बुधवार, माघ २ २०८१
नेपाल वाइड
खोटाङ, २ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको मौलिक कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि दिक्तेलबजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्र्रहालय’ स्थापना गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार सङ्ग्र्रहालयको औपचारिक उद्घाटन गरेका हुन् । दिक्तेलबजारस्थित रत्नपार्कको सपिङ कम्प्लेक्समा पाँचवटा कोठामा स्थापित सङ्ग्र्रहालयमा नेपालसहित विश्वका ५० देशका ख्यातिप्राप्त चित्रकारले बनाएका १८२ वटा चित्र राखिएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले थालेको कामको प्रशंसा गरे । नगरपालिकाले गत असोज १७ देखि २० गतेसम्म आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारहरूले सहभागिता जनाएका थिए ।
जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा आयोजित कार्यशालामा चित्रकारहरूले स्थानीय धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतारेका थिए । नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार संसारभर छरिएर रहेका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाका माध्यमबाट खोटाङ र नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
“सङ्ग्र्रहालयले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा टेवा पुर्याउने अपेक्षा गरेका छौं, “उनले भने । यसअघि नगरपालिकाले धनु आर्ट स्टुडियो काठमाडौंसँगको सहकार्यमा फागुन ५ देखि १७ गतेसम्म नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी आयोजना गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन गरेको प्रदर्शनीमा देशका उच्चपदस्थ व्यक्तिहरूले अवलोकन गरेका थिए ।