बुधवार, माघ २ २०८१
नेपाल वाइड
खोटाङ, २ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार औपचारिक रुपमा सुरु भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालय अर्खौलेको संयोजनमा सञ्चालित यस प्रतियोगितामा १५ विधामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सालपा खेलमैदानमा आयोजित यस प्रतियोगितामा १२ सामुदायिक र एक संस्थागत गरी १३ माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी छन् ।
नगरप्रमुख विमला राईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
चार दिनसम्म चल्ने यस प्रतियोगिताका लागि नगरपालिकाले रु. सात लाख बजेट छुट्याएको छ । विजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको पहिलो दिन एथलेटिक्स अन्तर्गत १५०० मिटर दौड, २०० मिटर दौड र सटफुट प्रतिस्पर्धाहरू सम्पन्न भएका छन् । १५०० मिटर दौडमा छात्रातर्फ कालिका माविकी निशाना राई र छात्रतर्फ बुलापन्थे माविका डिलिन्द्र राईले स्वर्ण पदक जित्न सफल भए ।
नगरप्रमुख राईले शैक्षिक गुणस्तर सुधारका साथै खेलकुद क्षेत्रको विकासमा नगरपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो । विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको यस प्रतियोगितामा अघिल्ला दुई संस्करणको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको थियो ।