बिहिवार, माघ १७ २०८१
नेपाल वाइड
खोटाङ, १७ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित खुला बाँसुरी बादन प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कैलाश राईले उपाधि जित्नुभएको छ ।
सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा राईले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्नुभएको हो ।
प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोस्रो, सिन्धुपाल्चोक मेलम्चीका सँगीत लामा तेस्रो र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो स्थानमा हासिल गरेका छन् ।
विजेताहरूलाई क्रमशः दश हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त प्रदान गरिएको छ । वरिष्ठ बाँसुरी वादक नगेन्द्र बिक्रम राई, गायक तथा संगीतकारहरू भलाकाजी राई र नवीन राई ’संघर्ष’ निर्णायक रहेको यस प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी १४ जना प्रतिस्पर्धीले भाग लिएका थिए ।
कार्यक्रमको उद्घाटनमा वरिष्ठ बाँसुरी वादक नगेन्द्र बिक्रम राईले विशेष सोलो प्रस्तुति दिनुभएको थियो । सोही अवसरमा आयोजित विद्यालयस्तरीय गायन प्रतियोगितामा जालपा माविले प्रथम स्थान हासिल गरेको छ ।

ज्योति मावि जालपा दोस्रो, सरस्वती मावि दिक्तेल तेस्रो र दिक्तेल अंग्रेजी आवासीय विद्यालय चौथो भएका छन् । विजयी विद्यालयहरूले क्रमशः पच्चीस हजार, बीस हजार, पन्ध्र हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
जगदम्बा मावि बुइपाका शिक्षक राजनकुमार बास्तोलाको रचना र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अनिलकुमार राईको संगीत उत्कृष्ट ठहरिएको छ । दुवै विजेताले पाँच–पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उक्त प्रतियोगिता आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेलमा आयोजना हुन लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको हो । नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार “जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस“ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी र विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहनेछ ।