सोमवार, पौष २२ २०८१
नेपाल वाइड
खोटाङ, २२ पुस । हलेसी तुवाचुङ नगरपालिकाले बाँझो जमिनको सदुपयोग र कृषि आधुनिकीकरणका लागि १२ वटा कृषक समूहलाई ६० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको छ ।
नगरपालिका र कृषक समूहको लागत साझेदारीमा प्रतिगोटा ६९ हजार रुपैयाँका दरले खरिद गरिएका हाते ट्याक्टर वितरण गरिएको हो । नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार नगरपालिकाले ६० प्रतिशत (४१ हजार ४०० रुपैयाँ) र कृषक समूहले ४० प्रतिशत लागत व्यहोरेका छन् ।
सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा घाँसको अभावका कारण कृषकहरूले गोरु पाल्न छाडेका र यसले गर्दा खेतीयोग्य जमिन बाँझो रहने समस्या बढेको उनले बताए । वितरित हाते ट्याक्टरमध्ये वडा नं. ११ राजापानीमा छ वटा र वडा नं. १ बाहुनीडाँडा, वडा नं. ४ बडहरे, वडा नं. ५ दुर्छिम, वडा नं. ७ महादेवस्थान, वडा नं. ८ धितुङ र वडा नं. ९ सल्लेमा एक/एकवटा रहेका छन् ।
गोरु अभावका कारण खनजोत गर्न नपाएर समस्यामा परेका कृषकहरू अनुदानमा हाते ट्याक्टर पाएपछि हर्षित भएका छन् । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले रैथाने बालीतर्फ पनि विशेष ध्यान दिएको छ ।
धानखेती कम हुने र मकै तथा कोदो मात्र उत्पादन हुने यस क्षेत्रमा गहत, जुनेलो र बदाम उत्पादन गर्ने कृषकलाई उत्पादनको आधारमा अनुदान दिने गरिएको छ । यसरी प्रविधिमैत्री कृषि प्रणाली र रैथाने बाली प्रवर्द्धनमार्फत कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ ।