Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

    अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित


    • आइतवार, फाल्गुण २५ २०८१

    • नेपाल वाइड


    अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
    निलम्बित वडाअध्यक्ष अर्जुनकुमार कटवाल र नेकपा माओबादी केन्द्रले वडाअध्यक्ष निलम्बित गरेको पत्र ।

    खोटाङ, नेकपा माओवादी केन्द्रले अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई कुनै जानकारी नदिई अमेरिका बसिरहेका छन् ।

    पार्टीले उनलाई फर्किएर आफ्नो कार्यभार सम्हाल्न पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेका भन्दै नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले कटवाललाई निलम्बन गरेको हो ।

    नेकपा माओवादी केन्द्र, खोटाङका अध्यक्ष दिपक पाण्डे (आकाश) का अनुसार, साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते कटवाललाई कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशील) द्वारा हस्ताक्षरित निलम्बन–पत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल्लेख गरिएको छ ।

    २०७९ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका कटवाल २०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित छन् ।

    वडाध्यक्षको अनुपस्थितिका कारण जनताले पाउने सेवा, सुविधा तथा विकास निर्माणका कार्यहरू प्रभावित हुदै आएको छ । वडाअध्यक्ष निलम्बनले आगामी दिनमा वडाको प्रशासनिक कार्यहरूलाई सुचारु गर्न बाटो खुलेको छ ।

    सम्बन्धित समाचार