मंगलवार, चैत्र १९ २०८१
नेपाल वाइड
खोटाङ, १९ चैत्र । खोटाङको बराहापोखरी गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरी वडा कार्यालयबाटै राष्ट्रिय परिचय–पत्र तथा नागरिकता वितरण शुरु गरेको छ ।
भौगोलिक विकटता र शारीरिक अशक्तता भएका लाभग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै शिविरमार्फत राष्ट्रिय परिचय–पत्र तथा नागरिकता वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
गाउँघरमा अपाङ्गता भएका व्याक्तिहरू तथा वृद्ध–वृद्धाहरुलाई राष्ट्रिय परिचय–पत्र तथा नागरिकताका कारण सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यहरुमा अत्यन्तै समस्या भइरहेकोले शिविर सञ्चालन गरिएको अध्यक्ष बञ्जराको भनाई छ ।
शिविरको पहिलो दिन मंगलबार बराहापोखरी गाउँपालिका–१ बराहापोखरी वडा कार्यालयमा ४४ जनालाई राष्ट्रिय परिचयपत्र र ४७ जनालाई नागरिकता वितरण गरिएको वडाध्यक्ष ढक बहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार बाँकी रहेका सेवाग्राहीलाई बुधबार पनि राष्ट्रिय परिचयपत्र तथा नागरिकता वितरण गरिने छ ।
इलाका प्रशासन कार्यालय खोटाङ बजारका निमित्त कार्यालय प्रमुख मोहन बहादुर राईको टोली शिविरमा खटिएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा शुरु भएको शिविर बाँकी वडाहरुमा क्रमशः सञ्चालन गरिने गाउँपालिका अध्यक्ष बञ्जराले जानकारी दिए ।