सोमवार, भाद्र २४ २०८१
नेपाल वाइड
काठमाडौं, २४ भदौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोभलालच नराखी काम गरे सबै क्षेत्रमा सफलता मिल्ने भएकाले ‘केही हुँदैन’ भन्ने भाष्य त्याग्न सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिए प्रभावकारी परिणाम आउने दृष्टान्त राख्नु भएको छ ।
कामप्रति पूर्ण प्रतिवद्ध भइ गरेका तीन वटा आयोजना सफल भएको उदाहरण सामाजिक सञ्जालमार्फत राख्दै बस्नेतले भन्नुभएको छ, ‘लोभलालच नगरी, डेडिकेटेड भई काम गर्दा प्रभावकारी र सफल हुन्छ भन्ने यी तीन आयोजनाले देखाउँछ– सुनकोशी मरिण डाइभर्सन, नागढुङ्गा सुरूङमार्ग र मध्य पहाडी लोकमार्ग ।’
‘गरे के हुँदैन’ भन्दै अध्यक्ष बस्नेतले त्यसका लागि जनमानसमा उठेको गलत भाष्य त्याग्न सुझाव पनि राख्नु भएको छ । यी तीन आयोजना मात्र नभै अन्य पनि उदाहरण रहेको र ती आयोजनाले देशको विकासमा विशेष स्थान राख्ने उहाँले उल्लेख गर्नुभयो । ‘त्यसैले यहाँ केही हुदैन भन्ने गलत भाष्य छाड्दै जाउँ । नकरात्मक होइन, रचनात्मक बनौं । इमान्दार, लगनशील र कर्मठ बनेर काम गरे केही नहुने होइन, पक्कै हुन्छ,’ अध्यक्ष बस्नेतको सुझाव छ ।
मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ । काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो । युट्युवसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।
प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्पे्रषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानुनी कारवाही गर्दै आएको छ ।