Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार महासंघ खोटाङद्वारा फोहर व्यवस्थापनका लागि सरसफाइ अभियान सुरु

    पत्रकार महासंघ खोटाङद्वारा फोहर व्यवस्थापनका लागि सरसफाइ अभियान सुरु


    • सोमवार, माघ ७ २०८१

    • नेपाल वाइड


    पत्रकार महासंघ खोटाङद्वारा फोहर व्यवस्थापनका लागि सरसफाइ अभियान सुरु
    सार्वजनिक स्थलको फोहर संकलन गरि नष्ट गर्दै पत्रकारहरु ।

    खोटाङ, ७ माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले सार्वजनिक स्थलको फोहर व्यवस्थापन र जनचेतना अभिवृद्धिका लागि सरसफाइ अभियान सुरु गरेको छ । सोमबार दिक्तेल बजारस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हल आसपासको क्षेत्रबाट अभियानको शुरुवात गरिएको हो ।

    पत्रकार महासंघका सचिव राजकुमार भट्टराईका अनुसार अभियान अन्तर्गत झाडी फाँड्ने, फोहर संकलन गर्ने र पहिरो पन्छाउने काम गरिएको छ । संकलित फोहरलाई दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवन नजिक व्यवस्थापनका लागि जम्मा गरिएको छ ।

    “स्थानीय समुदायले आफ्नो घर आँगन र सरकारी कार्यालयले आफ्नो परिसर नियमित सफा गर्ने बित्तिकै सिंगो समाज नै सफा हुन्छ, पत्रकार महासंघका अध्यक्ष हरिबोल आचार्यले भने, पत्रकारहरू समाचार सम्प्रेषण मात्र होइन, सामाजिक काम पनि गर्छन् भन्ने उदाहरण दिन यो अभियान थालिएको हो ।”

    अभियानमा पत्रकार महासंघका पदाधिकारीहरूसँगै नेकपा एमालेका नगर अध्यक्ष गोपालचन्द्र आचार्य, युवा व्यवसायीहरू जोसेफ रिजाल, नरेन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो । महासंघका उपाध्यक्ष चिसाङ शेर्पाले यस अभियानलाई निरन्तरता दिने योजना रहेको बताए ।

    दश स्थानीय तह रहेको जिल्लामा जथाभावी फालिएका फोहरले सार्वजनिक, धार्मिक तथा पर्यटकीय स्थलहरू कुरूप बन्दै गएका छन् । विशेषगरी जंक फुड र पेय पदार्थका खोल तथा बोतलहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फोहर व्यवस्थापनका लागि विशेष पहल थालेको छ ।

    नगरप्रमुख तीर्थराज भट्टराईले व्यवसायीहरूलाई शिशाजन्य फोहर आफैं व्यवस्थापन गर्न निर्देशन दिएका छन् । नगरप्रमुख भट्टराईका अनुसार निर्देशन पालना नगरे शिशाजन्य बोतल आयातमै प्रतिबन्ध लगाइने छ ।

    पर्यावरणविद्हरूका अनुसार जथाभावी फालिएका शिशाजन्य वस्तुका कारण जिल्लाका खेतीयोग्य जमिन र खोलाखोल्सीको वातावरण समेत बिग्रिएको छ । ग्रामीण सडक सञ्जाल विस्तारसँगै आयातित खाद्य पदार्थको बढ्दो प्रयोगले यस्ता फोहरको मात्रा थप बढेको छ ।

    सम्बन्धित समाचार