मंगलवार, पौष १६ २०८१
नेपाल वाइड
खोटाङ, १६ पौष । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले गरिब, दलित र असहाय बालबालिकाहरूको शैक्षिक पहुँच सुनिश्चित गर्न जिल्लाकै पहिलो निःशुल्क आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका–३ काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रूपमा रूपान्तरण गरी पहिलो चरणमा १९ जना विद्यार्थीहरूलाई भर्ना गरिएको छ । निःशुल्क आवासीय शिक्षा कार्यक्रम अन्तर्गत यस शैक्षिकसत्रमा १५ जना छात्र र चारजना छात्रा सहभागी भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिए ।
यस शैक्षिक कार्यक्रममा बालकक्षादेखि कक्षा ९ सम्म विद्यार्थीहरू भर्ना भएका छन् । गाउँपालिका अध्यक्ष अरुणादेवी राई ‘दिक्षा’ले दिएको जानकारी अनुसार विद्यार्थीहरूलाई खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित निःशुल्क आवासको व्यवस्था गरिएको छ ।
विशेषगरी बाबुआमा नभएका, असहाय, गरिब विपन्न, दलित तथा विद्यालयदेखि टाढा भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको उनले बताइन् । शैक्षिक गुणस्तर सुनिश्चित गर्न विद्यालयमा दुईजना शिक्षक र एकजना कर्मचारीको व्यवस्था गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार सोही विद्यालयका दुईजना शिक्षक र एकजना कर्मचारीले चौबीसै घण्टा विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्याउने छन् ।
आवासीय विद्यालय सञ्चालनमा समुदायको समेत सक्रिय सहभागिता देखिएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला राईका अनुसार अभिभावकहरूले तिहारमा देउसीभैलो खेलेर आवासीय कोष स्थापनाका लागि ४ लाख ७४ हजार ४० रुपैयाँ संकलन गरेको जानकारी दिईन् ।
यसैगरी, कान्ति बाल अस्पतालमा कार्यरत पूर्व विद्यार्थी कल्पना राईले १९ थान ज्याकेट र प्रहरी सेवामा कार्यरत गंगाराम राईले १९ थान झोला उपलब्ध गराएका छन् । विद्यालयले आवासीय सुविधा चाहने अन्य विद्यार्थीहरूका लागि वार्षिक ४० हजार रुपैयाँमा आवास सुविधा उपलब्ध गराउने व्यवस्था पनि मिलाएको छ ।
२०१४ सालमा स्थापित यस विद्यालयमा हाल २६५ जना विद्यार्थी अध्ययनरत छन् । तर आवासीय विद्यालय सञ्चालनका लागि छात्रावाससहितको उपयुक्त भवनको अभाव रहेको व्यवस्थापन समितिकी अध्यक्ष राईले सुनाईन् । सुविधायुक्त भवनको अभावमा टिनको छानामा म्याट्रेसको सिलिङ प्रयोग गरी विद्यार्थीहरूलाई चिसोबाट जोगाउने प्रयास गरिरहेको अध्यक्ष राईको भनाई छ ।
आईतबार प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्व मन्त्री रामकुमार राई ‘पासाङ’ले आवासीय विद्यालयको उद्घाटन गर्दै मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरूलाई आवासीय विद्यालयको रूपमा विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
स्थानिय सरकारको सहयोगमा संञ्चालित खोटाङ जिल्लाको पहिलो निःशुल्क आवासीय शिक्षा कार्यक्रम रहेको बताईएको छ । उक्त शैक्षिक कार्यक्रमले विशेषगरी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका बालबालिकाहरूलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ ।
निःशुल्क आवासीय विद्यालय उद्घाटन कार्यक्रममा पूर्व वन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत, प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराती ‘बासु’ लगायतले यस शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपमा संञ्चालनका लागि शुभकामना दिएका थिए ।
आवासीय विद्यालयको उद्धघाटन कार्यक्रमका केही तस्बिरहरुः








