Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिवंगत प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना

    दिवंगत प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना


    • सोमवार, मंसिर ३ २०८१

    • नेपाल वाइड


    दिवंगत प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना
    दिवंगत हुनुभएका दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमला ।

    खोटाङ, २ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

    ३९ वर्षीय धमला भाइटीका लगाएर काठमाडौँबाट घर फर्कनेक्रममा गत कात्तिक–२१ गते हृदयघातका कारण ज्यान गुमाउनुभएको थियो । एमालेका युवा नेता गोपालचन्द्र आचार्यका अनुसार प्रधानाध्यापक धमलाको १२ औँ पुण्य तिथिको अवसर पारेर अक्षयकोष स्थापना गरिएको हो ।

    एक कुशल प्रधानाध्यापक तथा समाजसेवीको रूपमा चिनिएका धमलाको स्मृतिमा ‘मेघराज धमला स्मृति प्रतिष्ठान’ दर्ता गर्ने तयारी भइरहेको छ । अक्षयकोषबाट प्राप्त वार्षिक ब्याजबाट वर्षेनी एकजना जिल्ला उत्कृष्ट प्रधानाध्यापक तथा दिवंगत प्रधानाध्यापक धमला कार्यरत विद्यालयका उत्कृष्ट एकजना विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।

    अक्षयकोष स्थापनाका लागि २९ जना व्यक्तिले कुल नौँ लाख ४५ हजार रकम उपलब्ध गराएका छन् । दिवंगत धमलाका जेठा दाजु तुलसी धमलाले रु २ लाख, माहिला दाजु यादव धमलाले १ लाख, साडुभाइ ओमप्रकाश घिमिरेबाट १ लाख, भिनाजु युवराज फुयाल र साडुभाइ श्याम प्रधानबाट ५०/५० हजार रुपैयाँ अक्षयकोषका लागि रकम उपलब्ध गराउनुभएको छ ।

    weew.jpg

    दिवंगत हुनुभएका प्रधानाध्यापक मेघराज धमलाको १२ औँ पुण्य तिथिको अवसरमा अक्षयकोष स्थापनार्थ भेला भएका शुभेच्छुक तथा आफन्तहरु ।

    यस्तै अक्षयकोषका लागि विभिन्न परिवार सदस्य तथा साथीभाईहरूबाट २५ हजारदेखि ५ हजारसम्मको रकम उपलब्ध गराउने भएका छन् । दिवंगत हुनुभएका प्रअ धमलाका साथीहरु गोपालचन्द्र आचार्य, हरिवोल आचार्य, जोसेफ रिजाल, उत्तम आचार्य, प्रकाश आचार्य, इन्द्रप्रसाद आचार्य, पदमप्रसाद आचार्य र युवराज बस्नेतले २५/२५ हजार रुपैयाँ र धमला कार्यरत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले २५ हजार रुपैयाँ, भिनाजु झमप्रसाद आचार्य, दाजु टङ्कप्रसाद आचार्य र भाइ पंकज आचार्यले १५/१५ हजार रुपैयाँ रकम उपलब्ध गराउनुभएको छ ।

    काका परशुराम ढुङ्गाना, दाजुहरु पदमप्रसाद आचार्य र छवि आचार्य, ज्वाइँ नेत्र बास्तोला, साथीहरु विराज आचार्य, फडिन्द्र आचार्य र अर्जुन खवासले दश/दश हजार तथा दाजु तुलसी धमलाले रु पाँच हजार उपलब्ध गराउनुभएको छ ।

    यसैबीच, ‘मेघराज धमला स्मृति प्रतिष्ठान’ तदर्थ समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा यादव धमला उपाध्यक्षमा सन्तोषी बस्नेत, सचिवमा गोपालचन्द्र आचार्य र कोषाध्यक्षमा मैया आचार्य रहनुभएको छ ।

    प्रधानाध्यापक धमला काठमाडौँबाट घर फर्कने क्रममा नेपालथोकमा मुटु दुखेर बेहोस भएपछि धुलिखेल अस्पताल हुँदै शहीद गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँ लगिएको थियो । तर उनलाई गङ्गालाल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

    सम्बन्धित समाचार