सोमवार, फाल्गुण २६ २०८१
नेपाल वाइड
खोटाङ, २६ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो आधिकारिक प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । त्रि–धार्मिक ऐतिहासिक स्थल एवं पुरातात्विक महत्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो ।
नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेश राउतलगायतको उपस्थितिमा लोगो सार्वजनिक गरिएको हो ।
नगरपालिकाले लोगो निर्माणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो, जसमा ७ वटा लोगो प्रस्तावहरू प्राप्त भएका थिए । प्राप्त प्रस्तावहरूमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका स्थानीय वासिन्दा सन्तोष दाहालले डिजाइन गरेको लोगो अन्तिम रूपमा छनोट गरिएको थियो ।

नगरपालिकाको १५ औं नगरसभाले उक्त लोगोलाई औपचारिक रूपमा स्वीकृत गरेको मेयर विमला राईले जानकारी दिइन् । मेयर राईका अनुसार, सार्वजनिक गरिएको लोगोमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको त्रि–धार्मिक स्थल हलेसीलगायत ऐतिहासिक धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्रहरू समावेश गरिएको छ ।
यसका साथै, हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा अवस्थित भएकाले लोगोमा हिमालको दृश्य पनि समावेश गरिएको छ । नगरपालिकाको आधिकारिक प्रतीक चिन्ह सार्वजनिक गरिएसँगै स्थानीय सरकारको पहिचान र आधिकारिक कागजातहरूमा एकरूपता आउने विश्वास गरिएको छ । नगरपालिकाले औपचारिक रुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउने जनाईएको छ ।