बिहिवार, माघ १७ २०८१
नेपाल वाइड
खोटाङ, १७ माघ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ जाँदै गरेको एक सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टेक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायाँ गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाँकी बहिनी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पूर्व खोटाङ यातायात प्रा.लि.को ना १ ज ६४२१ नम्बरको सुमो बुधबार साँझ करिब ७ः३० बजे दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ हिडेको थियो ।
स्थानीयवासीका अनुसार सुमो गएरातिनै दुर्घटना भएको हुनसक्ने र बिहान करिब ६ः३० बजे स्थानीयले दुर्घटनाग्रस्त सुमो फेला पारेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई खबर गरेका थिए । दुर्घटनापछि सुमोका चालक सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार मृतक मायाँ गुरुङ आफन्तको मृत्यु कार्यमा रक्सी तताउने क्रममा पेट्रोल सल्किएर जलेर गम्भीर घाइते भएकी थिइन् । कम्मरमुनिको भाग जलेर निक्कै ठूलो घाउ बनेको थियो । यहाँ जलन सम्बन्धी उपचार गर्ने व्यवस्था नभएकाले प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरेका थियौँ, डा. सङ्ग्रौलाले भने ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जानकारी दिए । निरिक्षक पोख्रेलले भने “चालक फरार रहेका छन् । सुमोमा सवार तीनैजनाको मृत्यु भएपछि दुर्घटना हुनुको कारण खुल्न सकेको छैन ।” दुर्घटनास्थललाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सुरक्षित गरेको छ ।
दिक्तेल–काठमाडौँ सडकखण्डमा पर्ने भँडारेखोला दिक्तेलबाट करिब चार घण्टाको यात्रामा पुग्न सकिन्छ । उपचारमा पठाइएको बिरामीसहित तीनजना आफन्तको एउटै सुमो दुर्घटनामा मृत्यु भएको खबरले गुरुङ परिवार स्तब्ध भएका छन् ।