शुक्रवार, चैत्र २९ २०८१
नेपाल वाइड
खोटाङ, २९ चैत्र । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले वि.सं. २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिले शुक्रबार नेपाल पत्रकार महासंघको लोगो (चिन्ह) अंकित भित्तेपात्रो सार्वजनिक गरेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष हरिवोल आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, नेपाल पत्रकार महासंघका प्रदेश समिति सदस्य रामधन राई, पूर्व जिल्ला अध्यक्षहरु डम्बरसिं राई र दमन राई तथा पत्रकार महासंघका प्रदेश परिषद् सदस्य एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य केदार मगरले संयुक्तरुपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।
जिल्लाका अग्रज पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको भित्तेपात्रोमा जिल्लामा सञ्चालित छापा तथा विद्युतीय सञ्चारमाध्यमको वितरण, संघ तथा प्रदेशसभा सदस्यहरु, जिल्लास्थित दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुखहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय तथा कार्यालय प्रमुखहरुको विवरण राखिएको छ ।

भित्तेपात्रोमा नेपाल पत्रकार महासघं जिल्ला शाखा खोटाङका संस्थापक संयोजक तथा अध्यक्षहरु, केन्द्रीय तथा प्रदेश परिषद् सदस्यहरु र जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको नामथर र सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको पत्रकार महासंघ खोटाङका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिए ।
भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको लोगो अंकित डायरी, कलम र टिसर्टसमेत प्रदान गरिएको छ । समाचार संकलनका लागि फिल्ड रिपोर्टिङमा जाने पत्रकारहरुलाई सहज होस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघको लागो अंकित टिसर्ट, डायरी, डटपेन र परिचयपत्र प्रदान गरिएको अध्यक्ष आचार्यले बताए ।
दिक्तेलस्थित नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको कार्यालयमा आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पत्रकार महासंघका प्रदेश परिषद् सदस्य मगरलाई बधाई समेत ज्ञापन गरिएको छ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुबीच शुभकामना आदान–प्रदानसमेत गरिएको जनाइएको छ ।