बिहिवार, फाल्गुण ८ २०८१
नेपाल वाइड
खोटाङ, ८ फागुन । नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई ७५ हजार रुपैयाँ बराबरको ट्राफिक सामग्री प्रदान गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बैङ्कले दिक्तेल शाखा कार्यालयमार्फत उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो ।
नेपाल बैङ्क लिमिटेड दिक्तेल शाखाका प्रमुख रामभुषण सिंहका अनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा मुख्य नाकाहरूमा प्रयोग गर्ने गरी दश थान गति सिमित बोर्ड, आठ थान सडक डिभाइडर र पाँच थान नो पार्किङ बोर्ड लगायतका सामग्री प्रदान गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयका प्रमुख सुर्यप्रकाश भट्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख ज्ञानेन्द्र कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न बैङ्कले गरेको यो सहयोग जिल्लामा पहिलो पटक भएको हो ।
नेपाल बैङ्क लिमिटेडका कोशी प्रादेशिक कार्यालय प्रमुख भट्टले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैङ्कले देशभरि यस्ता सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।