Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा आयोजित रेड पाण्डा तथा थार महोत्सव सम्पन्न

    खोटाङमा आयोजित रेड पाण्डा तथा थार महोत्सव सम्पन्न


    • मंगलवार, बैशाख २ २०८२

    • नेपाल वाइड


    खोटाङमा आयोजित रेड पाण्डा तथा थार महोत्सव सम्पन्न
    खोटाङ, २ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रथम रेड पाण्डा तथा थार महोत्सव सम्पपन भ्एको छ । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर हुर्लुङमा विधिवत रुपमा उद्घाटन गरिएको दुई दिने महोत्सव मंगलबार समापन गरिएको हो । विश्वमै लोपोन्मुख वन्यजन्तु मानिने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न जातजातिका संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादनहरूको स्टल राखिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर हजारौँको उपस्थितिमा सोमबार महोत्सवको उद्घाटन गरेका थिए । नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजित महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्विर तथा भिडियोहरू समेत प्रदर्शन गरिएको थियो । महोत्सवको अवसरमा अभिनेता दयाहाङ राईले मुन्दुम पदमार्गसँग जोडिने रेड पाण्डा तथा थार ट्रेलको पनि विधिवत् रूपमा उद्घाटन गरेका छन् । किरात उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । यसैगरी रेड पाण्डा तथा थार ट्रेलको गुगल म्यापको समेत लोकार्पण गरिएको छ । नगरपालिकाका उप–प्रमुख विशन राईका अनुसार, करिब तीन दिनको यात्रामा पूरा हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ शुभारम्भ कार्यक्रमको पहिलो दिन अतिथिहरूसहित रूपाकोट पुगेर बास बस्ने र जुहारी कार्यक्रम खेल्ने कार्यक्रमको आयोजना गरिएको छ । समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा पर्ने पर्यटकीय स्थल रूपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली श्रृङ्खला, सूर्योदयको दृश्य र तराईका मनोरम फाँटहरू प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । गत पुसमा औपचारिक रूपमा सुरुवात गरिएको ’मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ । मुन्दुम ट्रेल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा संघ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना गर्ने तयारी गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ । यस्तै, भोजपुरका स्थानीय तहहरूले पनि विभिन्न महोत्सवहरू आयोजना गर्ने तयारी गरेका छन् । खोटाङ र भोजपुरको सीमामा पर्ने ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ। पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यको रूपमा चिनिने यस ट्रेल पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए ।
    क्याप्सनः खोटाङमा आयोजित रेड पाण्डा तथा थार महोत्सव ।

    सम्बन्धित समाचार