बिहिवार, बैशाख ४ २०८२
नेपाल वाइड
खोटाङ, ४ वैशाख । खोटाङको वराहपोखरी गाउँपालिकाले बसाई सराई गरि गाउँ फर्किएका परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । गाउँपालिकाले विहिबार सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका बलार्दहबाट बसाईसराई गरि गाउँ फर्किएका बेद बहादुर खड्काको परिवारलाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
वराहपोखरी गाउँपालिका–६ मौवाबोटेका खड्काको परिवारले २०६३ सालमा सप्तरी जिल्लामा बसाई सराई गरेका थिए । १९ वर्षको लामो बसोबासपछि खड्का परिवार पुनः आफ्नो जन्मभूमिमा फर्किएका हुन् ।
गाउँबाट अन्यत्र बसाई सरेर गाउँमै फर्कने परिवारलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम अन्तर्गत खड्का परिवारलाई एक लाख रुपैयाँ सहित औपचारिक स्वागत गरिएको गाउँपालिका अध्यक्ष सालिकराम बञ्जराले बताए ।
अध्यक्ष बञ्जराका अनुसार, बेद बहादुर खड्काले आफ्नो चार जना परिवारसहित पुरानो जन्मभूमि वराहापोखरी गाउँपालिका–६ मौवाबोटेमा बसाई सराइको आधिकारिक कागजातसहित चार महिना अघिदेखि घर निर्माण गरी बसोबास गर्न थालेका छन् ।
“गाउँपालिकाले आगामी दिनमा पनि गाउँ फर्कन चाहने प्रत्येक परिवारलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गर्दै जानेछ,” अध्यक्ष बञ्जराले भने ।
“जन्मभूमि आमा समान हुन्छ, जन्मभूमीलाई माया गरौं र भविष्यमा पछुताउनु नपरोस्,” भन्दै गाउँपालिकाले बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहान गर्न सुरु गरेको हो । जन्मभूमिप्रतिको माया र सद्भाव कायम राख्दै गाउँलाई सुविधा सम्पन्न बनाउने अभियानमा सहभागी हुन गाँउपालिकाले आह्वान गरेको छ ।