Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगा गाँउपालिकाद्धारा तीन दिने निशुःल्क होमस्टे तालिम प्रदान

    जन्तेढुंगा गाँउपालिकाद्धारा तीन दिने निशुःल्क होमस्टे तालिम प्रदान


    • शनिवार, चैत्र ३० २०८१

    • नेपाल वाइड


    जन्तेढुंगा गाँउपालिकाद्धारा तीन दिने निशुःल्क होमस्टे तालिम प्रदान
    होमस्टे तालिममा तयार पारेका रैथाने परिकारहरु, सहभागी, पालिका अध्यक्ष अरुणा देवी राई एबम प्रशिक्षकलगायत ।

    खोटाङ, ३० चैत्र । खोटाङको जन्तेढुंगा गाँउपालिकाले सामुदायिक होमस्टे (घरवास) सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ । स्थानीय रैथाने खाद्य परिकारहरूको संरक्षण र व्यवसायिकरण गर्ने उद्देश्यले सामुदायिक होमस्टे (घरबास) सञ्चालन सम्बन्धी तीन दिने निःशुल्क तालिम प्रदान गरेको हो ।

    लोप हुँदै गएको रैथाने खाद्य परिकारहरूलाई संरक्षण गर्दै स्थानीय समुदायको आर्थिक आयआर्जन वृद्धि गर्ने लक्ष्यकासाथ तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताईन् ।

    गाउँपालिकामा दर्ता भएका भञ्ज्याङखर्क सामुदायिक होमस्टे र पुमा सामुदायिक होमस्टेका १८ जना सञ्चालकहरूलाई तालिम प्रदान गरिएको छ । पालिका अध्यक्ष राईको अनुसार जन्तेढुंगा गाउँपालिकाको वडा नम्बर ६ दिप्लुङस्थित निगालबास र वडा नम्बर ४ डम्बुर्खुसिवालयको भञ्ज्याङखर्कमा सामुदायिक होमस्टे सञ्चालन गरिने योजना रहेको छ ।

    44.jpg

    नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सिस्नु, केरा, तरुल, पुष्टाकारी, फर्सी, मकै, हलुवा, कोदो र फापरलगायतका स्थानीय रैथाने खाद्य परिकारहरू बनाउने तरिकाको प्रशिक्षण दिइएको छ ।

    त्यस्तै, अमला र गुँरासको जुस, लस्सी, तितेपातीको सलाद, कुखुराको बाचिपा, टाँकी, कोइरालाको अचार, गुन्द्रुक र सिन्कीलगायतका विभिन्न ७४ प्रकारका परिकारहरू तयार गर्ने व्यावहारिक ज्ञान प्रदान गरिएको छ ।

    जन्तेढुंगाको निगालबासमा सञ्चालित तालिममा परिकार बनाउने सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै पाहुनालाई गरिने सत्कार एवम् पर्यटन शिक्षामा समेत जोड दिइएको छ । होमस्टे सञ्चालनका लागि आवश्यक घर व्यवस्थापन, स्वच्छ पानीको प्रबन्ध, व्यवस्थित शौचालय तथा समग्र वातावरण सुधारका उपायहरूबारे समेत तालिममा जानकारी दिइएको थियो ।

    तालिममा नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र काठमाडौंका वरिष्ठ संस्कृतिविद् डा. भक्त राई, लेखक तथा वरिष्ठ नाट्यकर्मी प्रविण पुमा र अन्तर्राष्ट्रिय शेफ तारा रायमाझीले सहजीकरण गरेका थिए ।

    गाँउपालिका अध्यक्ष अरुणादेवी राईको अध्यक्षतामा गरिएको तालिम समापन कार्यक्रममा नेपाली कांग्रेसका नेता राजकुमार बस्नेत, नेकपा एमालेका जगत राई, नेकपा माओबादी केन्द्रका विरवल किराँती, स्थानिय समाज, बुद्धिजिविलगायतको उपश्थिति रहेको थियो ।

    34.jpg21.jpg45.jpg

    सम्बन्धित समाचार