शुक्रवार, माघ १८ २०८१
नेपाल वाइड
खोटाङ, माघ १८ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीर खाइसकेको र एउटा हात मात्र बाँकी रहेको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जालपास्थित खरबारीका जसबहादुर राईको घर नजिकैको बाँसघारीमा नवजात शिशुको शव गाडिएको भन्ने स्थानीयको जानकारीपछि बिहीबार खटिएको प्रहरी टोलीले घटनास्थल पुग्दा कुकुरले शरीर खाइसकेको र एउटा हात मात्र बाँकी रहेको अवस्थामा फेला पारेको हो ।
घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी कुकुरले खाएर बाँकी रहेको नवजात शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिए ।
उनका अनुसार घटनाको प्रकृति हेर्दा नवजात शिशुको हत्यापछि घटना लुकाउन गाडिएको हुनसक्ने आशंका गरिएको छ । “घटनास्थलको अवलोकन गर्दा नवजात शिशुको शव केही दिनअघि गाडिएको देखिन्छ, प्रहरी निरीक्षक कार्कीले भने, “तर यसबारे बिहीबार मात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आयो ।”
खरबारीस्थित जसबहादुरको घरभन्दा करिब ८०० मिटर टाढा पर्ने बाँसघारीमा गाडिएको ठाउँबाटे नवजात शिशुको हात पनि सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान अगाडी बढाएको छ ।