बुधवार, आश्विन ९ २०८१
नेपाल वाइड
खोटाङ, ९ असोज । पहिचान सहितको प्रदेश पुःन नामाकरण अभियान समितिका संयोजक डकेन्द्रसिं थेगिमले प्रदेशको पुःन नामांकनका क्रममा ‘किरात’ शव्द नछुट्ने बताएका छन् । प्रदेश १ पुःन नामांकन संयुक्त संघर्ष समिति, खोटाङले असोज ९ गते दिक्तेलमा आयोजना गरेको ‘कोशी नाम खारेजी सम्वन्धी अन्तरक्रियात्मक जनअभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक थेगिमले प्रदेशको पुःन नामांकन गर्दा ‘किरात’ शव्द नछुट्ने बताएका हुन् ।
प्रदेशको पुःन नामांकनको सन्दर्भमा गठन गरिएको वार्ता समितिका अध्यक्ष रहेका थेगिमले हालसम्म प्रस्ताव गरिएका सबै नाममा ‘किरात’ नछुटेकाले प्रदेशको नाममा ‘किरात’ शव्द कायम हुनेमा ढुक्क रहन आग्रह गरेका छन् । ‘जहाँ जति वटा नाम उठे पनि किरात शव्द छुटेको छैन । भोली सहमती गरेर नामांकन गर्दा किरात चैं छुट्दैन । यतीचैं तपाईहरुलाई सुनाउन चाहन्छु,’ थेगिमले भने, ‘किरात हाम्रो सम्भ्यता हो, कुनै समयको भूगोल हो, कुनै समयको संस्कृति हो, एउटा ठूलो समुदायले विकास गरेको सभ्यता र संस्कृति हो ।’
थेगिमले पुःन नामांकन गर्ने सहमती भएको २४ घण्टाभित्र प्रदेशको नाम दिने बताएका छन् । प्रदेश सरकारको वार्ता टोलीसँगको वार्ताका क्रममा संघर्ष समितिलाई ‘पहिला नाम किटान गर्न लगाउने गरेको’ थेगिमको भनाई थियो । ‘अहिले नाम दियौं भने एउटा घटकलाई एउटाले उचाल्छ, अर्को घटकलाई अर्कोले उचाल्छ,’ थेगिमले भने, ‘त्यसरी उचाला–उचाल हुँदा फेरी हामीमा विभाजन आउँछ । त्यसो हुनाले नामांकन गर्ने सहमती भएको २४ घण्टामा नाम दिन्छौं भनिरहेका छौँ ।’ उनले पुःन नामांकनको वार्ता लगभग निष्कर्षमा पुगेको संकेत दिएका छन् ।
कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, किरात राई यायोक्खाका उपाध्यक्ष जनक राई, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रमेश राई, राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय सचिव एलबी पालुङ्वा, किरात राष्ट्रिय मुक्ती मोर्चाका वरिष्ठ उपाध्यक्ष अशोक राई, जसपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार राई, पहिचानवादी मोर्चा संघीय परिषद सदस्य सन्तराम योङहाङ, यायोक्खाका महासचिव भीम राई, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दिपक पाण्डे, जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष निर्मल राई लगायतले आ–आफनो धारणा राखेका थिए ।

किरात प्रदेश नामाकरण गर्नुपर्ने माग गर्दै पहिचान पक्षधरले प्रदेशभरीका जिल्लामा ‘कोशी नाम खारेजी सम्वन्धी अन्तरक्रियात्मक जनअभियान’ सञ्चालन गरिरहेको छ । सोही जनअभियान अन्तरगत दिक्तेलमा कार्यक्रम गरिएको प्रदेश १ पुःन नामांकन संयुक्त संघर्ष समिति खोटाङका अध्यक्ष युगसन किरातले बताए । प्रदेशका १४ जिल्लामध्ये अव ओखलढुंगा, सोलुखुम्बु, उदयपुर र सुनसरीमा कोशी नाम खारेजी सम्वन्धी कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ ।
१ नम्बर प्रदेशको नाम २०७९ फागुन १७ गते कोसी राखिएको थियो । त्यसको विरोधमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाती महासंघ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक मञ्च, किरात राष्ट्रिय मोर्चा, पहिचान पक्षधर पार्टी लगायतले संघर्ष गर्दैआएको छ ।
आन्दोलनरत पक्षसँग वार्ता गर्नका लागि प्रदेश सरकारले २०८० माघ ६ गते वार्ता समिति बनाएको थियो । त्यसको २० दिनपछि संघर्ष समितिले पनि माघ २४ गते वार्ता समिति गठन गरेको थियो ।