Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    इन्जिनियर थापा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको पहिलो सभापति

    इन्जिनियर थापा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको पहिलो सभापति


    • आइतवार, पौष १४ २०८१

    • नेपाल वाइड


    इन्जिनियर थापा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको पहिलो सभापति
    राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको निर्वाचित सभापति मुकुन्दकृष्ण थापा ।

    खोटाङ, १४ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले आफ्नो पहिलो जिल्ला सभापतिमा सिभिल इन्जिनियर मुकुन्दकृष्ण थापालाई चयन गरेको छ । शनिबार दिक्तेल बजारमा सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले थापालाई सभापतिमा निर्वाचित गरेको हो ।

    जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलामा थापा र अर्का सभापतिका आकांक्षी डा. राजकुमार राई दुई उम्मेदवारमध्ये बहुसंख्यक सदस्यहरु थापाको पक्षमा देखिएका थिए ।

    बहुमत सदस्यहरुको मतका आधारमा थापालाई जिल्ला नेतृत्वमा चयन गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका थापा यसअघि संघीय जिल्ला निर्वाचन क्षेत्र समितिको सचिवको रूपमा कार्यरत थिए ।

    भेलाले १० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । कार्यसमितिको सचिवमा सुमन खत्री र सहसचिवमा राजन अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरूमा टंककुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल रहेका छन् ।

    पार्टीले समावेशी र भौगोलिक प्रतिनिधित्व सुनिश्चित गर्न एक जना उप-सभापति र थप तीन जना सदस्य पछि मनोनयन गर्ने जनाएको छ । कार्यक्रममा रास्वपाका केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईं, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य तोषिमा कार्की, कोशी प्रदेश समितिका उपसभापति सरिन तामाङ र महामन्त्री लालबिक्रम थापाको विशेष उपस्थिति रहेको थियो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका संयोजक पर्शुराम थापा ‘आशिष’का अनुसार, दश स्थानीय तह रहेको जिल्लामा रास्वपाले पाँच महिना अघिदेखि संगठन विस्तारलाई तीव्रता दिईरहेको छ ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा पालिकास्तरीय समिति गठन भइसकेको छ । नवनिर्वाचित सभापति थापाको नेतृत्वमा पार्टीले बाँकी छ वटा स्थानीय तहमा समेत संगठन विस्तार गर्ने र जिल्लाभर आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य लिएको छ ।

    दिक्तेल बजारस्थित हेलीप्याडमा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले आयोजना गरेको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य तोषिमा कार्की । Photo.jpeg

    दिक्तेल बजारस्थित हेलीप्याडमा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले आयोजना गरेको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य तोषिमा कार्की ।

    सम्बन्धित समाचार