन् । हामीलाई गोरा पल्टिने भन्ने रहेछन् । यसरि फनफनी संसार घुमेर पैसा खर्च गर्नु भन्दा त पशुपत्तिमा बसेको नाङ्गो जोगिलाई पैसा दिन्थे भन्दा रहेछन् – मान्छेहरु । हेर्नोस न हामी पनि हङकङ, सिङ्गापुर, सिडनी, पेरिस र रोम कता कता पुग्यौं, पुग्यौं । अनि फर्केर घर आउँदा त क-कस्ले के के भनेको सुनेर खुत्रुक्क पर्यौं ।”
“कान्छी ! कस्ले कस्लाई के भन्छ । कस्ले कस्लाई के भन्दैन । वास्ता गर्ने होइन के ? छ्या ! छाडिदेउ त्यस्तो कुरो । कसैको वास्ता नगुर्नु, क्या । ए बाबा ! एक बारको जुनी त हो । त्यसैले मज्जाले बिताइयो भने यो जुनी नै काफि छ । अनि अर्को जुनी पाइँन्छ कि पाइन्दैन कसैलाई थाहा छैन् ? कि तिमीलाई थाहा छ र ? के थाहा हुन्थ्यो ? हेर ! एकचोटी मरेर गएपछि फर्केर आएको मान्छे अहिलेसम्म कसैले भेटेका छैनन् । अनि ‘मृत्युमात्र एउटा सत्य हो । अरु सबै भ्रम हो । त्यसैले मृत्युले अहिलेसम्म कुनै प्राणीलाई धोका दिएको छैन् ।’
“खै को नि हौ । म त त्यस्तो कुरो धेरै जान्दिन पनि ?”
“कान्छी ! त्यहिँ भएर त भन्दैछु । जीवन भइन्जेलसम्म हाँसिखुसिको साथ जिउँने हो । अनि अर्को कुरा पनि सुन । सबै मानिस चाहेर पनि धनि हुन सक्त्तैनन् । सबैले चाहेर पनि सुखि हुन सक्त्तैनन् । तर ‘आफूसँग जे जति छ त्यसैमा सन्तोष गर्ने हो र जे गर्न मन लागेको छ, त्यो गर्ने हो ।’ जस्ले जे सुकै भनोस् । आ- भनि रहोस् । किनभने मानिसको दिमागमा जति ज्ञान छ उसले त्यति नै दिने हो र त्यति नै भन्ने हो,” बुझ्यौं ।
“अब बुझ्नु खोज्दै छु, तपाइँको भाषण - भेना ।”
“भाषण शासन केही पनि होइन । कान्छी ! मानिसले जति जति नयाँ कुरो देख्छ, उति उति उसको ज्ञानको बृध्दि हुन्छ । जति ज्ञान बढ्छ, त्यति अशल मान्छे भइन्छ । मान्छे भएर जन्मेपछि अशल मान्छे हुने प्रयत्न गर्नु पर्छ । तर त्यसको लागि यात्राको आवश्यक पर्छ । अन्ततः अरुले जे सुकै भनेता पनि आफ्नो जीवनको उदेश्य पुरा गर्नको लागि आफैले निर्णय गर्नुपर्छ । त्यसैले खुरुखुरु यात्रा गर्दै जाने हो र नयाँ नयाँ ज्ञान बटुल्दै जाने हो । अनि सोही ज्ञान आफ्नो सन्तानहरुलाई सिकाउँदै लाने हो । यदि त्यसो नगरेर अरुले गरेको निर्णय मान्छौ भने तिमी आफ्नो जिन्दगी होइन, अरुको नै जिन्दगी जिइँरहेको हुनेछौं । त्यसकारण मानिस भएर जन्मेपछि आफ्नो जिन्दगी जिउँने प्रयत्न गर्नु पर्छ । अरुको होइन ?”
“भो भो छाडिदिउँ त्यस्तो कुरो बरु यता सुन्नुहोस । सबै मान्छे एउटै हुँदै भइँदैन । तरजे सुकै भएपनि म तपाइँलाई बोलेर जित्दिन क्यारे ?”
त्यसपछि कान्छीको मुख बन्द हुन्छ । यादु र तारा मुखमा पानी हालेर बसेको मान्छेहरु जस्तै हाम्रो कुरो सुनेर यतिबेलासम्म चुपचाप बसिरहेका छन् । उनकी पनि मुख बन्द भएपछि हामी ओसन टर्मिनल भवनको सामुन्ने रहेको कार पार्कमा पुग्छौं । तर त्यहाँ पुगेर ट्याक्सि राम्ररि रोकिन पाउँदा नपाउँदै,- “आ-आफ्नो राहदानी र टिकट साथमा राख्नु होला ? अनि ठूल्ठूलो सुटकेसहरु उ त्यता लानोस् है,” कारपार्कको छेउमा रहेको पेटीमा उभिएर बन्दरगाहमा काम गर्ने भरियाहरुले छाडेको त्यस्तो आवाज अति प्रष्ट सुन्न सकिन्छ । हाम्रा अगाडी र पछाडी आँखाले देखिन्जेलसम्म कार र ट्याक्सिका लरर लाइन देखिन्छ । यतिक्कैमा भरियाहरुको कुरो सुनेर, - “होइन ! काम त यो भरियाहरुको पो ठीक रहेछ,” यादुले मसिनो स्वरमा बोल्छ ।
उनको कुरो सुनेर म एकचोटी फिस्स हाँस्छु तर केहि बोल्दिन । ट्याक्सि पूर्णतय रोकिएपछि चालकसँग मिलेर डिकीदेखि सुटकेसहरु निकाल्छौं र नजिकै रहेको कारपार्कको पेटीमा राख्छौं । सुटकेसहरुले पेटीमा मज्जाले आराम गर्न पाउँदा नपाउँदै दुईजना अङ्ग्रेजी भरियाहरु सुटकेसको कानकानमा कोठा नम्वर लेखिएको लेबल (लगेज ट्याक) छ कि छैन भनेर हेर्न थालि हाल्छन् । त्यो लेबल पानीजहाज कम्पनीले बिधुतिय पत्रमार्फत हामीलाई अग्रिम पठाएको थियो । जस्लाई छापेर हामीले सुटकेसहरु समाउन मिल्ने बिँड-बिँडमा झुन्डाएर राखेका थियौं । लेबलमा हामी बस्ने पाँचौ तलाको कोठा नम्वरहरु र अचानक पानी जहाजमा आगो लागि हाल्यो भने कुन स्थानमा भेला हुने हो भनेर बिवरणहरु लेखिएका थिए ।
हिँड्दै हिँड्दै अगाडी बढेर हामी भरियाहरुले भनेको स्थानमा सुटकेसहरु लगेर छाडिदिन्छौं । तर सोहिबेला, - “भेना ! ओसन टर्मिनल लेखिएको साइन रहेछ । त्यसको अगाडी एक झलक तस्विर जावस है,” कान्छी सालीले मधुरो स्वरमा अनुरोध गर्छिन् । अङ्ग्रेजी जलाशयदेखि निस्केको हावासँग मिसिएर आएको उनकी अनुरोध सुनेर, - “ल ल जति तस्विर खिचे पनि भयो । आखिर समय पनि फालाफल छ र आजकाल तस्विर सफा गर्न पनि पर्दै पर्दैन क्यारे,” तुरुन्तको तु यादुले जबाफ फर्काइ हाल्छ ।
“शरिर ढलेपछि पनि तस्विर रहिरहन्छ,” सालीलाई एक हरप मननयोग्य तर मार्मिक शब्दले एकचोटी मज्जाले प्रहार गर्छु । तर बुईपा खोटाङमा जन्मेर सुपर कन्या हुँदा पदमकन्या बागबजारको बेसारे रङँको सारी पहिरन गरेर दुई-तीन बर्ष तिनै कलेजमा समय ब्यतित गरेकी मेरी साली त्यहाँदेखि उत्पन्न भएका अन्य अनेरास्वबियूको पूर्व अध्यक्षहरु जस्तै मुखमा छुरा बोकेर हिँड्ने मुखाल्नी चाहिँ छँदै छैनन् । त्यसको सट्टामा बरु अति सोझी र इमान्दार छिन्। र, म उनकी इमान्दारिता प्रति अति स-सम्मान प्रकट गर्छु ।
तैपनि समय समयमा उनकी दिमागको बिर्को खोलि रहोस भनेर मानव जीवन र दर्शनको बिषयमा छड्के भाषा प्रयोग गरेर म फत्रक्कै गलाउँछु । हो, उनीप्रति मेरो त्यो बानी चाहिँ अलिक नराम्रो छ । अनि यतिबेला पनि आखिर मेरो दुई शब्द खेर गए पनि जावस् भनेर त्यति चाहिँ भन्छु । तर पानीजहाज यात्रा आरम्भ हुन अगाडी उनले अनुरोध गरे अनुसार सम्झनाको लागि आलैपालो दुई-चार वटा तस्विरहरु लिन थाल्छौं ।
तस्विरहरु खिच्ने रहर पुर्ण भएपछि आ-आफ्नो हाते झोला च्यापेर थोरै अगाडी बढ्दै बढ्दै मूख्य द्वार नजिकै पुग्छौं । हामी त्यहाँ पुग्ने बितिक्कै बडेमाको जिउँ भएको एकजना सुरक्षा अधिकृतसँग ठेक्कै ठोकिन्छौं । हेर्दै खाइलाग्दो अश्वेत मूलको उक्त्त सुरक्षा अधिकारिले पानीजहाजको टर्मिनल भवनभित्र कुन समयमा पस्नु पर्ने हो भनेर हाम्रो टिकट र जीवन बिमाहरु जाँच गर्छ । उनले टिकटहरु हेरिसकेपछि, “तपाइँहरुले दश मिनेट जति समय यहिँ कुरेर बस्नु पर्छ,” भनेर हुकुम दिन्छ । उनको कुरो सुनेर मेरा नलि खुट्टाहरु फत्तक्कै गलेर आउँछ । अब बायाँ काँधमा भिरिरहेको हाते झोला फ्यात्तै भुइँमा राख्छु र सोहि झोलामाथि पलेटी कसेर थचक्कै बस्छु ।
तर यसरि भुइँमा बसेपछि फुर्सतको समय सदुपयोग गर्नको लागि साउथाम्पटन बन्दरगाहको बिषयमा मन्त्रमुग्ध भएर सोच्न थाल्छु । दुई चार वटा हड्डि र छालाले बनेको यो शरिर लिएर लगभग ३० वटा जति मेरा हिउँदहरु बेलायततिर यस्सै यस्सै बरालिँएर बितेका छन् । सो अवधिभित्र कतिचोटी यो बन्दरगाह आइयो होला भनेर ठेक्कै अहिले त म भन्न कदापि सक्त्तै सक्त्तिन । तर निश्चन्त भएर के चाहिँ भन्न सक्छु भने यस आधुनिक साउथाम्पटन बन्दरगाहको इतिहास चाहिँ सन् १८३८ देखि सुरु भएको थियो । र, सर लुसियस कर्टिजले सबैभन्दा पहिले एउटा ढुङ्गा राखेर यसको शिलान्यास गरेका थिए ।
अ.... तर मैले यसो भन्दै गर्दा यहाँभन्दा निक्कै माथि स्रुसबरी भन्ने गाउँमा जन्मेको चार्ल्स डार्विनले मानव जीवनको उत्पति क्रमिक बिकाशको सिदान्तबाट भएको हो है भनेर ठोकुवा गरे जस्तै यो साउथाम्पटन बन्दरगाहको पनि क्रमिक बिकाश भएर अहिले बेलायतको सबैभन्दा ठूलो यात्रृबाहक बन्दरगाह बन्न पुगेको हो है भनेर म ठोकुवा गर्छु ।
यिनै बन्दरगाहमा अहिले पाँचवटा भिमकाया टर्मिनल भवनहरु रहेका छन् । र, तिनीहरुलाई सिटी, होराइजन, मेफ्लावर, ओसन र क्विन इलिजावेथ टर्मिनल भनेर मानिसहरुले चिन्ने गरेका छन् । तिनै टर्मिनलहरुमा प्रत्येक पानीजहाजहरुले लगभग ६ हजारभन्दा बढि यात्रुहरु दिनहुँ छाड्ने र भित्र्याउँने कार्य गर्दछन् । त्यसको साथसाथै हरेक पानीजहाजमा ती पुरै यात्रुहरुको स्याहारसंहार गर्ने करिव दुई हजार जतिकर्मचारीहरु पनि रहेका हुन्छन् । क्रमशः...
अक्सफोर्डसायर । ५ सेप्टेम्वर २०२४