बुधवार, पौष १० २०८१
नेपाल वाइड
खोटाङ, १० पौष । खोटाङमा सुमो दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको सुमो दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार दिउँसो ३ बजेतिर केपिलासगढी–३ बास्पानीस्थित राँटीमा भएको दुर्घटनामा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा राति ८ बजे मृत्यु भएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले घाइते राईको टाउको र शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेको र अस्पताल पुग्दा मुटुको धड्कन बन्द भइसकेको जानकारी दिए ।
काठमाडौंबाट यात्रु लिएर आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो सडक भन्दा करिब २०० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार गुडिरहेको सुमोको चक्कामा बाँसको भाटा अल्झिएपछि रोकेर झिक्ने क्रममा दुर्घटना भएको अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनापछि फरार भएका चालक ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ३६ वर्षीय सत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा आएका थिए । प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार चालक राईलाई स्वास्थ्य परीक्षणपछि हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।
मृतक राईको शव जिल्ला अस्पतालको शव परीक्षण गृहमा राखिएको र बिहीबार आफन्तजन आएपछि परीक्षण गरी अन्तिम संस्कारका लागि जिम्मा लगाइने प्रहरीले जनाएको छ ।