शुक्रवार, कार्तिक २३ २०८१
नेपाल वाइड
खोटाङ, २३ कात्तिक । सिकार खेल्नेक्रममा गोली लागेर खोटाङमा एक जनाको मृत्यु भएको छ । आफ्नै साथीले मृगलाई हानेको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको हो ।
स्थानीय २५ वर्षीय चेतन राईले मृग भनी हानेको भरुवा बन्दुकको गोली लाग्दा जगतप्रसादको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थल हात्तीढुङ्गे जङ्गलमा पुगेका स्थानीयले जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा शव फेला पारेका थिए । घटनापछि भागेका चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको सर्जमिन मुचुल्का गरी कात्तिक २३ गते जिल्ला अस्पताल दिक्तेलमा मृतकको शव परीक्षण गरिएको जनाईएको छ । घटनास्थलबाट एउटा लोड गरिएको एउटा फायरिङ गरिएको भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।