Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी बजारको आगलागीमा साढे सात करोड क्षति

    हलेसी बजारको आगलागीमा साढे सात करोड क्षति


    • सोमवार, फाल्गुण ५ २०८१

    • नेपाल वाइड


    हलेसी बजारको आगलागीमा साढे सात करोड क्षति
    हलेसी बजारमा लागेको आगलागी ।

    खोटाङ, ५ फागुन । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ सात बजेतिर पदमशेर राईको भान्छा कोठाबाट सुरु भएको आगलागीमा चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल र एक लघुवित्त कार्यालय जलेर नष्ट भएका छन् ।

    निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईका अनुसार पदमशेरको तीनतले काठ र जस्तापाताले बनेको घर, हार्डवेयर पसल र निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय जल्दा करिब चार करोड बराबरको क्षति भएको छ ।

    यस्तै स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चारतले पक्की घर र दुईतले काठको घर जल्दा दुई करोड ५० लाख बराबरको क्षति हुन पुगेको छ ।

    आगलागीमा स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणशेर राईको पारुहाङ होटलको चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

    हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का वडाध्यक्ष कमल गिरीका अनुसार आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पत्ति जलेर नष्ट भएको छ । आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय भइरहेको र संकलित राहत एकद्वार प्रणालीमार्फत वितरण गरिने उनले बताए ।

    आगो नियन्त्रणका लागि रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह लगायत करिब ५०० जना खटिएका थिए । साढे चार घण्टाको प्रयासपछि राति साढे ११ बजे आगो नियन्त्रणमा आएको थियो ।

    हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले दमकल नहुँदा आगो नियन्त्रणमा कठिनाई भएको बताइन् । “आगलागी पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्री र सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको छ, आगलागी पीडितका लागि चाँडै मलमपट्टी लगाउने प्रयास गरिरहेका छौँ ।” नगरप्रमुख राईले भनिन् ।

    सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा पानीको अभावले आगो नियन्त्रणमा थप कठिनाई भएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले बताए । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा दमकल नभए कै कारण ठूलो क्षति भएको स्थानीयको भनाई छ ।
    क्याप्सनः आगलागीबाट क्षती भएको हलेसी बजार ।

    सम्बन्धित समाचार