Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङले जित्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि

    हलेसी तुवाचुङले जित्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि


    • बिहिवार, फाल्गुण २९ २०८१

    • नेपाल वाइड


    हलेसी तुवाचुङले जित्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि
    उपाधि जितेपछि तस्विर खिचाउदै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका खेलाडीहरु ।

    खोटाङ, २९ फागुन । खोटाङको सोल्मा स्पोर्टस् क्लबद्वारा आयोजित पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले जितेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि हासिल गरेको हो ।

    प्रतियोगिताको पहिलो हाफमा महादेवस्थानले दुई गोल गरेको थियो भने दोस्रो हाफमा थप एक गोल थपेर कुल तीन गोलको अग्रता बनाउन सफल भएको थियो । प्रतियोगिता अवधिभर निकै दबाबमा रहेको केएफएले निर्धारित समयमा महादेवस्थानविरुद्ध कुनै पनि गोल फर्काउन नसक्दा उपविजेतामै सिमित बन्न पुगेको छ ।

    प्रतियोगिताका विजेता टिम महादेवस्थानले एक लाख ३३ हजार ३३३ नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता केएफएले ७१ हजार १११ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिए ।

    प्रतियोगिताका सेमीफाइनलमा पुगेका दुई टिम आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले जनही रु ३५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगितामा व्यक्तिगत विधातर्फ महादेवस्थानका भुवन श्रेष्ठ बेस्ट प्लेयर घोषित भए । उनले रु पाँच हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    जिल्लाका विभिन्न १२ वटा वडाका खेलाडी सहभागी यस प्रतियोगितामा महादेवस्थानका कुसन राई बेस्ट गोलकिपर, सोल्माका आशिष राई बेस्ट डिफेन्डर, केएफएका सोइसन राई बेस्ट मिडफिल्डर, केएफए कै शैलेन्द्र बजिमय हाइस्कोरर, केएफएकै सुलभ भुजेल राईजिङ प्लेयर र महादेवस्थानका लोकेन्द्र केसी बेष्ट कोच घोषित भए । सबै विजेताहरूले जनही तीन हजार ३३३ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगिता समापनको अवसरमा खेल क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार चिसाङ शेर्पालाई पाँच हजार ५५५ नगदसहित ‘खेल पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको छ ।

    प्रतियोगिताका विजयी टिम, खेलाडी तथा पत्रकारलाई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, अखिल नेपाल फुटबल संघ (एन्फा)का कोशी प्रदेश उपाध्यक्ष समिर राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतले पुरस्कार वितरण गरे ।

    प्रतियोगिताको फाइनल खेल एन्फाको मान्यता प्राप्त खोटाङकै पहिलो महिला रेफ्री शशी राईले सञ्चालन गरेकी थिइन् । साथै, प्रतियोगिता समापन कार्यक्रममा सोल्माका पूर्व निर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सोल्माका २० जना व्यक्तिलाई सम्मान गरिएको छ ।

    फागुन २४ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले औपचारिक रूपमा उद्घाटन गरेको प्रतियोगिताको समापन कार्यक्रममा गायक पदम राई, गायिका बबिना किराँती र गायक धनीराम नछुङले सांगीतिक प्रस्तुति दिएका थिए । सोल्मा स्पोर्टस् क्लबका सचिव श्यामकुमार राईका अनुसार, वि.सं. २०७२ सालमा नगरकप सञ्चालन गरेको क्लबले दोस्रो वर्षदेखि खुला पुरुष अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार