Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको पाथेकाका सामुदायिक वनमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिएको थप पुष्टि

    खोटाङको पाथेकाका सामुदायिक वनमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिएको थप पुष्टि


    • शुक्रवार, चैत्र ८ २०८१

    • नेपाल वाइड


    खोटाङको पाथेकाका सामुदायिक वनमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिएको थप पुष्टि
    खोटाङको पाथेकाका सामुदायिक वनमा भेटिएको विश्वमै दुर्लभ रेडपाण्डा ।

    खोटाङ, ८ चैत्र । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक बन क्षेत्रमा विश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा फेला परेको छ । आगामी बैशाखमा आयोजना हुन लागेको रेडपाण्डा तथा थार महोत्सवका लागि फोटो तथा भिडियो संकलन गर्न मेरुङ सामुदायिक वनमा गएको नगरपालिकाको टोलीले दुर्लभ रेडपाण्डा भेट्टाएको थप पुष्टि गरेको हो ।

    स्थानिय तहले यस क्षेत्रमा रेडपाण्डा रहेको आधिकारीक रुपमा पहिलो पल्ट पहिचान गरेको हो । लामो समय अघिदेखि त्यस क्षेत्रमा रेडपाण्डा पाईने गरेको स्थानियबासीहरुले बताउदै आएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवका लागि टोली नै खटाएर दुर्लभ वन्यजन्तुको खोजी गरिएको मेयर तीर्थराज भट्टराईले बताए ।

    यही चैत्र १ गते बन क्षेत्रमा प्रवेश गरेको टोलीले चौथो दिन बिहान साढे आठ बजे रुखमा सुतिरहेको अवस्थामा एक रेडपाण्डा भेट्न सफल भएको हो । वडानम्बर–६ का नेर्पाका वडाध्यक्ष माधव राईको संयोजकत्वमा गएको टोलीले रेडपाण्डाको फोटो र भिडियो खिच्नुका साथै स्थलगत अध्ययन समेत गरेको छ ।

    वडाध्यक्ष राईका अनुसार रेडपाण्डा २,७८१ मिटरको उचाईमा फेला परेको हो । टोलीमा रहेका बुवालुङका युवा प्रचण्ड राईले विभिन्न समूहमा विभाजित भई खोजी गर्ने क्रममा रेडपाण्डा फेला परेको बताए । मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईका अनुसार भेटिएको रेडपाण्डा अढाई वर्ष उमेरको भाले हो ।

    485695392_10233593209108684_2393508894262556604_n.jpg

    आगामी बैशाखमा दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाले आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवका लागि तयारी बैठक ।

    स्थानीय रेडपाण्डा हेरालु पुष्पलाल गिरीले उक्त वनमा पाँचवटासम्म रेडपाण्डा हुनसक्ने अनुमान गरेका छन् । आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा विभाजन गरिने भएकाले सो वनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सकिने उनको भनाइ छ । स्थानीयहरूका अनुसार नगरपालिकाको कोप्चेलगायत अन्य वनहरूमा पनि रेडपाण्डा भेटिने गरेको छ ।

    रेडपाण्डाहरूले विशेषगरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनाले मालिङ्गो भएको क्षेत्रमा यिनीहरू बढी भेटिने स्थानीयबासीको अनुभव छ ।

    रेडपाण्डा खोजीका लागि गएको २८ जनाको टोलीमा टोली संयोजक राईसहित, महोत्सव संयोजक तथा वडा नम्बर १० पाथेकाका अध्यक्ष मुगाधन राई, १२ नम्बरका वडाध्यक्ष दानबहादुर राई, नगरपालिकाका लेखा अधिकृत राजकुमार राई, शुभम फाउण्डेसनका निर्देशक सुर्य राई, पत्रकारहरू, वनपैदावार तथा जैविक विविधता संरक्षणसँग सम्बद्ध व्यक्तिहरू सहभागी थिए ।

    यस खोजले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ अन्तर्गत नगरपालिकाले आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई थप प्रभावकारी बनाउन र दीर्घकालीन योजना सफल बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

    ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ अन्तर्गत खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा संघ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना गर्ने योजना अनुरूप दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव गर्ने तयारी गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    यसअघि, क्यामेरा ट्र्यापमार्फत रेडपाण्डा फेला परेको र स्थानीयले प्रत्यक्ष भेटेको कुरा सुनाएपछि जिल्लाको केपिलासगढी गाउँपालिकाको फेदी लगायत माथिल्लो भेगका वन क्षेत्रमा रेडपाण्डा पाइने कुरा पुष्टि भएको थियो ।

    जिल्लामा सामुदायिक वन समूहको सक्रियता तथा वनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन भइरहेका छन् । विशेषगरी फेदी क्षेत्रका विभिन्न सामुदायिक वन समूहमा आवद्ध स्थानीयहरू स्वस्फूर्त रूपमा रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका छन् ।

    फेदीबासीहरूले वन क्षेत्रमा रेडपाण्डा संरक्षण तथा प्रचारप्रसार सम्बन्धी होर्डिङ बोर्ड राख्नुका साथै रेडपाण्डाको फोटो खिचेर उपलब्ध गराउनेलाई नगद पुरस्कार दिने कार्यमा समेत अग्रसर बनेका छन् ।

    सम्बन्धित समाचार