आइतवार, मंसिर ३० २०८१
नेपाल वाइड
खोटाङ, ३० मंसिर । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले आफ्नो कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईलाई महासंघको नवनिर्वाचित कार्यसमितिले आइतबार दिक्तेलमा आयोजित एक कार्यक्रममा भवन निर्माणका लागि थप बजेट विनियोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्नुहुदै मन्त्री राईले चालु आर्थिक वर्षदेखि नै बहुवर्षीय योजना अन्तर्गत भवन निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङमा मात्र पत्रकार महासंघको आफ्नै कार्यालय भवन नभएको अवस्थामा भवन निर्माणका लागि पहल गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष हरिवोल आचार्यले बताए ।
महासंघको भवन निर्माणका लागि दिक्तेलस्थित रत्नपार्क नजिकै आठ आना जग्गा कृषिविज्ञ मदन राईले २०६३ सालमा निःशुल्क उपलब्ध गराएका छन् । चालु आर्थिक वर्षमा प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको भए पनि सो रकमले भवन निर्माण सम्पन्न हुन नसक्ने भएकाले थप बजेट माग गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यको भनाई छ । २०६१ सालमा स्थापना भएको महासंघको खोटाङ शाखा हाल भाडाको घरमा सञ्चालन भइरहेको छ ।
पहिले निर्माण गरिएको ढुङ्गा–माटोको कच्ची भवन उपयोगविहीन भएपछि भत्काइएको र अब पक्की भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी घडेरी सम्याउने काम सम्पन्न भइसकेको निवर्तमान अध्यक्ष दिलीप खत्रीले जानकारी दिए ।