शनिवार, चैत्र ९ २०८१
नेपाल वाइड
खोटाङ, ९ चैत्र । नेपाल नेत्रज्योति संघ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन शनिबार ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया गरिएको छ । शिविरमा उपचारका लागि २५७ जना बिरामीले नाम दर्ता गराएका छन् ।
दिक्तेलस्थित आँखा उपचार केन्द्रमा चैत ११ गतेसम्म सञ्चालन हुने यस शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिनेछ । शल्यक्रिया गरिएका बिरामीहरूलाई खाना, खाजा र बासको निःशुल्क व्यवस्था मिलाइएको नेत्रज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।
कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्धघाटन गर्नुुभएको शिविरको सगरमाथा चौधरी आँखा अस्पताल सिराह लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको हो ।
शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी र आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठसहित १६ जना चिकित्सकको टोलीले सेवा प्रदान गरिरहेका छन् ।
यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित शिविरमा ४७ जनाको शल्यक्रिया र ३९२ जनाको आँखा जाँच गरिएको थियो । नेत्रज्योति संघले चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसी बजारमा पनि निःशुल्क शिविर सञ्चालन गर्दैछ ।
यस पटकको शिविरबाट जिल्लाका करिब २,१०० जना आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको छ । खोटाङमा १,५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ ।